coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पोखरा प्रिमियर लिग : विदेशी खेलाडीको प्रदर्शन नै उल्लेख्य

पोखरा – पोखरा प्रिमियर लिगको चौथो दिन सोमबारसम्म बुटवल प्लास्टर्स शतप्रतिशत नतिजा निकाल्दै लिगको शीर्ष स्थानमा छ । पोखरा पल्टन पनि तीन खेल खेल्दै दुई जित र एक हारको नतिजाका साथ दोस्रो स्थानमा छ । हुलास काठमाडौं रोयल्स पनि दुई जितसँगै तेस्रो स्थानमा छ । एक्सपर्ट धनगढी ब्लुज एक जित लिएर दुई अंकसँगै चौथो स्थानमा छ । चितवन राइनोज र विराटनगर भने क्रमश पाँचौ र छैटौं स्थानमा छन्।

बुधबारबाट दोस्रो चरणका खेल हुँदै छन् । नेपाली क्रिकेटका सर्वाधिक सफल व्यावसायिक खेलाडीको सूचीमा रहेका मार्की प्लेयर सन्दीप लामिछानेको विराटनगर पोखरा प्रिमियरको उपाधि होडबाट लगभग बाहिरिएको छ । यद्यपि दुई खेल भने बाँकी नै छ । उपाधि होडमा रहन अब विराटनगरले दुवै खेल जित्दै फराकिलो रनअन्तर बनाउनुको विकल्प छैन । त्यसले मात्रै पुग्दैन अन्य टोलीको पराजय आवश्यक देखिन्छ।

अक्सनलाई अध्ययन गर्दा पोखरा र चितवन निकै प्रभावशाली थिए । तर चितवनको प्रभाव कागजी रूपमै सीमित भयो । पहिलो खेलमा बुटवलले दिएको १ सय ३५ रनको चुनौती पछ्याउँदा चितवन केवल ६५ रनमै अलआउट भयो ।
 पाँचौ खेलसम्मको नतिजा पहिला ब्याटिङ गर्ने टोलीको पक्षमा थियो । तर छैटौं र सातौं खेलको नतिजा भने उल्टिएको छ । जितको संघारमा पुगेको विराटनगरको टोली काठमाडौं रोयल्ससँग अन्तिम ओभरमा चार बल बाँकी छँदा पराजित भएको खेल नै प्रतियोगिताको रोमाञ्चक खेल बन्योे।

‘ब्याटिङ र बलिङलाई नियाल्दा विदेशी खेलाडी नै हाबी छन् । नेपाली खेलाडीको प्रदर्शन औसत मात्र छ।’

प्रिमियर लिगमा विदेशी खेलाडी निर्णायक बन्दै आएका छन् ।  काठमाडौंका विदेशी खेलाडी गौरभ तोमरले उत्कृष्ट इनिङ  खेले । पहिलो खेलमा उनले धनगढीविरुद्ध ९५ रन बनाए । उनले विराटनगरसँगको खेलमा पनि ६५ रन जोडे । चितवनसँगको जितमा पोखराका भारतीय खेलाडी रविन्दर सिंहको ठोस योगदान रह्यो । उनले  चितवन राइनोजमाथि जित निकाल्न ६७ रन बनाए।

उता युएईका खेलाडी रोहन मुस्तफाले पनि बुटवललाई जिताउन ४५ रन बनाई २ विकेट लिँदै म्यान अफ दी म्याच भए । नेपाली राष्ट्रिय टोलीका खेलाडीको ब्याटिङ लाइन खासै प्रभावकारी देखिएन । आशिफ शेखले अर्धशतक हाने भने पारस खड्काले सर्वाधिक ४४ रन प्रहार गरे । विनोद भण्डारीले ११ बलमा ४१ रन बनाए पनि पछिल्ला दुई खेलमा भने राम्रो प्रदर्शन गरेनन् । पहिलो खेलमा शंकर राना र सागर पुनले ४८ र ४६ रन बनाए ।  बलिङतर्फ भने सोमपाल कामी लयमा छन् । उनीपछि करण केसी छन् । दुवै पेस बलर हुन्।

‘ब्याटिङ र बलिङलाई नियाल्दा विदेशी खेलाडी नै हाबी छन्,’ नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले भने, ‘नेपाली खेलाडीको प्रदर्शन औसत मात्र छ ।’ उनका अनुसार टी–२० मा खेलाडीमा धैर्यताको खाँचो चाहिन्छ । सबै बललाई हिर्काउँछु भन्ने मानसिकता राख्दा कमजोर स्कोर बन्न पुग्ने उनको भनाइ थियो।

लिगमा बेलायत, भारत, पाकिस्तान, अफगानिस्तान र युएईका खेलाडी छन् । सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिगमा युवा र अनुभवी खेलाडीको सम्मिश्रणले क्रिकेटमा नयाँ आयाम थापिने विश्वास छ । पोखराका तीन खेलाडीले प्रिमियर लिगको अनुभव लिएका छन् । विपिन खत्री बुटवल ब्लास्टर्सबाट प्लेइङ लाइनअपमा छन् । तर पोखरा पल्टनमा रहेका दीपेश खत्री र सुमन घिमिरेले भने खेल्ने अवसर अझै पाएका छैनन्।

बुटवल, काठमाडौं र पोखरा औसत टिमको रूपमा देखिएका छन् । मंगलबारसम्मको खेल हेर्दा उपाधि यो टिमले नै जित्छ भन्न सकिने अवस्था छैन । बुधबार एक्सपर्ट धनगढीले चितवन राइनोजसँग खेल्नेछ।

प्रकाशित: १४ कार्तिक २०७५ ००:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App