टिपर चालकलाई सुधार्नै कठिन

बुधबार, १४ कार्तिक २०७५, ०७ : ४४ मधुसुधन गुरागाईं

550


बनेपा – काठमाडौं उपत्यकामा दिउँसो टिपर प्रवेशमा निषेध गरेको प्रशासनले गत शनिबारदेखि जुनसुकै बेला टिपर छिर्न दिने निर्णय गरेको छ । प्रशासनको यो निर्णयलगत्तै बागमती टिपर व्यवसायी संघका कार्यवाहक अध्यक्ष प्रेम लामाले फेसबुकमा टिपर चालकका लागि ‘मिनी’ आचारसंहिता जारी गरे।

आचारसंहितामा उनले हेल्पर अनिवार्य राख्न, हाइवेमा स्पिड ३५ किलोमिटरभन्दा बढी नगर्न र सकभर ओभरटेक नगर्न उल्लेख गरेका छन् । यस्तै लेन अनुशासन पूर्ण पालना गर्न, अनावश्यक डेकोरेसन हटाउनसमेत उनले आग्रह गरेका छन् । ‘साइड झ्यालहरू मिलेसम्म खुला राखेर चलाउनुहोस्, गाडीमा यात्रुलाई नचढाउनुहोस्, ट्राफिक नियम पूर्ण पालना गर्नुहोस् र एकदम अनुशासित भएर आफ्नो पेसा–व्यवसाय गर्नुहोला,’ आचारसंहितामा यत्ति धेरै अर्ती–उपदेश टिपर चालकलाई दिइएको छ।

तर, नानीदेखि लागेको बानी भनेझैं हिजोका दिनमा मैमत्त भएर टिपर कुदाइरहेका चालकहरू यस्ता सूचनालाई किन टेर्थे र ! आखिरमा पहिलो दिन शनिबार नै बा३ख ६४२ नम्बरको टिपरले पाँचखाल–६, तीनपिप्लेमा लु४२प १३५९ नम्बरको मोटरसाइललाई ठक्कर दियो । त्यसमा सवार ५० वर्षीया रन्जना गौतमकोे घटनास्थलमै मृत्यु भयो । उनका पति (मोटरसाइकल चालक) घाइते भए । ‘मोटरसाइकललाई टिपरले लडाउँदा पछाडि बसेकी बुढी(पत्नी) उछिट्टिएर चक्कामुनि पुगिन् । मैले हात उठाएर रोक–रोक भन्दाभन्दै चक्काले घिसार्दै मेरो बुढीको पेट नै निस्कने गरी टिपरले किच्यो । आँखैअगाडि टिपरले बुढीको ज्यान लियो,’ धुलिखेल अस्पतालमा उपचाररत उनले भने।

उपत्यकामा दिउँसो टिपर चल्न थालेकै दिन काभ्रेमा मात्रै नभई सूर्यविनायक–९ फनभ्याली नजिकै अरनिको हाइवेमा पनि बा४ख ३१५३ नम्बरको टिपरले मारुती भ्यान र दुइटा बसलाई समेत ठक्कर दिँदा भ्यानमा सवार ६ जना घाइते भए । भ्यान खेतमा पुग्यो।

टिपर चालकलाई व्यवसायी संघ र ट्राफिक प्रहरीले जति नै सम्झाउँदा, आचारसंहिता लागू गर्दा र जरिवाना ठोक्दासमेत सितिमिति सुध्रन चाहँदैनन् । प्रशिक्षणमा बसुन्जेल सबै चालकले हुन्छ भन्दा रहेछन् । तर, स्टेरिङ समातेपछि सिकाएको सबै कुरा बिर्सँदा रहेछन्।

गृह प्रशासनले यसअघि पनि साँझ ८ बजेपछि बिहानसम्म टिपरलाई उपत्यका छिर्न दिने निर्णय गरेकोमा टिपर व्यवसायीको दबाबमा असोज १७ देखि एक घन्टाअगावै छिर्न दिने निर्णय गर्यो । तर, सोही दिन सूर्यविनायकको पाण्डुबजारमा बा४ख ३६५० नम्बरको टिपरले ठक्कर दिँदा नमोबुद्धका २५ वर्षीय राम श्रेष्ठको घटनास्थलमै मृत्यु भयो।

यी दृष्टान्तले के प्रमाणित गर्छ भने टिपर चालकलाई व्यवसायी संघ र ट्राफिक प्रहरीले जति नै सम्झाउँदा, आचारसंहिता लागू गर्दा र जरिवाना ठोक्दासमेत सितिमिति सुध्रन चाहँदैनन् । ‘हामीले पटकपटक अनुशासनका बारेमा टिपर चालकलाई प्रशिक्षण दियौं । टिपरको संघसंस्थाले पनि प्रशिक्षण दिएको छ । प्रशिक्षणमा बसुन्जेल सबैले हुन्छ भन्दा रहेछन् । तर, स्टेरिङ समातेपछि सिकाएको सबै कुरा बिर्सँदा रहेछन्’, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका निमित्त प्रमुख एवं सई राजेश दाहालले भने।

चालकहरूले स्पिड र लेन अनुशासन पालना गरिदिएमा मात्रै पनि जनधनको क्षति नहुने उनको भनाइ छ, ‘काभ्रे ट्राफिकमा रेकर्ड भएका टिपर दुर्घटनाहरू मेकानिकल कारणले भन्दा पनि चालककै लापरबाहीका कारणले बढी हुने गरेको पाइएको छ । विगतका दुर्घटनाको विश्लेषण गर्दै चालकले अनुशासित ढंगमा टिपर चलाइदिएमा बर्सेनि जनधनको क्षति हुने थिएन,’ दाहालले थपे।

काभ्रे ट्राफिकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४–७५ टिपरकै कारणले जिल्लामा १९ वटा दुर्घटना भए । त्यसमा १० जनाको मृत्यु भयो । सख्त घाइते १३ जना र सामान्य घाइते ५ जना भए । टिपरलाई कारबाहीको संख्या ८ हजार ५ सय ११ पुग्यो भने जरिवानाबापत साढे ४४ लाख असुली भएको छ । ‘चालू आर्थिक वर्षको कात्तिक पहिलो सातासम्ममा टिपरकै कारणले १९ वटा दुर्घटना भए । जसमा ४ जनाको ज्यान गइसकेको छ भने सख्त र सामान्य गरी १० जना घाइते भएका छन् । यस अवधिमा २ हजार ३ सय ५० टिपरलाई कारबाही हुँदा जरिवानामात्रै पौने १३ लाख असुली भएको छ,’ दाहालले भने।

शनिबार पाँचखालमा घटना गराउने टिपरको क्याबिनबाट गाँजाको पोको भेटिएको भनी स्थानीयले उजुरी गरेको हुँदा आगामी साताबाट टिपरको क्याबिन चेक गर्ने, डेकोरेसन र बुफर हटाउनुका साथै प्रेसर हर्नसमेत निकाल्ने योजना बनाइएको उनको भनाइ छ, ‘टिपरधनीले पनि आफ्नो चालकको आनीबानीलाई बेलाबखत छड्के निगरानी गरिदिनुपर्छ । टिपर चालक पाइन्न भन्ने बहानामा जस्तोसुकै चरित्रको चालक भए पनि काममा लगाउने अनि चुप लागेर बस्ने टिपरधनीका कारणले पनि समस्या थपेको हो’, दाहालले भने।

भूकम्पलगत्तैको पुनर्निर्माण तथा चक्रपथलगायतका आयोजना निर्माण भइरहँदाताका टिपरले २४सै घण्टा काम पाउने अवस्था थियो । त्यतिखेर टिपरलाई ‘सुनको फुल पार्ने कुखुरी’ को उपमा दिइन्थ्यो । मनग्गे कमाइ हुने भएपछि टिपरधनीले चालकलाई जति ट्रिप (पटक) सामान डेलिभरी गर्न सक्यो त्यति नै बढी भत्ता दिने बानी लगाएका थिए । त्यसक्रममा बढी स्पिडमा टिपर कुदाउँदा दुर्घटना बढेर गयो । जनधनको क्षति बढेपछि प्रशासनले तोकिएको समयमा मात्रै गुड्न दिँदा दैनिक एक ट्रिपमात्रै कमाइ हुने र रातभरि टिपर चलाउनुपर्ने भएपछि अधिकांश युवा चालक विदेसिएका हुन्।

‘खोइ हामीले पनि त्यही टिपर चलाएर पेन्सन खाने बेला भयो । आँखाले नदेखिएका कीरा–फट्यांग्रा किचियो होला, देखेर केही किचेको छैन । टिपर ड्राइभरले आफन्त घरमा कुरेका होलान् भनेर हिँड्दा अरूका पनि परिवारका सदस्य घरमा कुरेका हुन्छन् भन्ने सोचेर चलाउनुपर्छ,’ दुई दशकदेखि निरन्तर टिपर हाँकेका एक चालकले भने।

सवारी संख्याअनुसार ट्राफिक प्रहरी छैनन्

काभ्रेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना हुँदा बिपी राजमार्ग पूरै सञ्चालनमा आइसकेको थिएन । एउटै राजमार्ग अरनिकोमा सवारी चाप थियो । तीव्र सहरीकरणसँगै निर्माण सामग्री (गिट्टी, बालुवा र ढुंगा) का उद्योगहरू खुल्दै जाँदा ती सामग्री ढुवानीमा टिपरको प्रयोग हुन थाल्यो । यत्तिकैमा बिपी राजमार्ग पनि सञ्चालनमा आयो । त्यसपछि काभ्रे ट्राफिकलाई सवारीसाधन व्यवस्थापन गर्न हम्मे पर्न थालेको हो।

‘काभ्रे ट्राफिकले अरनिको र बिपी राजमार्गका साथै ग्रामीण रुटमा चल्ने सबै खालका गरी करीब २ हजार यात्रुवाहक साधनलाई हेर्नुपर्छ । यसमा टिपर, ट्रकजस्ता मालवाहक सवारीसाधनको गणना गरिएको छैन । एकजना ट्राफिकका भागमा ७५ भन्दा बढी यात्रुवाहक सवारीसाधन पर्न आउँछ,’ काभ्रे ट्राफिकका निमित्त कार्यालय प्रमुख एवं सई राजेश दाहालले भने।

कार्यालयमा २१ जनाको दरबन्दी रहेकोमा अन्यत्रबाट काजमा आएका गरी ३० जना ट्राफिक प्रहरी कार्यरत रहे पनि टिपरकै नियमनका लागि अधिकांश जनशक्ति खट्दै आएका उनको भनाइ छ । ‘अरनिको राजमार्ग, बिपी राजमार्ग, हेलम्बु राजमार्ग र बनेपा–पनौती सडकमा गरी १७ जना ट्राफिक प्रहरी खटिरहेका छन् । बाँकीको सदरमुकाम तथा सहरी क्षेत्रमा आलोपालो ड्युटी मिलाइरहेका छौं,’ उनले थपे । सीमित जनशक्तिले कागजपत्र र ओभरलोड जाँच्दै आए पनि टिपरको मेकानिकल पाटोमा हेर्न नभ्याउने अवस्था रहेको उनको भनाइ छ।

३ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख एवं एसपी नवीनराज राई पछिल्लो समय अधिकांश जिल्लामा सवारीसाधनको चाप अनुपातमा ट्राफिक प्रहरी मिलाउन नसकिएको स्विकार्छन् । ‘मेरै प्रदेश कार्यालयमा तोकिएको दरबन्दीअनुसार ट्राफिक प्रहरी मौजुद छैनन् । प्रहरी प्रधान कार्यालयमा माग गरेको छु । थप भई आएमा काभ्रेलगायतका सवारीसाधनको चाप बढेका जिल्लामा काजमै भए पनि जनशक्ति पठाएर ट्राफिक व्यवस्थापन राम्रो बनाउने योजनामा छु,’ उनले फोनमा भने, ‘ट्राफिक तालिम लिएका तर सिभिलमा कार्यरत जनशक्तिलाई ट्राफिक निर्देशनालायले काजमै भए पनि खटाई दिने हो भने सबैतिर तत्कालका लागि समस्या समाधान हुने थियो।’







यसमा तपाईको मत


अन्य समाचार

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...

के हो एन्ड्रोइड गो ?

के हो एन्ड्रोइड गो ?

थोरै मूल्यमा उच्चस्तरीय एन्ड्रोइड अनुभूति ...

यस्तो स्मार्टफोन जसमा न कुनै पोर्ट छ ,न त कुनै बटन

यस्तो स्मार्टफोन जसमा न कुनै पोर्ट छ ,न त कुनै बटन

चार्जिंग पोर्ट ? छैन ! सिम स्लट ? छैन !! स्पिकर ग्रिल ? त्यो पनि छैन !!! ...