coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

१७ जनामा मौसमी फ्लु प्रमाणित

काठमाडौं – दुई साताअघिदेखि फैलिन सुरु भएको मौसमी फ्लु राजधानीसहित विभिन्न जिल्लामा फैलिरहेको राष्ट्रिय इपिडियोमोलोजी तथा महामारी रोग नियन्त्रण महाशाखाले जनाएको छ । जाडो मौसमको सुरुवातसँगै यो फ्लु देखापरेको चिकित्सकले जनाएका छन्।

महाशाखामा संकलन हुन आएको तथ्यांकअनुसार १७ जनामा ‘इन्फुलुन्जा’ ‘ए’ र ‘बि’ प्रमाणित भएको जनाएको छ । काठमाडौंस्थित सिविक अस्पतालले पठाएको १७ जना विदेशी पर्यटकमा इन्फ्लुएन्जा ए प्रमाणित भएको हो । यो इन्फ्लुएन्जाको संक्रमण राजधानीसहित अन्य जिल्लामा फैलिरहेको भए पनि प्रतिवेदन नआइसकेको महाशाखाले जनाएको छ । मौसमी फ्लुको कारण बिरामीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्नेलगायत समस्या लिएर उपचारमा पुग्ने गरेको चिकित्सकले जनाएका छन्।

कात्तिकको पहिलो सातादेखि नै कान्तिबाल अस्पतालमा मौसमी रुघाखोकी, निमोनियाँका बिरामी ह्वात्तै बढेको अस्पतालले जनाएको छ।

प्रभावित मध्येमा दसैं अघि चितवनबाट उपचारका लागि राजधानी ल्याइएको चार महिने शिशुको मृत्यु भइसकेको कान्तिबाल अस्पतालले जनाएको छ । शिशुलाई चितवन, अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल हुँदै कान्तिबाल अस्पताल पु¥याइएको थियो । अन्तिम अवस्थामा पुगेको शिशुको स्वाइनफ्लुको कारण निमोनिया भई मृत्यु भएको अस्पतालका निर्देशक डा. गणेश राईले बताए । राईका अनुसार स्वाइफ्लु पनि मौसमी फ्लुकै समुहमा पर्छ।

देशको विभिन्न भागमा यसको प्रकोप फैलिएपछि फ्लु नियन्त्रण गर्ने औषधि सम्बन्धित अस्पतालहरुको मागअनुसार पठाइरहेको शाखाका प्रमुख डा. शाहले बताए । ‘माग भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वयोधा र सिविकमा औषधी पठाइसकेका छौं । माग भएका सबै अस्पतालहरुमा पठाउँछौं,’ उनले भने । एन्टिभाइरल औषधी विश्व स्वास्थ्य संगठनले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।

मौसम परिवर्तनको क्रममा देखिने यो फ्लुको कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्धा, दमका दीर्घरोगी, श्वास–प्रश्वासका रोगी, बालबालिका, अंग प्रत्यारोपण गरेका व्यक्ति बढी जोखिम पर्ने भएकाले यो समूहलाई सचेत हुन चिकित्सकको सुझाव छ । ‘यो समूहका बिरामीहरुमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर हुने भएकाले जोखिम बढी हुन्छ,’ राष्ट्रिय इपिडियोमोलोजी तथा महामारी रोग नियन्त्रण व्यवस्थापन शाखाका प्रमुख डा. प्रकाशप्रसाद शाह भन्छन्।

इन्फुलुन्जाको संक्रमणले हुने जटिलताकै कारण विगतमा यो समूहका बिरामीको मृत्यु भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए । ‘फ्लुले गर्दा मृत्यु हुने हैन तर यसले कमजोर मानिसहरुलाई खतरामा पार्छ,’ डा.पुनले भने । इन्फ्लुएन्जा ए अन्तर्गत नै हङकङ फ्लु, स्वाइन फ्लु लगायतका रोग पर्छन् । साधरण रुघाखोकीको तुलनामा इन्फ्लुएन्जा ए र बि कडा हुने भएकाले यसले कमजोर प्रतिरक्षा क्षमता भएका तथा बालबालिकालाई बढी असर पुर्याउने भएकोले यसले नमोनिया, बाल दम, ब्रोनकाइटिस, घ्यारघ्यारे रोगको रुपमा विकास हुन्छ।

यो समूहका बिरामीमा रुघाखोकी, ज्वरो आउने तथा टाउको दुख्ने, घाँटी दुख्ने, शरीर दुख्ने जस्ता लक्षण देखा परेमा अन्य उमेर समूहका बिरामीलाई जस्तो घरैमा राख्न नहुने चिकित्सकले सुझाएका छन् । जोखिम समूहका बिरामीहरुलाई मौसमी फ्लुले छुनेबित्तिकै घरैमा राखेर उपचार गरेमा जटिल संक्रमण भई ज्यानै जान सक्ने हुनाले समयमै स्वास्थ्य संस्था तथा अस्पतालमा पुर्याउनुपर्ने चिकित्सकहरु बताउँछन्।

‘अंग प्रत्यारोपण गरेका, दीर्घरोगी, दमका रोगी र बालबालिकालाई घरैमा राखेर उपचार गर्नु हुँदैन,’ डा.पुनले भने, ‘वयश्क तथा प्रतिरक्षा क्षमता बलियो भएका व्यक्ति भने केही दिन घरैमा बसेर झोल खाने कुरा खाने, लक्षण अनुसारको उपचार गर्ने गरेमा केही दिनमा निको हुन सक्छ नभएमा अन्य बिरामीले पनि चिकित्सकको सुझावमा मात्र उपचार गर्नु पर्छ।’

पछिल्लो समय इन्फ्लुएन्जाको प्रतिरक्षा शक्ति बढेको अवस्थमा पहिला प्रयोग भएका औषधिले काम नगर्ने भएकाले आफूखुसी औषधि किनेर नखान सुझाएका छन्।

मौसमी ‘फ्लु’ को संक्रमण भएका व्यक्तिहरु छुट्टै कोठामा बस्ने, हाँच्छिउँ गर्दा, खोक्दा रुमालले मुख छोप्ने, अरु व्यक्तिमा सर्ने भएकाले समूहमा नजाने, संक्रमितले प्रयोग गरेको रुमाल अरुले प्रयोग नगर्ने जस्ता सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ । त्यस्तै, संक्रमित व्यक्ति भीडमा नजाने, जानै परेमा माक्सको प्रयोग गर्ने, सार्वजनिक यातायात तथा शौचालयको ढोका चुकुल छोएपछि हात राम्रोसँग धुने, हात धुनुअघि आँखा, नाक र मुखमा हातले नछुन चिकित्सकको सुझाव छ।

बच्ने उपाय

– माक्सको प्रयोग गर्ने
– हाँच्छ्यिु गर्दा मुख छोपेर गर्ने

– तातो, झोलिलो पदार्थ खाने
– समस्या बढेमा अस्पताल पुग्ने

– सार्वजनिक स्थलमा हिँड्दा माक्स प्रयोग गर्ने
– भीडभाडमा नजाने

प्रकाशित: १४ कार्तिक २०७५ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App