८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

श्रीलंकामा नयाँ मन्त्रिपरिषद् गठन

फाइल तस्बिर

कोलम्बो– श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराएका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो।

नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको कार्यभार राजापाक्ष स्वयंले लिएका छन् भने विदेश मन्त्रीको कार्यभार सरथ अमुनगुमालाई दिइएको छ। यसबाहेक, पूर्व सरकारमा राष्ट्रपति सिरिसेनाका समर्थकका रुपमा सहभागी रहेका केही मन्त्रीहरुले पुरानै जिम्मेवारी पाएका छन्।

यहीबीच, संसदमा बहुमत रहेको दाबी गर्दै पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेले जतिसक्दो चाँडो संसदको बैठक आह्वान गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीबाट आफूलाई अपदस्थ गरिएको भन्दै उनले आफ्ना समर्थकलाई कोलम्बोमा बुधबार भेला हुन आह्वान गरेका छन्।

कूल २२५ सदस्यीय संसदमा १२६ जना सांसदले हस्ताक्षर गरी संसदको बैठक जतिसक्दो चाँडो आह्वान गर्न सभामुखसँग आग्रह गरेका छन्। सभामुखले एक चेतावनी पत्र जारी गर्दै तत्काल संसदको आपतकालीन बैठक नबसे मुलुकमा हिंसात्मक परिस्थिति सिर्जना हुनसक्ने बताएका छन।

राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई शुक्रबार राति अपदस्थ गरी महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै श्रीलंकामा राजनीतिक तनाव बढेको छ। यो नाटकीय सत्ता परिवर्तनका कारण सत्तारुढ गठबन्धन श्रीलंका फ्रिडम पार्टी र युनाइटेड नेसनल पार्टीबीचको एकता पनि टुटेको छ।रासस 

 

प्रकाशित: १३ कार्तिक २०७५ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App