८ वैशाख २०८१ शनिबार
अर्थ

उत्तर र मध्य धादिङमा सवा दुई अर्ब रेमिट्यान्स

धादिङ – जिल्लामा एक वर्षको अवधिमा दुई अर्ब २४ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । दैनिक तीन सयदेखि पाँच सयजनासम्म विदेशबाट पठाएको पैसा झिक्न आउने गरेको धादिङेबसीमा रहेको कला इन्टरनेसनल प्रालिका प्रबन्धक रामचन्द्र गिरीले बताए।

‘हरेक दिन घटीमा तीन सय र बढीमा पाँच सयजनासम्म पैसा लिन आउँछन्,’ गिरीले भने, ‘सबैभन्दा बढी रेमिट्यान्स मलेसियाबाट आउँछ ।’ प्रालिको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४–०७५ मा उत्तरी धादिङ र सदरमुकाम आसपासका स्थानीयले दुई अर्ब २४ करोड ५२ लाख ८३ हजार पाँच सय २४ रुपैयाँ रेमिट्यान्स बुझेका थिए । यो रकम आर्थिक वर्ष २०७३–०७४ को तुलनामा पाँच प्रतिशतले बढी हो । २०७३–०७४ मा दुई अर्ब १३ करोड ८३ लाख ६५ हजार दुई सय ६१ रुपैयाँ धादिङ भित्रिएको थियो ।  यसमा धादिङको दक्षिणी क्षेत्र (राजमार्ग आसपास) भित्रिएको रेमिट्यान्स जोडिएको छैन।

विशेष गरी उत्तरी र मध्य क्षेत्रका धादिङेले सदरमुकामको कला इन्टरनेसनल लगायत वित्तीय सस्थाबाट रेमिट्यान्स बुझ्छन् । राजमार्ग क्षेत्रकाले अन्य वित्तीय संस्था तथा काठमाडौंबाट समेत दक्षिणी धादिङमा रेमिट्यान्स भित्रिने गिरीले बताए । ‘अधिकांश पुरुष रोजगारीको लागि विदेश जाने र उनीहरुले श्रीमतीको नाममा पैसा पठाउने गरेको देखिन्छ,’ गिरिले भने, ‘पछिल्ला वर्षमा अध्ययनका लागि बिदेसिएकाले बा–आमाको नाममा पैसा पठाउने क्रम बढेको छ।’

दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा क्षेत्र नं २ मा रेमिट्यान्स कारोबार गर्दै आएको यस कम्पनीमा उत्तरी र मध्य क्षेत्रका स्थानीय विदेशबाट आफन्तले पठाएको पैसा लिन आउँछन् । विभिन्न रेमिट्यान्स कम्पनीहरुको आधिकारिक प्रतिनिधिको रुपमा सदरमुकाम धादिङबेसीबाट सेवा दिने यो कम्पनीको तथ्यांक अनुसार जिल्ला भित्रिएको कुल रकममध्ये ८५ प्रतिशत महिलाको नाममा आउने गरेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार देशभर रेमिट्यान्स आप्रवाह घटेको छ । धादिङमा भने पोहोरको भन्दा पाँच प्रतिशतले बढेको हो । ‘गएको वर्ष भूकम्पपछि सरकारले घर बनाउन दिने अनुदान अनिवार्य लिनुपर्ने थियो,’ गिरिले भने, ‘सरकारले दिने पैसाले मात्रै घर नबन्ने भएकाले बिदेसिएकाले बढी पैसा पठाएको हुँदा देशव्यापी रुपमा घटे पनि धादिङमा बढेको देखिएको हो।’

जिल्लामा सबैभन्दा धेरै पैसा मलेसियाबाट भित्रिएको छ । खाडी मुलुकहरु–– साउदी, कतार, बहराइन, दुबई, कुवेत, इराक–– र अफगानिस्तानबाट पनि बढी मात्रामा पैसा आउने गरेको कम्पनीले जानकारी दिएको छ । पछिल्ला वर्षमा विदेशमा अध्ययन गर्न जाने युवा बढेसँगै अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा र अन्य युरोपेली देशबाट पनि रेमिट्यान्स भित्रिने क्रम बढेको प्रबन्धक गिरीले जानकारी दिए।

एक वर्षको तथ्यांक अनुसार चाडपर्वको बेला (असोज, कात्तिक र माघ) धेरै रेमिट्यान्स आउने गरेको छ । पैसा झिक्न सदरमुकाम आउन असजिलो हुने कारण साउनमा थोरै रकम आउने गरेको छ । धादिङमा विदेशबाट आएको रकम उपभोगका सामान, निर्माण सामग्री, विलासी सामान खरिद, बालबालिकाको शिक्षादीक्षामा खर्च हुने गर्ने गरेको बताइन्छ । धादिङबेसीबाट दैनिक ४० देखि ५० लाख रुपैयाँसम्म बाहिरिने पनि गरेको छ।

प्रकाशित: १४ कार्तिक २०७५ ०५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App