८ वैशाख २०८१ शनिबार
समाज

छठपछि आन्दोलन चर्काउने अस्थायी कर्मचारीको चेतावनी

काठमाडौं – सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोस्न खोजेको भन्दै आन्दोलन चर्काउने भएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अस्थायी रूपमा कार्यरत कर्मचारीहरूले आफ्ना माग पूरा नभए छठलगत्तै आन्दोलन थप चर्काउने चेतावनी दिएका हुन्।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका संयोजक कुमार राउतले रोजिरोटी नखोस्न सरकारसँग आग्रह गरेका छन् । संयोजक राउतले २०–२५ वर्षसम्म काम गरेका कर्मचारीलाई ३ महिनाको तलब दिएर हटाउन लागेको भन्दै आक्रोश व्यक्त गरे । ‘लामो समयदेखि सरकारी सेवामा कार्यरत कर्मचारीको सम्मान नगरे छठ पछाडि आन्दोलन गर्नेछौं,’ राउतले भने, ‘त्यसका लागि जे गर्न पनि कर्मचारी तयारी अवस्थामा छन् ।’ उनका अनुसार सरकारको सो कदमले झन्डै ३२ हजार कर्मचारी परिवारको रोजिरोटी खोसिने छ।

‘छठसम्म माग पूरा नभए सशक्त आन्दोलन गछाैं , त्यसका लागि जीवन आहुती दिन पनि तयार छौैं,’ राउतको चेतावनी छ, ‘रोजिरोटी खोसिएका कर्मचारीका परिवारलाई सिंहदरबार छिराउँछौं, परिवारसहित हामी आन्दोलनमा हुनेछौं ।’ उनका अनुसार त्यसका लागि तयारी जारी राखिएको छ । आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई सरकारले नियम र बिगतमा भएका सम्झौताअनुसार व्यवस्थापन गर्नुपर्ने तर्क राखेका छन्।

सर्वोच्च अदालतले सो प्रकारका कर्मचारी नराख्न आदेश दिए पनि सरकारले सो पालना नगरेको उनको भनाइ छ । ‘तर, आवश्यकता पर्यो भर्ना गर्ने अनि अहिले किन हटाउन खोजियो ? सरकारले यसको उचित जवाफ दिनुपर्छ,’ उपाध्यक्ष पोखरेलले भने।

प्रकाशित: १४ कार्तिक २०७५ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App