७ वैशाख २०८१ शुक्रबार
राजनीति

सडक अवरुद्ध गर्नेलाई कारबाही गर्नुस् : मुख्यमन्त्री पौडेल

फाइल तस्बिर

मकवानपुर - तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सडक अवरुद्ध गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा भएको सरोकारवालासँगको छलफलमा उनले बिभिन्न बहानामा सडक सञ्चालनमा अवरोध भएको भन्दै सडक निर्वाध रुपमा सञ्चालन गर्न निर्देशन दिए।

छोटो दुरीको हेटौंडा–सिस्नेरी–काठमाडौं सडक केही दिनदेखि अवरुद्ध गर्नेलाई कारबाही गरिने बताउँदै उनले शुक्रबारबाट सडक सुचारु गराउन सम्बन्धीत निकायलाई निर्देशन दिए। सडक साँघुरो र सवारी चाप बढी भएका कारण जोरविजोर प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए।

भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले सडकमा कसैले अवरोध गर्न नहुनेमा जोड दिदै बैकल्पिक मार्ग सञ्चालन गरे सहजता हुने बताए।

छलफलबाट फाखेल र सिस्नेरीहुँदै सञ्चालन हुने हेटौडा–काठमाडौं सडकमा जोरबिजोर प्रणाली लागू गर्नेसहित ३ निर्णय समेत गरिएको छ। सार्वजनिक सुमोको हकमा हेटाैडा–फाखेल–काठमाडौं रुटमा जोर बार जोर नम्बरका सुमो र हेटौडा–सिस्नेरी–काठमाडौं रुटमा बिजोर बार बिजोर नम्बरका सुमो सञ्चालन गर्ने निर्णय भएको छ।

त्यसैगरी, यातायात सहजताका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी कार्यालय काठमाडौंसँग आवश्यक समन्वय गरी निर्णय कार्यान्वयन गराउने समेत निर्णय भएको छ। साथै, सडकका ठेक्काहरु प्रदेश सरकारमा हस्तान्तरण भई नसकेको अवस्थामा सडक डिभिजन कार्यालय काठमाडौं र मकवानपुरले निर्माण कार्यको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई ३ दिन भित्र सम्पर्कमा आई आवश्यक मर्मत गरी यातायात सुचारु हुन सक्ने अवस्थामा ल्याउन पत्राचार गर्ने पनि निर्णय भएको छ।

संघीय सरकार मातहत रहेको दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडक खण्डमा नेपाल सरकारबाट सम्झौता भई चालु रहेका ठेक्काहरु आवश्यक प्रक्रिया पुरा गरी सम्बन्धित सडक डिभिजन कार्यालयहरुबाट प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले बुझ्ने व्यवस्था मिलाउने पनि छलफलबाट निर्णय गरिएको छ।

प्रकाशित: १३ कार्तिक २०७५ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App