coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ढकमक्क फूल, तिहारको निम्तो

तस्बिरः भीम/नागरिक

इलाम – फूलैफूलको पर्व तिहार आउन अब डेढ साता मात्र बाँकी छ। दसैं सकिएपछि घर–घरमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दिन थालेझैं देखिन्छ।

तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु–भाइ पूजा गर्न, सयपत्री–मखमली फूल नै प्रिय मानिन्छन्। काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाई हुँदै गोवद्र्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ। लक्ष्मीपूजामा अघिल्लै दिनदेखि घर, सिकुवा, आँगन, बारदलीलगायत सबैतिर फूलले सिँगारेर चिटिक्क बनाइन्छ।

आधा दशकअघिसम्म गाउँ–गाउँमा सयपत्री ढकमक्क हुन्थ्यो। त्यसयता सयपत्री यतिसम्म मासिएको थियो कि, तिहारमा समेत भारतीय गाउँहरूबाट फूल ल्याएर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो इलामबासीलाई। तर, २ वर्षयता चाहिँ स्थानीयले सयपत्री र मखमली फूलको व्यावसायिक खेतीसमेत थालेका छन्। फूल बेचेरै तिहारको सिजनमा लाख रुपैयाँसम्म कमाउने किसान खोज्न अब टाढा जानुपर्दैन।

घर–घरमा सयपत्री फुलेपछि गाउँ–गाउँमा त्यसको बासना चल्ने र तिहारले छोपेझैं लाग्ने गरेको इलामका युवक सुनिल लिम्बू बताउँछन्। ‘जब सयपत्री ढकमक्क हुन्छ, तिहारको झल्को आइहाल्छ,’ उनले सुनाए, ‘मखमली र सयपत्री फूल घर सजाउनदेखि भाइटीकामा समेत प्रयोग हुने भएकाले यी फूल फुल्दा चाहिँ तिहारै आएझैं लाग्छ। प्रायः सबैले घरको फूलबारीमा मात्र फुलाउने सयपत्रीलाई इलाम नगरपालिका–१० गोदकका किसानले भने व्यवसाय नै बनाएका छन्। स्थानीय गीता गोलेले घरपरिपरि व्यावसायिक रूपमा खेती गरेको सयपत्री तिहारको बेला बेच्न तयार हुनेछ। ‘कुकुर तिहार र लक्ष्मीपूजाको दिन सयौं गुच्छा सयपत्री बेच्छौं,’ उनले भनिन्, ‘मेची राजमार्ग नजिकै भएकाले फूल बेच्न अन्यत्र जानुपर्दैन।’

२५ हजार रुपैयाँ लगानी गरेर गर्लिन ओरेन्ज जातको सयपत्री लगाएकी गीताले ७० हजारदेखि लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरेकी छिन्। ‘पोहोर सयपत्रीबाट ५० हजार रुपैयाँ कमाइ भएको थियो,’ उनले भनिन्, ‘यो पटक खेती बढाएकाले आम्दानी बढ्छ।’ १ हजार ७ सय बोट सपयत्री रोपेकी उनले ३०–३५ थुँगा रहेको गुच्छा सय रुपैयाँसम्ममा विक्री हुने बताइन्।

गोदककै रमला गुरुङले पनि सयपत्री खेतीबाट बर्सेनि राम्रो आम्दानी लिइरहेकी छिन्। तिहारमा सयपत्री बेचेर लाख रुपैयाँभन्दा बढी कमाइ गर्ने गरेको उनको भनाइ छ। इलाम नगरपालिकाकी बुद्धमाया सोङ्मीले यो पटक मखमली फूलको व्यावसायिक खेती गरेकी छिन्। उनले उत्पादन गरेको मखमली तिहारको बेला बेच्न तयार हुँदैछ।

तस्बिरः भीम/नागरिक
तस्बिरः भीम/नागरिक
तस्बिरः भीम/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App