८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस केन्द्रीय टाेलीद्वारा घाइतेसँग भेट, सत्ताधारीले उद्दण्डता मच्चाएको आरोप

सर्लाही– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको आडमा सत्ताधारी कार्यकर्ताले कांग्रेस कार्यकर्ताको हत्या गर्दै मुलुकमा उदण्डता प्रस्तुत गरेको आरोप लगाएका छन्। 

मंगलबार जिल्लाको दक्षिण–पश्चिम क्षेत्र अन्तर्गत रामनगर गाउँपालिकाको बोहर्वा गाउँमा नेकपाका कार्यकर्ताको आक्रमणमा कांग्रेस कार्यकर्ताको गोली लागि मृत्यु भएको भन्दै कांग्रेसले विरोध स्वरुप सदरमुकाम मलंगवामा आयोजना गरेको विरोध सभालाई संक्षिप्त सम्बोधन गर्दै निधिले त्यस्तो आरोप लगाएका हुन्। 

‘सरकारको संरक्षणमा सत्तापक्षका कार्यकर्ताबाट निरन्तर कांग्रेस कार्यकर्तामाथि आक्रमण भइरहेको छ’, उनले भने, ‘तर अपराधीलाई कानूनको दायरामा ल्याइएको छैन, यस्तै रवैया रहे सरकारको दुर्दशा सुरु हुन्छ।’ विपक्षी कार्यकर्तालाई गोली हानेर हत्या गर्ने लगायत मुलुकमा अराजकता सिर्जना गर्न जनताले दुई तिहाई बहुमत दिएर नेकपालाई सत्तामा नपठाएको उल्लेख गर्दै यस्तो रबैया रहे सरकारको दिनगन्ती सुरु हुने निधिको चेतावनी थियो।

बोहर्बा हत्याकाण्डका दोषीलाई यथाशिघ्र नियन्त्रणमा नलिइए प्रदेश नं. २ हुँदै सम्पूर्ण मुलुक ठप्प पार्न कांग्रेस बाध्य हुने समेत उनले चेतावनी दिए। मृतकका परिवार एवं घाइतेहरुले ४ नालबन्दुक सहित भाला, लाठीले आक्रमण गर्नेहरुको किटानी नाम दिँदा समेत स्थानीय प्रहरी प्रशासनले दोषिमाथि कुनै कारबाही नगर्नु बिडम्बना भएको उनले बताए।

पूर्व गृहमन्त्री समेत रहेका निधिले प्रमुख जिल्ला अधिकारी द्रोर्ण पोखरेल, नेपाल प्रहरीका प्रदेश नं. २ प्रमुख डिआइजी हरिबहादुर पाल, सशस्त्र प्रहरीका डिआईजी कविन्द्रमान श्रेष्ठ लगायतलाई घटनाबारे यथाशिघ्र परिणाम दिन निर्देशन दिँदै माग पूरा नभए कडा संघर्षको सामनाका लागि तयार रहन समेत चेतावनी दिए। 

हेलिकप्टरमा मध्यान्ह सदरमुकाम उत्रिएका निधिले जिल्ला अस्पतालमा उपचाररत रामनगर गाउँपालिका–४ का वडाअध्यक्ष रामनरेश महतो सहित ८ जना घाईतेलाई भेटेर आक्रमण घटनाबारे विस्तृतमा जानकारी लिएका थिए। निधिसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, २ नं. प्रदेश अन्तर्गत ८ वटै जिल्लाका पार्टी सभापतिहरुको समेत उपस्थिती रहेको थियो। त्यस्तै निधिले जिल्ला अस्पताल स्थित शवगृहमा राखिएको मृतकको शवमा कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली समेत प्रकट गरेका थिए।

कांग्रेस प्रवक्ता शर्माले प्रतिपक्ष माथि सत्तापक्षबाट निरन्तर आक्रमण भइरहेको उल्लेख गर्दै आफूहरु संयमित हुँदा कमजोर नसम्झन आग्रह गरे। ‘हाम्रा कार्यकर्तामाथि सत्ताको आडमा निरन्तर आक्रमण भइरहेको छ’, उनले चेतावनी दिए, ‘हामी संयमित एवं मर्यादित ढंगले गम्भिरताका साथआन्दोलन गर्न बाध्यभएका छौं, यदि हाम्रो संयमता र मर्यादित व्यवहारलाई कमजोर सम्झिइन्छ भने सरकारले ठूलो मूल्य चुकाउनु पर्नेछ।’ विद्रोहका क्रममा पार्टीका कार्यकर्तासँग हतियार हुनु स्वभाविक भएपनि पछिल्ला हत्या घटनामा संलग्न सत्ताधारी कार्यकर्ताहरुको हातमा बन्दुक कहाँबाट आइरहेको छ भन्ने ठूलो प्रश्न उब्जिएको उल्लेख गरे। 

यसैबीच कांग्रेस सर्लाहीले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र समेत बुझाएको छ। ज्ञापन पत्र बुझाउन कांग्रेस प्रवक्ता शर्मा, केन्द्रीय सदस्य आनन्द ढुंगाना, प्रदेश नं. २ का प्रतिपक्षी दलका नेता रामसरोज यादव, संघीय सांसद् डा. अमरेशकुमार सिंह, ८ वटै जिल्लाका सभापतिहरुको उपस्थिती रहेको थियो। ज्ञापन पत्रमा मृतकलाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुको निःशुल्क उपचार गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहत प्रदान गर्नुपर्ने, आक्रमणमा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने र अवैध हतियार नियन्त्रण गर्नुपर्ने लगायत माग रहेको छ। दोषी पक्राउ नपरेसम्म मृतकको शव अस्पतालबाट नउठाइने समेत कांग्रेस नेताहरुले बताएका छन्।

मंगलबार बिहान रामनगर–४ बोहर्वामा भएको झडपका क्रममा स्थानीयकांग्रेस कार्यकर्ता ६० वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएको थियो। त्यस्तै सोही टोलका कांग्रेस कार्यकर्ताहरु महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशप्रसाद महतो गोलीको छर्रा लागेर घाइते भएका छन्। 

अघिल्लो दिन (सोमबार) दिउँसो ४ नं. का वडाअध्यक्ष रामनरेश महतोलाई कार्यालय जाँदै गर्दा गाउँको बीचमै मरणासन्न हुनेगरी कुटपीट गर्ने समूहले मंगलबार बिहानै उनको टोलमागएर आक्रमण गरेको स्थानीययुवा राकेश गुप्ताले बताए। उक्त आक्रमणकारी समूहले वडाअध्यक्ष रामनरेशकाकाका रामविलासलाई ताकेर गोलीहानीहत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन्। आक्रमण गर्ने समूह सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता भएको मृतकका परिवार एवं घाइतेले बताउँदै आएका छन्।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले घटनामा संलग्न दोषिलाई यथाशिघ्र नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडी बढाइने बताए। घटनाबारे निश्पक्ष ढंगले अनुसन्धान गरी दोषीलाई कानूनी कठघरामा ल्याइने प्रजिअ पोखरेलले प्रतिबद्धता जनाए। बुधबार दिउँसो सदरमुकाम मलंगवामा नेपाल प्रहरीका प्रदेश नं. २ प्रमुख डिआइजी हरिबहादुर पाल, सशस्त्र प्रहरीका प्रदेश प्रमुख डिआइजी कविन्द्रमान श्रेष्ठसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

प्रकाशित: १४ कार्तिक २०७५ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App