coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डा. श्रेष्ठ भ्रष्टाचारी ठहर

काठमाडौं – विशेष अदालतले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठलाई सवा करोड रूपैयाँ बिगोसहित एक वर्ष कैद सजाय सुनाउँदै भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरेको भन्दै मंगलबार भ्रष्टाचारी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन २ मा एक करोड ६७ लाख रुपैयाँ मागदाबीसहित उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । श्रेष्ठले क्यान्सर अस्पताल भरतपुरमा अध्यक्ष भएर काम गर्दा पदको दुरुपयोग गरी सम्पत्ति कमाएको भन्दै अख्तियारले विशेषमा आरोपपत्र दर्ता गरेको थियो । मुद्दा दर्ता गरेको तीन वर्षपछि विशेषले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहरसहितको फैसला सुनाएको हो।

अदालतले श्रेष्ठले १ करोड १८ लाख भ्रष्टाचार गरेको ठहराएको हो । अख्तियारले माग दाबी गरेभन्दा ४९ लाख रुपैयाँ कम गर्दै विशेषले यस्तो ठहर गरेको हो । श्रेष्ठको आयस्रोत समेत जोडेर माग दाबी गरेको देखिएको भन्दै १ करोड १८ लाख रूपैयाँमात्र अनियमित रुपमा कमाएको ठहर भएको अदालतको फैसलामा उल्लेख छ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठले पदको दुरुपयोग गरी १ करोड १८ लाख रूपैयाँ कमाएको विशेष अदालतको फैसला।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा आयोगको ऐन, २०४८ को दफा २९ बमोजिम सम्पत्ति जफत गरी राज्यकोषमा दाखिला गर्न आरोपत्रपमा माग दाबी गरिएको थियो । अकुत सम्पत्ति कमाउन सघाएको भन्दै उनकी पत्नी शीलु श्रेष्ठलाई समेत जोडेर अख्तियारले आरोपपत्र दर्ता गरेको थियो । उनकी पत्नीलाई भने विशेष अदालतले सफाइ दिएको छ । शीलुले क्यान्सर अस्पतालमै फुड एन्ड न्युट्रेसन अफिसरका रूपमा काम गरेकी थिइन्।

२०५४ सालमा डा. श्रेष्ठ विशेषज्ञ चिकित्सकका रुपमा क्यान्सर अस्पतालको सेवा प्रवेश गरेका थिए । उनले १८ वर्षसम्म क्यान्सर अस्पतालमा काम गरेका थिए । लामो समय एकैस्थानमा बसेर काम गर्दा उनी अकुत सम्पत्ति जोड्न सफल भएका थिए । अख्तियारको अनुसन्धानमा श्रेष्ठको नाममा विभिन्न बैंकमा १३ वटा खाता भेटिएका थिए।

क्यान्सर विशेषज्ञ श्रेष्ठले २०६४ भदौदेखि २०६७ सालसम्म अस्पतालको कार्यकारी निर्देशक बनेर पनि काम गरेका थिए । उनले घर बनाउन ४४ लाख ५४ हजार रूपैयाँ खर्च गरेको भेटिएको थियो । उनले जग्गामा ६५ लाख ८५ हजार खर्च गरेको बताएका थिए । उनको भरतपुरका निजी स्वास्थ्य संस्था, सामुदायिक अस्पताल, चितवन अस्पताल प्रालि, नेपाल पोलिटेक्निकल इस्टिच्युटलगायतमा शेयर लगानी छ । उनी २०६९ साल भदौमा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेका थिए।

प्रकाशित: १३ कार्तिक २०७५ १५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App