coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सहकारीमार्फत कृषिमा ५४ अर्ब लगानी

काठमाडौं – कृषिमा सहकारीको लगानी बढेको छ । मुलुकमा कृषि सहकारी खोल्ने क्रम बढेसँगै कृषि क्षेत्रमा यसको लगानी करिब ५४ अर्ब रुपैयाँ पुगेको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ।

मुलुकभरका कृषि सहकारीमार्फत ५४ अर्ब रुपैयाँ पुँजी कृषि क्षेत्रमा लगानी भएको नेपाल कृषि सहकारी केन्द्रीय संघका लिमिटेडका अध्यक्ष खेम पाठकले बताए । पाठकका अनुसार कृषि सहकारीले ३८ अर्ब ४४ करोड रुपैयाँ आफ्नै पुँजी र साना किसान विकास बैंकबाट ऋण लिएर १५ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेका छन्।

सहकारी विभागका अनुसार कृषि र यस अन्तर्गतका विषयगत सहकारीको संख्या १३ हजार चार सय सात छ । कृषि सहकारीले ९० प्रतिशत कृषि क्षेत्रमै लगानी गरेको पाठकले बताए । ‘कृषि सहकारीमा अवसर देखेरै सबैको आकर्षण बढेको छ,’ पाठकले भने, ‘कृषि सहकारीको लागनी कृषिमा छ ।’ सरकारले कृषि, दूध, मासुमा आत्मनिर्भर बन्ने योजना अघि सारेकाले कृषिमा आकर्षित भएका हुन्।

वार्षिक रुपमा अर्बौं रुपैयाँका कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भइरहेको बेला आयात प्रतिस्थापन गर्न कृषिमा लगानी बढाएका हुन् । यहाँ उत्पादन बढाउन सके आयात प्रतिस्थापन पनि हुने र  उत्पादनले सजिलै बजार पनि पाउने पाठकले बताए । ‘कृषिमा सरकार र गैरसरकारी संस्थाले पनि सहयोग गरिरहेका छन्,’ पाठकले भने, ‘कृषिमा अवसर देखेरै सहकारीले लगानी बढाएका हुन्।’

तरकारी, खाद्यान्न, पशु सुरक्षा कार्यक्रम, गाईभैंसीपालन, धान, अदुवा, तरकारी खेतीमा ऋण लगानी गरेका छन् ।  
किसान सदस्यको तरकारी खेती लगायत क्षेत्रमा करिब २३ करोड रुपैयाँ ऋण लगानी गरेको पृथ्वीनगर सहकारी झापाका प्रबन्धक देवीप्रसाद कोइरालाले बताए । सहकारीले व्यक्तिगत रुपमा मात्र नभएर सामूहिक रुपमा पनि कृषि क्षेत्रमा लगानी गरिरहेका छन्।

झापाको पृथ्वीनगर सहकारीले १० बिघा जग्गामा चिया खेती गरेको छ । २५ सय सदस्यले सामूहिक चिया खेती गरेका छन् । पृथ्वीनगर साना किसान सहकारी संस्था–झापाले सामूहिक चिया खेती र मह, रानीजमरा साना किसान कृषि सहकारी–बर्दियाले ९५ बिघामा चक्लाबन्दी खेती, कालिका साना किसान सहकारी–बाराले बीउ प्रशोधन, सलाङ साना किसान सहकारी संस्था–धादिङले सामूहिक कृषिमा लगानी गरेका छन्।

कृषि सहकारीले युवालाई पुँजीसहित सीप दिँदा कृषि आयआर्जनको माध्यम बनेको छ । कृषि सहकारी उत्पादन वृद्धि, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जनामा सारथी बनेका छन्।

मुलुकभरका ३४ हजार पाँच सय १२ सहकारीमध्ये एक तिहाइभन्दा बढी कृषि सहकारी छन् । कृषि सहकारीमा १२ लाख ५८ हजार चार सय चार सेयर सदस्य छन् । ती सदस्य सहकारीमा आबद्ध भएपछि ऋण, अनुदान लिएर विभिन्न व्यवसाय सञ्चालन गरी आर्थिक हैसियत फेरेका छन् । कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान २७.६ प्रतिशत छ । कृषि क्षेत्रले कुल राष्ट्रिय रोजगारीमा ६१.५ प्रतिशत योगदान पु¥याएको छ । यो तथ्यांकले कृषिमा राम्रो अवसर देखाउँछ।

सरकारले कृषि सहकारीलाई प्राथमिकता दिएको छ । अर्थतन्त्रलाई उत्पादनमुखी, आत्मनिर्भर र निर्यातमूलक बनाउन र रोजगारी प्रवद्र्धनमा सहकारी हिस्सा बन्न सक्ने आर्थिक वर्ष ०७५÷७६ को बजेटमा उल्लेख छ । कृषि उत्पादन बढाउन सहकारी खेती, नमूना फार्म, सहकारीमार्फत कृषिजन्य उद्योगको लागि उपकरण आयातमा छुट लगायत सुबिधा बजेटले दिएको छ। 

सहकारीमार्फत सञ्चालन हुने दूध, मासु, फलफूल तथा तरकारीजन्य प्रशोधन उद्योगको लागि आवश्यक उपकरण खरिदमा २५ प्रतिशत अनुदान, सहकारीमार्फत रेशम, कपास र ऊन खेतीका लागि उत्पादन अनुदान र प्रशोधन कारखाना स्थापनाका लागि २५ प्रतिशत पुँजीगत अनुदान दिने बजेटमा व्यवस्था गरिएको छ।

सहकारीबाट ऋण लिएर बाख्रापालन सुरु गरेकी धादिङकी सविता सिलवालको गोठमा अहिले चारवटा भैंसी र तीनवटा गाई छन् । कृषि सहकारीबाट ऋण लिएर व्यवसाय गर्दा हार्थिक हैसियत फेरिएको सितले गाउँपालिकाकी सिलवाल बताउँछिन् । सिलवालले ‘सलाङ साना किसान सहकारी लिमिटेड’बाट ऋण लिएर व्यवसाय गरेकी हुन् । सिजनमा दैनिक ३५–४० लिटर दूध बेच्ने गरेको उनको भनाइ छ।

कृषि सहकारीले रोजगारी सिर्जना, पशु तथा कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्न सघाएका छन् । यसले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सघाएको छ।

कृषि सहकारीले उत्पादन बढाउन टेवा पुगेको नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघले जनाएको छ । संघमा आबद्ध सहकारीले साना किसान बैंकमार्फत विभिन्न अनुदान पाएका छन् । बैंकले साना किसान सहकारीमार्फत तरकारी खेती, पशुपालनका लागि सहुलियत ब्याजदरमा ऋण दिँदै आएको छ । नौ प्रतिशत ब्याजमा कर्जा प्रदान गरेको अध्यक्ष पाठकले बताए।

सानो लगानीमा ठूला उद्योग सञ्चालन गर्न कठिनाइ भएकाले कृषि उद्यमलाई प्राथमिकतामा राखिएको छ । ग्रामीण क्षेत्रका जनताको आय स्तर कमजोर भएको हुँदा उनीहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुगेको छ।

प्रकाशित: १४ कार्तिक २०७५ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App