८ वैशाख २०८१ शनिबार
समाज

भूकम्पपछिकाे पुनर्निर्माण : ५३ हजार परिवार तिहार र ल्होसार नयाँ घरमा मनाउँदै

सिन्धुपाल्चोक - महत्वपूर्ण चाड दसैँ मनाइसकेपछि सिन्धुपाल्चोकका भूकम्पपीडित पुनः आवास पुनर्निर्माणमै सक्रिय भइरहेका छन्। नजिकै अाइरहेकाे अर्को पर्व तिहार र बर्खामा लगाएकाे बाली भित्र्याउने समयमा समेत उनीहरु पुनर्निर्माणमै होमिएका छन्। 

सर्वाधिक क्षतिग्रस्त जिल्ला भएकाले पीडितलाई विश्राम लिने छुट छैन। आफ्नो घर ठड्याउँदै छिमेकीलाई समेत सघाउनु उनीहरुको कर्तव्य र बाध्यता बनेको छ। त्यसैले पूर्वी सीमा नाका तातोपानीदेखि पश्चिमी पर्यटकीय गाउँ हेलम्बुसम्मै पुनर्निर्माणको चटारो छ। साढे दुई वर्षअघि सरकारले थालनी गरेको पुनर्निर्माण अभियान पीडितले धर्मराउन दिएका छैनन्, बरु यसलाई दिनानुदिन तीव्र बनाएका छन्। 

‘आफ्नो मात्र घर बनाएर भएन नि’ छिमेकीको घर निर्माणमा सघाइरहेकी साँगाचोकस्थित भीमटार माझी गाउँकी ४४ वर्षीया सुकुमाया माझीले भनिन्, ‘छिमेकीको छहारीमा बसेपछि उनीहरुलाई पनि सघाउनै पर्यो।’ भूकम्पपछिका तीनवटा चाडवाड अस्थायी टहरोमा मनाएको उनको परिवारले यो पल्टको दसैँको उमंगलाई आफ्नै नवनिर्मित घरमा भित्र्यायो। 

६० प्रतिशत पीडितले पुनर्निर्माण सक्दा अधिकांशले भूकम्पपछि पहिलो पटक आफ्नै नयाँ घरमा दसैँ मनाए। उनीहरु नजिकिदै गरेको तिहार, ल्होसार लगायतका चाडवाडको उमंगसमेत नयाँ घरमै भित्र्याउने तयारीमा छन्।

आलोपालोमा पुनर्निर्माणमा जुटिरहेका पीडित आफ्नो घर बनिहाल्यो भनेर पन्छन पाउने अवस्थामा छैनन्। आफन्त, टोलछिमेक र सिंगै बस्ती उठाउने जिम्मेवारी पीडितकै थाप्लोमा छ। त्यसैले उनीहरु चाडबाड, बालीनाली भित्र्याउने मेलो लगायत समस्या देखाएर बाहानावाजी गर्ने छुटमा छैनन्। पुनर्निनिर्माण अन्तिम चरणमा पुर्याएका मार्मिङ गाउँका मानकाजी श्रेष्ठ नजिँकिदो तिहार नयाँ घरमा मनाउने तयारीमा छन्। ‘रंगरोगन र बत्तीको काम सकेपछि घर छिर्न पाउँछौँ,’ झ्याल, ढोकाको काम गरिरहेका उनले भने। गाउँमा एकै पटक पुनर्निर्माण लहर सुरु भइ कामदार अभाव हुन जाँदा यो दसैँ आफ्नै घरमा मनाउने सपना पूरा नभएको खिन्नता उनले सुनाए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (अुनदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार/जिमाली) का निमित्त आयोजना व्यवस्थापक भरतकुमार थापा पुनर्निर्माणले गति लिएको बताउँछन्। ‘पक्की संरचनाको आवश्यकता र जसरी पनि घर बनाउनै पर्ने भन्ने बुझेपछि अब ढिला नगरौँ भन्ने मानसिकता पीडितमा देखियो,’ जिल्लाको पुनर्निर्माणमा सन्तुष्टि जनाउँदै उनले भने।

जिमालीको पछिल्लो तथ्यांक अनुसार सिन्धुपाल्चोकमा ५३ हजार घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ। तेस्रो किस्ता वितरण तीव्र पारिएकाले यो संख्या दिनप्रतिदिन बढिरहेको व्यवस्थापक थापा बताउँछन्। ७५ हजार पीडितले दोस्रो किस्ता पाइसकेका आधारमा थप २२ हजारभन्दा बढी घर निर्माण अन्तिम चरणमा पुगेका छन्। गैरजिल्लाका नागरिकसहित दैनिक ५० हजारभन्दा बढीको जनशक्ति सिन्धुपाल्चोककाे पुनर्निर्माणमा जुटिरहेको प्राविधिकहरुले अनुमान लगाएका छन्।

६० प्रतिशत पीडितले पुनर्निर्माण सक्दा अधिकांशले भूकम्पपछि पहिलो पटक आफ्नै नयाँ घरमा दसैँ मनाए। उनीहरु नजिकिदै गरेको तिहार, ल्होसार लगायतका चाडवाडको उमंगसमेत नयाँ घरमै भित्र्याउने तयारीमा छन्।

प्रकाशित: १३ कार्तिक २०७५ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App