काठमाडौं – नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता कात्तिक २७ गतेबाट काठमाडाैंमा हुने भएको छ । २०६८ सालबाट सुरु गरिएको प्रतियोगिता आठौं संस्करणसम्म आइपुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगिताामा पुरुष तथा महिला एकल तथा युगल, यु–१७ छात्र तथा छात्रा एकल र भेट्रान्स (४५ वर्ष माथि) जोडी गरी ७ विधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए।
करिब १२ लाख लागतको अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष–महिला एकलमा शीर्ष तीन स्थान हात पार्नेले मेडल, ट्रफी प्रमाण पत्रका साथै नगद ५० हजार, २५ हजार र १० हजार, युगलतर्फ २०, १० र ५ हजार प्राप्त गर्नेछन् । यस्तै यु– १७ तर्फ छात्र तथा छात्रा दुवै तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, ७ हजार र ५–५ हजार नगदसहित मेडल, प्रमाणपत्र, ट्रफी प्राप्त गर्नेछन् । यसै गरी भेट्रान्सतर्फ विजयी शीर्ष तीन स्थानकाले मेडल, ट्रफी तथा प्रमाणपत्रका साथै खेलकुद सामग्री प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा करिब २ सय खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएका छन्।
प्रकाशित: १४ कार्तिक २०७५ ००:२० बुधबार