७ वैशाख २०८१ शुक्रबार
समाज

विद्युतभार व्यवस्थापनले तिहार झिलिमिली हुने

काठमाडौंं - नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ। नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युतभारको व्यवस्थापन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

विद्युत् उपभोगमा कुनै पनि समस्या नआउने भन्दै उनले ढुक्कसँग विद्युत उपयोग गरी तिहार मनाउन सकिने बताए। बत्तीको चाड तिहारमा तीन वर्षअघि विद्युतभार कटौती हुँदा तिहार खल्लो भएको थियो। विसं २०७३ को लक्ष्मीपूजाकै दिन प्राधिकरणले काठमाडौँ उपत्यकाबाट विद्युतभार कटौती अन्त्यको घोषणा गरेको थियो। अहिले देशभर नै विद्युतभार कटौती छैन। लक्ष्मीपूजाका दिन विद्युत खपत बढ्ने भएकाले आवश्यक व्यवस्थापन गरिएको उल्लेख गर्दै प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने,“अब विद्युत उपभोगको प्रोत्साहन गर्नुपर्ने अवस्था आइसकेको छ, बत्तीमा ढुक्कसँग तिहार मनाउँदा हुन्छ।” उनका अनुसार यसपालि लक्ष्मीपूजाका दिन झण्डै एक सय मेगावाट विद्युतभार थपिने अनुमान छ।

गत वर्ष एक हजार १६५ मेगावाट विद्युतभार लक्ष्मीपूजाको दिनमा थियो। यस वर्ष विद्युतभार बढेर एक हजार २५० मेगावाट पुग्ने अनुमान प्राधिकरणको छ। किफायती उपकरणको प्रयोग र सचेतनाका कारण विद्युत व्यवस्थापन गर्न सहज भएको बताइएको छ।

गत वर्ष एक हजार १६५ मेगावाट विद्युतभार लक्ष्मीपूजाको दिनमा थियो। यस वर्ष विद्युतभार बढेर एक हजार २५० मेगावाट पुग्ने अनुमान प्राधिकरणको छ। किफायती उपकरणको प्रयोग र सचेतनाका कारण विद्युत व्यवस्थापन गर्न सहज भएको बताइएको छ। तिहारलाई नै केन्द्रित गरेर प्राधिकरणले भारतसँगको विद्युत व्यापारलाई चुस्त पार्ने प्रयास गरिरहेको प्रवक्ता अधिकारीले बताए।

सबै जलविद्युत् आयोजनालाई अधिकतम क्षमतामा चलाउन निर्देशन दिइसकेको प्राधिकरणको भनाइ छ। प्राधिकरणको कूल जलविद्युत क्षमता ५०७ मेगावाट रहे पनि ४०८ मेगावाट विद्युत उत्पादन भइरहेको छ। तिहारका लागि कालीगण्डकी ‘ए’ १४४, मध्यमर्स्याङ्दी ७० र मर्स्याङ्दी ६९ मेगावाट उत्पादन क्षमताको आयोजनाबाट बढी खपत हुने बेलुकीको समयमा पानी जम्मा गरेरै भए पनि पूर्णजडित क्षमतामा विद्युत उत्पादन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले जानकारी गराए।

तिहारमा उद्योगधन्दा प्रायः बन्द हुने भएकाले पनि विद्युत वितरण प्रणाली सहज हुने विश्वास प्राधिकरणको छ। ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत आयात गर्न सकिने गरी व्यवस्थापन गरिएको छ। “तिहारकै लागि भनेर ल्याउनुपर्ने अवस्था छैन”, प्रवक्ता अधिकारीले भने, “नेपाल र भारतका सबै प्रसारण लाइनहरु चुस्त बनाइएको छ, आपत्कालीन अवस्थामा मात्रै थप आयात गछौं।”

अघिपछि सञ्चालनमा नल्याउने गरिएको १४ मेगावाटको हेटौँडा थर्मलप्लान्ट पनि तिहारका लागि आवश्यक परे सञ्चालनको तयारी छ। प्रसारण व्यवस्थापनमा सम्पूर्ण ग्रिड सबस्टेशनमा ट्रान्सफर्मर, ब्रेकर, केवल र अन्य उपकरण मर्मत गरिसकिएको छ। प्राविधिक समस्या आएमा तत्कालै विशेष प्राविधिक टोली खटाउन चौबीसै घण्टा निगरानी हुने जनाइएको छ। 

उपत्यकामा थप चुस्त 
गत वर्ष लक्ष्मीपूजामा भक्तपुर सबस्टेशनमा मूसाका कारण आएको खराबीसमेत निराकरण गर्ने प्रयास भइरहेको छ। काठमाडौँ उपत्यकाभित्रका अन्य ग्रिडर सबस्टेशनलाई समेत तिहार लक्ष्य गरी मर्मत गरिएको छ। वितरण प्रणाली व्यवस्थित गर्न र ओभरलोड हुन नदिन विभिन्न क्षेत्रमा ट्रान्सफर्मर र फेज व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ। ओभरलोड भएका फिडरमा कमभार भएका फिडरबाट विद्युतभार साट्ने व्यवस्थासमेत मिलाइएको प्रवक्ता अधिकारीले बताए।

काठमाडौँभित्र अण्डरग्राउण्ड रहेको चपली–महाराजगञ्ज ११ किलोभोल्ट डबल सर्किटलाइन चालू गरिएको र महाराजगञ्ज क्षेत्रमा बालाजु सबस्टेशनमा अउने विद्युत समस्या उक्त लाइनबाट आपूर्ति गरिने छ। काठमाडौँ लैनचौर सबस्टेशनबाट बालाजु र न्यू–चाबहिल दुवैतर्फबाट विद्युत ल्याउन सक्ने व्यवस्था मिलाइएको छ। 

उपत्यकामा अधिकतम ३५० मेगावाट खपत हुने गरेको बताइएको छ। उपत्यकाअन्तर्गत नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखा समेटिन्छ। उपत्यका र आसपास जिल्लामा गत वर्ष तिहारमा २८५ मेगावाट विद्युतभार थियो। यस पटक तिहारमा भने ३२० सम्म पुग्ने अनुमान गरिएको छ। नेपालमा अहिले विद्युत प्राधिकरणमार्फत ४०९ र निजी क्षेत्रबाट ३५६ मेगावाट उत्पादन छ भने भारतबाट अधिकतम ३८० मेगावाट आयात छ। नेपालमा उद्योग क्षेत्रले दैनिक ३०० मेगावाट विद्युत खपत गर्ने गरेको छ। रासस

प्रकाशित: १४ कार्तिक २०७५ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App