१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका प्रधानमन्त्री ओलीले मंगलबार खाजा खानुको साथै दारीसमेत आफैंले बनाएको डाक्टरले जनाएका छन्।

‘उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ, उहाँले सामान्य खाना पनि खान सुरु गर्नुभएको छ,’ प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले भनिन्, ‘स्वास्थ्यमा सुधार हुँदै आएपछि उहाँ आफ्नो नियमित काममा फर्किन हतार गरिराख्नुभएको छ ।’ उपचारमा संलग्न चिकित्सकले भने पूर्णरुपमा निको नभएसम्म अस्पतालमै आराम गर्न प्रधानमन्त्रीलाई सुझाएका छन् । ‘पूर्ण निको नभएसम्म नियमित काममा फर्किंदा पुनः समस्या हुन सक्छ,’ सिंहले भनिन्, ‘त्यसैले पूर्ण निको भएपछि मात्र उहाँलाई अस्पतालबाट डिस्चार्ज गर्नेतिर हाम्रो प्रयास हुन्छ।’

अस्पतालले मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको रगत परीक्षण र छातीको एक्सरे रिपोर्ट सकारात्मक आएको उल्लेख छ । अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको छातीमा संक्रमण र रगतमा चिनीको मात्रामा असन्तुलन देखिएको उल्लेख थियो।

शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले मंगलबारै विज्ञप्ति जारी गर्दै आफू छिट्टै काममा फर्कने उल्लेख गरेका छन् । ‘चिकित्सकहरुले मलाई दिनुभएको जानकारीअनुसार म छिट्टै नै अस्पतालबाट फर्किनेछु,’ प्रधानमन्त्रीले उल्लेख गरेका छन्, ‘र तपाईं हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ।’ समग्र देशवासी दिदीबहिनी–दाजुभाइको सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले मुलुकका केही भागमा भएका अनपेक्षित घटनाप्रति आफू संवेदनशील रहेको पनि जनाएका छन्।

प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान भेट्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले ट्विट गर्दै लेखेका छन्, ‘प्रमलाई अस्पतालमा भेट्दा निकै हँसमुख देखिनुभो ! अलिकति ठट्टामजाक पनि गर्नुभो ! यसको अर्थ हामीले लगायौं– उहाँको स्वास्थ्य तन्दुरुस्त हुँदैछ ! आखिर ‘लाफ्टर इज द बेस्ट मेडिसिन’ जो भनिन्छ ! उहाँको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना !’ डाक्टर भट्टराईको ट्विटले पनि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको संकेत गर्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पनि प्रेस नोट जारी गरी प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाएका छन्।

प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिलाई ध्यान दिई शिक्षण अस्पतालले उनीसँगको भेटघाटमा रोक लगाएको छ । धेरै व्यक्तिसँगको सम्पर्कले संक्रमण बढ्न सक्ने जनाउँदै अस्पतालले उनीसँगको भेटघाटमा रोक लगाएको हो । मंगलबार दिउँसो अस्पतालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ गराउनु आफूहरुको पहिलो प्राथमिकता रहेको जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीयज्यूको शीघ्र स्वास्थ्यलाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकाले चिकित्सकीय रायअनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गछैं।

प्रकाशित: १४ कार्तिक २०७५ ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App