coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्याराग्लाइडिङ एक्युरेसी विश्वकप बिहीबारदेखि

स्याङजाको स्वरेक मैदान । यही मैदानमा आगामी बिहीबारदेखि प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप हुँदै छ । तस्बिरः मोहन/नागरिक

पोखरा/स्याङ्जा – स्याङ्जामा आगामी बिहीबारदेखि प्याराग्लाइडिङ एक्युरेसी विश्वकप (पिजिएडब्लुसी) सुरु हुँदै छ । नेपालमा पहिलो पटक हुन थालेको यो प्रतियोगिताले साहसिक मानिने प्याराग्लाइडिङ खेलको प्रवद्र्धनसहित नेपालमा थप साहसिक पर्यटक भित्र्याउन सघाउ पुग्ने आयोजकको अपेक्षा छ।

स्याङ्जाको भीरकोट र वालिङ नगरपालिकामा यो स्पर्धा हुँदै छ । भीरकोट–५ स्वरेकबाट उडेर वालिङ– ११ डौंघाफाँटमा अवतरण गर्दै खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । पहिलो दिनको उद्घाटनबाहेक तीन दिनसम्म चल्ने प्रतिस्पर्धाका लागि अहिलेसम्म झन्डै सय  प्रतिस्पर्धी पाइलटले नाम दर्ता गराएका छन्।

गत भदौमा इन्डोनेसियामा आयोजित १८आैं एसियाली खेलकुद प्रतियोगितामा पहिलो पटक सहभागी प्याराग्लाइडिङले नेपालका लागि रजत पदक जिताएको थियो । पोखरामा झन्डै २० वर्षअघि व्यावसायिक उडान सुरु गरेको प्याराग्लाइडिङले २० वर्षकै अन्तरालमा एसियाली खेलकुदमा नेपाललाई पदक दिलाएको थियो । सरकारले २० वर्षपछि मात्र प्याराग्लाइडिङलाई खेलगतिविधिको मान्यता दिएर यो पटक एसियाली खेलकुदमा सहभागी गराएको थियो । नेपालले यत्तिको ठूलो प्रतियोगिता पनि पहिलो पटक आयोजना गर्ने अवसर पाएको छ।

स्थानीय बाबु एडभेन्चर क्लब, नेपाल हवाई खेलकुद संस्था (एनएए) र नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनको आयोजनामा स्याङ्जामा यो प्रतिस्पर्धा हुँदै छ । विश्व हवाई खेलकुद महासंघअन्तर्गतको फेडेरेसन एरोनोटिक इन्टरनेसनल (एफएआई) र प्याराग्लाइडिङ एक्युरेसी विश्वकप (पिजिएडब्लुसी) को मान्यतापछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल ओलम्पिक कमिटीको समन्वयमा जिल्लास्थित स्थानीय तहको सहयोगमा यो प्रतिस्पर्धा हुन थालेको हो।

नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतका अनुसार तीनवटा विधामा यो प्रतिस्पर्धा हुँदै छ । स्वरेक मैदान (समुन्द्री सतहदेखि १५७७ मि) बाट उडेर डौंघाफाँट (८ सय मिटर) मा अवतरण गर्ने गरी हुने प्रतिस्पर्धामा सहभागी हुनका लागि अहिलेसम्म स्वदेशी र विदेशी गरी झन्डै एक सय पाइलटले नाम दर्ता गरिसकेको उनले बताए।

उनका अनुुसार एफएआई क्याटागोरी–२, अन्तर्गतको पिजिएडब्लुसी सिरिजको यो पाँचाैं संस्करण हो । पिजिएडब्लुसीले बर्सेनि फरकफरक मुलुकमा यो प्रतिस्पर्धा आयोजना गर्दै आएको छ । सन् २०१८ मा हुन थालेको यो पाँचाैं संस्करण हो । यो वर्ष टर्की, काजकस्थान, इन्डोनेसिया र क्यानडामा भइसकेको छ । नेपालपछि आगामी डिसेम्बरमा अल्बानियामा यस्तै प्रतिस्पर्धा हुँदै छ।

‘नेपालका लागि यो निकै नै ठूलो अवसर हो । यस्तो प्रतिस्पर्धा आयोजना गर्न पाउनु राष्ट्रकै गौरवको कुरा हो,’ रावतले भने, ‘नेपाललाई एक कदम माथि उठाउन यो प्रतिस्पर्धाले सघाउनेछ ।’ ओभरअल, महिला र टिम विधामा अहिले प्रतिस्पर्धा हुँदै छ।

ओभरअल र महिला विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो नगद पुरस्कार पाउनेछन् । त्यस्तै टिम विधातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५, १२ र ७ सय युरो नगद पुरस्कार पाउनेछन् । टिम विधामा पुरुषतर्फ ५ र महिलाका ३ जना सहभागी हुनेछन् । स्वदेशी र विदेशी सबैले तीनवटै विधामा सहभागिता जनाउनेछन्।

एक्युरेसीमा प्रतिस्पर्धा गर्दा प्रतिस्पर्धी पाइलटले तोकिएको बिन्दुमा अवतरण गर्नुपर्नेछ । आर्चरी खेलमा तोकिएको बिन्दुमा तारा हानेजस्तै यो प्रतिस्पर्धामा पनि खेलाडीले तोकिएको बिन्दुमा अवतरण गर्नुपर्नेछ । अवतरणस्थलमा जडान गरिएको विद्युतीय डिभाइसले खेलाडीलाई अंक दिनेछ । सबैभन्दा कम अंक ल्याउनेले नै यसमा विजय प्राप्त गर्ने बाबु एडभेन्चर क्लबका मुख्य प्रशिक्षक सानोबाबु सुनुवारले बताए । ‘प्रतियोगिता अवधिमा तालिकाअनुसार एक जना पाइलटले ६ पटक मात्र उडान गर्न पाउनेछ । उसले तोकिएको बिन्दुमा अवतरण गरेको आधारमा अंक पाउनेछ र त्यही आधारमा सबैभन्दा कम अंक पाउनेले उपाधि हात पार्ने उनले बताए।

उनका अनुसार उडान र अवतरणको समय अवधि भने तोकिएको हुँदैन । तर खेलाडीले स्वरेक मैदानबाट उडेर फाँटमा अवतरण गर्नेछन् । यही ठाउँमा गत वर्ष अन्तर्राष्ट्रियस्तरको खुला प्रतिस्पर्धा तथा राष्ट्रिय खेलाडी छनोट गरिएको थियो । त्यसैको आधारमा यो पटक नेपालले प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप आयोजना गर्ने अवसर पाएको सुनुवारले बताए । ‘नेपालले कम्ती मिहिनेत गरेर यो अवसर पाएको होइन,’ उनले भने, ‘हामीले लामो समयको युद्ध जितेसरह यो पटक प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप आयोजना गर्न सकेका छौं  । स्याङ्जाका लागि मात्र नभई नेपालकै लागि यो गौरवपूर्ण अवसर हो।’

नेपालमा प्याराग्लाइडिङ उडान सुरु भएको झन्डै दुई दशक पुगे पनि यति ठूलो प्रतिस्पर्धा भने पहिलो पटक आयोजना गरेको उनले बताए । यसअघि धरानमा नेपाल एक्युरेसी प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गरेको थियो । पोहोर स्याङ्जामा आयोजना गरेको खुला प्रतिस्पर्धा बाहेक यो नै अहिलेसम्मको ठूलो स्पर्धा भएको सुनुवारले बताए।

नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनका महासचिव रावतका अनुसार प्याराग्लाइडिङ उडानको लामो अनुभव भए पनि एक्युरेसीमा नेपाल कमजोर मानिन्छ । नेपालमा एक्युरेसीमा प्रतिस्पर्धा नै कम हुने गरेकाले अब्बल हुन गाह्रो भएको उनले बताए । दुई दशकको प्याराग्लाइडिङ अनुभव नेपालसँग भए पनि खेलाडीले साहसिक पर्यटकीय सेवा दिनुपरेकाले पनि खेलको रूपमा विकसित हुन नसकेको उनले बताए । ‘यहाँ तालिम प्रशिक्षण नै भएको छैन,’ उनले भने।

मुख्य प्रशिक्षक सुनुवारले एक्युरेसीका बारेमा धेरैलाई ज्ञान नहुनु, प्रशिक्षण अभावले नेपालको अवस्था कमजोर रहेको बताए । ‘नेपाली पाइलट डाँडाकाँडा पार गर्न सिपालु छन् । त्यसैले प्याराग्लाइएडिङको क्रसकन्ट्रीमा बलियो मानिन्छ,’ उनले भने, ‘अभ्यास कम हुने भएकाले एक्युरेसीमा भने कमजोर छ ।’ प्याराग्लाइडिङलाई खेलकुदको मान्यता राज्यले दिन ढिलाइ गर्दा पनि यस्तो समस्या भएको उनले बताए ।

‘पोखरा सराङकोटमा उडान गर्दा पाइलटले खेलको रूपमा भन्दा पर्यटकलाई सेवा दिएर व्यावसायिक बन्नुपर्ने बाध्यता छ । खेलको रूपमा ध्यान दिनै पाएका छैनन्,’ उनले भने, ‘त्यसले गर्दा एक्युरेसीमा कमजोर बनेको हो । खेलको रूपमा अभ्यास गर्नै पाएका छैनन्।’

प्रकाशित: १४ कार्तिक २०७५ ००:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App