coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साफ यु–१५ च्याम्पिनसिपः उपाधि लक्ष्यमा अघि बढ्ने नेपालको चाहना

काठमाडौं – बिहीबार सेमिफाइनलमा प्रतियोगिताकै बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दा नेपाल सुखद नतिजाका साथ यु–१५ साफ च्याम्पिनसिपको उपाधि जित्ने लक्ष्यमा थप एक कदम अघि बढ्न चाहन्छ।

गत संस्करणमा सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै उपाधि नजिक पुगे पनि फाइनलमा भारतसँग स्तब्ध हुँदै नेपाल उपविजेतामा सीमित बनेको थियो । गत संस्करण उपाधि जित्न नसकेको नेपाल यस पटक घरेलु मैदानमा उपाधि भित्राउने लक्ष्यमा छ।

माल्दिभ्समाथि ४–० को सहज जितका साथ प्रतियोगितामा सुखद सुरुआत गरेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई २–१ को नतिजा सुम्पिएको थियो । यद्यपि माल्दिभ्सले पहिलो खेलमा बंगलादेशसँग ९–० को फराकिलो हार बेहोरेपछि नेपाल र बंगलादेश एक खेलअगावै अन्तिम ४ मा  प्रवेश गरिसकेका थिए । समूह ‘ए’ को विजेताका लागि भएको भिडन्तमा भने बंगलादेशले बाजी मारेपछि नेपाल उपविजेतामा सीमित बनेको थियो।

यसअघि यस प्रतियोगितालाई यु–१६ साफ च्याम्पिनसिपको नामबाट आयोजना गर्दै आए पनि गत संस्करणबाट भने यु–१५ को रूपमा आयोजना हुँदै आएको छ । यु–१६ साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तान एक पटक मात्र आमनेसामने भएका छन् । २०१३ मा नेपालमै भएको खेलमा समूहचरणको भेटमा नेपालले पाकिस्तानलाई ३–० ले निराश पारेको थियो।

यता २०११ को विजेता पाकिस्तानले २०१३ पछि प्राविधिक कारण देखाउँदै प्रतियोगितामा सहभागिता जनाएको थिएन । तर यस पटक भने पाकिस्तानले एएफसी यु–१६ छनोटको लक्ष्यका साथ युवा टोलीलाई प्रतियोगितामा सहभागी गराएको हो।

पहिलो खेलमा साबिक विजेता भारतलाई २–१ ले पराजित गरेको पाकिस्तानले दोस्रो खेलमा भुटानलाई ४–० ले निराश पार्दै समूह ‘बी’ को विजेताका रूपमा अन्तिम ४ मा स्थान सुरक्षित गरेको थियो । अन्तिम खेलमा भुटानलाई हराएको भारतले समूह उपविजेताको रूपमा बंगलादेशसँग भेट पक्का गरेको थियो।

प्रतियोगितामा बिहीबार पहिलो सेमिफाइलनल खेल भारत र बंगलादेशबीच हुनेछ । २०११ देखि आयोजना हुँदै आएको प्रतियोगितामा बंगलादेशले एक पटक र भारतले दुई पदक उपाधि जितिसकेका छन्।

प्रकाशित: १५ कार्तिक २०७५ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App