coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जिल्लामै पहिलोपटक ‘मर्चुरी फ्रिज’

स्वीच दबाएर मर्चुरी फ्रिजको शुभारम्भ गदै संघीय सांसद भूमिप्रसाद त्रिपाठी । तस्बिरः सरिता/नागरिक

धादिङ – जिल्लाको राजमार्ग क्षेत्रमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मर्चुरी फ्रिज(शवलाई लामो समयसम्म सुरक्षित राख्ने फ्रिज) राखिएको छ । गजुरी गाउँपालिकाको पहलमा स्वास्थ केन्द्रमा यस्तो फ्रिज राखिएको हो । पृथ्वी राजमार्ग तथा त्रिशूली नदी किनार आसपास हुने दुर्घटनामा सनाखत नभएका शवहरू राख्ने ठाउँ अभाव हुँदै आएको थियो । गजुरी गाँउपालिकाले करिब नौ लाख रुपैयाँ खर्चेर मर्चुरी फ्रिज गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो।

फ्रिज नहुँदा शवगृहमा राखिएका शवहरू कुहिने, गन्हाउने गरेका कारण प्राथमिक स्वास्थ्य केन्द्र आसपासका बासिन्दा एवं स्वास्थ्य केन्द्रकै स्वास्थ्यकर्मीहरूले दुर्गन्धको समस्या भोग्दै आएका थिए । गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव रामकुमार श्रेष्ठका अनुसार शवगृह सानो पनि भएकाले दुई÷तीनवटा बेवारिसे शव राखेको अवस्थामा आकस्मिक पोस्टमार्टमहरू स्वास्थ्य संस्थाको आँगनमै राखेर गर्नुपर्ने बाध्यता थियो । उनले भने, ‘मर्चुरी फ्रिज सेवा सुरु भएपछि केही हदसम्म सहज हुने भएको छ।’

आँगनमा पोस्टमार्टम गरिएकाले स्वास्थ्यकर्मी, बिरामी एवं आसपासका बासिन्दालाई असर परिरहेको गुनासो आएपछि गजुरी गाउँपालिकाले मर्चुरी फ्रिज खरिद गर्ने बताएको थियो । स्वास्थ्यकर्मीका अनुसार कुनै बेला शव गन्हाएर अस्पतालमा बस्नै नसिकने अवस्था हुँदा बिरामीहरूलाई नजिकैका घरहरूमा लगेर जाँच्ने गरिएको थियो । बेवारिसे शवहरू बस्ती बीचमा रहेको स्वास्थ्य केन्द्रमा सामान्य अवस्थामा हप्ताैंसम्म राख्दा दुर्गन्ध फैलिएर स्थानीयहरूलाई असर गरेको गुनासो आउन थालेपछि मर्चुरी फ्रिज ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक डाक्टर रामहरी रेग्मीले जानकारी दिए । ‘धेरै समयको प्रयासपछि हामीले स्वास्थ्य केन्द्रमा मर्चुरी फ्रिज राख्न सक्यौं,’ रेग्मीले भने,‘उक्त फ्रिजमा दुईवटा शव सुरक्षित तरिकाले लामो समयसम्म राख्न सकिन्छ ।’ गजुरी प्राथमिक स्वास्थ्य केन्द्र शव सुरक्षित रूपमा राख्न सकिने फ्रिज सेवा उपलब्ध गराउने जिल्लाकै पहिलो स्वास्थ्य संस्था समेत बनेको छ।

यसअघि अस्पतालमा रहेको एउटा मात्र मर्चरी (मुर्दाघर) मा तीनवटा शव मात्र अट्ने भएकाले अन्य शव आँगनमै पोस्टमार्टम गर्नुपर्ने हुन्थ्यो । राजमार्ग क्षेत्रभरि डाक्टर बस्ने एउटै मात्र स्वास्थ्य केन्द्र गजुरी मात्रै हो । पृथ्वी राजमार्ग आसपास हुने सबै घटनाका मृतकका शव पोस्टमार्टम गर्न गजुरी स्वास्थ्य केन्द्रमै ल्याउनुपर्ने बाध्यता छ । कुनै बेला एकैदिन पाँच वटासम्म शव आइपुग्ने र त्यसको पहिचान हुन नसक्दा समस्या हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । अब मर्चुरी फ्रिजले उक्त समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ कार्तिक २०७५ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App