लन्डन (एएफपी) – म्यानचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा एभर्टनलाई २–१ ले पराजित गर्दै प्रशिक्षक जोजे माउरिन्होमाथिको दबाब कम गरेको दिन आइतबार चेल्सीले बर्नलीमाथि ४–० को सहज जितका साथ दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई पछि पारेको छ।
यता क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएसँगै आर्सनलको जारी सिजन सबै खाले प्रतियोगिता गरी ११ खेलको जितयात्रामा पूर्णविराम लागेको छ। तर आइतबार भएका खेलको नतिजाभन्दा पनि शनिबार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका लेस्टर सिटीका मालिक भिचाई श्रीभाडाहानाप्रभाको घटनाले सबैको नतिजा छायामा पारिदिएको थियो।
युनाइटेड र एभर्टनको खेल हेर्न गत जुलाईमा थाइल्यान्डको एक गुफाबाट उद्धार गरिएका १२ जना बालकहरू ओल्ड ट्राफोर्डमा उपस्थित भएका थिए।
गत साता च्याम्पियन्स लिगमा युभेन्ट्सलाई १–० को नतिजा सुम्पिएसँगै माउरिन्हो पुन एक पटक दबाबमा परेका थिए। तर मिडफिल्डर पाउल पोग्बा र एन्थोनी मार्सियाले समान एक गोल गरेपछि माउरिन्होमाथिको संकट केही समयका लागि पर धकेलिएको थियो।
२७औं मिनेटमा पोग्बाले पेनाल्टीमा गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो। आफैंले गरेको पेनाल्टी प्रहार एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले रोक्दा रिबाउन्डमा प्राप्त बललाई पोग्बाले जाली चुमाएका थिए। ४९औं मिनेटमा मार्सियालले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए।
खेल सकिन १३ मिनेट बाँकी हुँदा गिल्फी सिगुर्डसनले गरेको गोलमा एभर्टनले खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त भए।
यस जितपछि १० खेलमा १७ अंक जोडेको युनाइटेड आठाैं स्थानमा छ भने समान खेलमा १५ अंकका साथ एभर्टन नवौं स्थानमा छ । २६ अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ भने २४ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ । एक खेल कम खेलेको सिटी २३ अंकका साथ तेस्रो स्थानमा छ भने २२ अंक जोडेको आर्सनल चौथो र २१ अंकका साथ टोटेनह्याम पाँचौं स्थानमा छन्।
स्ट्राइकर इडेन हाजार्ड चोटका कारण अनुपस्थित रहे पनि चेल्सीले बर्नलीमाथि सहज जित पक्का गर्दै लिभरपुलसँगको दूरी २ अंकमा झारेको हो।
चेल्सीको सहज जितमा अल्भारो मोराटा, रोज बार्कली, विलियान र रुवेन लोफ्टस–चिकले समान एक गोल गरेका थिए।
माउरिसियो सारीले प्रशिक्षण सम्हालेपछि चेल्सीले अपराजित यात्रालाई कामय राख्दै आएको छ।
‘हामी सुरुआती १० मिनेटमा दबाबमा थियौ किनभने बर्नलीले आक्रमक सुरुआत गरेको थियो,’ सारीले भने, ‘तर हामीले क्रमिक रूपमा सुधारिएको प्रदर्शन गर्दै खेल पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भयाैं। अन्तत सहज नतिजा आयो।’
आर्सनलले लगातारको जित यात्रापछि उपाधि सम्भावना कायम राखेको थियो । यद्यपि आइतबार कमजोर रक्षापंक्तिका कारण आर्सनल प्यालेससँग अंक बाँड्न बाध्य भएको थियो।
युनाइटेड र एभर्टनको खेल हेर्न गत जुलाईमा थाइल्यान्डको एक गुफाबाट उद्धार गरिएका १२ बालकहरू ओल्ड ट्राफोर्डमा उपस्थित भएका थिए।
प्रकाशित: १३ कार्तिक २०७५ ०६:०१ मंगलबार