७ वैशाख २०८१ शुक्रबार
अर्थ

पाहुना स्वागतमा व्यस्त छन् अन्नपूर्ण पदमार्गका होटल

अन्नपूर्ण पदमार्गमा पर्यटक। तस्बिर : सिद्धराज/नागरिक

मनाङ - कालापत्थरको फेदमा रहेको मनाङको ढिकुरपोखरीमा साना र ठूला गरेर पाँचवटा होटल छन्। ती होटलका सञ्चालकलाई यतिबेला बोल्ने फुर्सद छैन। हरेक दिन विहानदेखि रातिसम्म पर्यटकको स्वागत–सत्कार गर्दैमा बित्छ। पर्यटकको लागि अर्डरको खाना बनाउँदै गरेका होटल व्यवसायी समिरबाबु घले भन्छन्, ‘राम्रो बोल्न र गफिनको लागि अफ सिजनमा आउनुपर्छ ।’ उनले भने जस्तै पर्यटकबाहेक अरुसँग कुरा गर्न निकै मुस्किल थियो।

मनाङ होटल व्यवसायी संघका अध्यक्ष एवं होटल यतिका सञ्चालक विनोद गुरुङको भनाइ अनुसार सिजनमा नै हो कमाइ गर्ने । पर्यटक आउने सिजन सकिएपछि यहाँका होटल सबै खाली हुन्छन् । मान्छे फुर्सदिला हुने गुरुङले बताए । गएका पाँच वर्षमध्ये यस वर्ष पर्यटक संख्या बढेपछि अन्नपूर्ण पदमार्गको बेसीसहरदेखि खाङसारसम्मका करिब सयवटा होटल भरिभराउ भएको अध्यक्ष गरुङले बताए । ४० जना क्षमताको आफ्नो होटल सधैंजसो भरिभराउ हुने गुरुङले बताए।

हरेक वर्ष जनवरीदेखि अप्रिलसम्म र अक्टोबरदेखि नोभेम्भरसम्म पैदल यात्राका लागि उपयुक्त मौसम मानिन्छ । यो अवधिमा नेपाली र विदेशी पर्यटक उल्लेख्य आउँछन् । यो वर्ष दैनिक दुई सयभन्दा बढी पर्यटक अन्नपूर्ण पदयात्रामा गइरहेका बेसीसहरस्थित पर्यटक सूचना व्यवस्थापन सिस्टम (टिम्स) पर्यटक जाँच कार्यालयको रेकर्ड रहेको छ । बाह्य पर्यटकसँगै आन्तरिक पनि सो क्षेत्रमा गएकाले पैदलमार्ग, सवारी साधन र होटलमा घुइँचो लागेको होटल रोयल माउन्टेनका सञ्चालक नविन गुरुङले बताए।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेसीसहरबाट मनाङ सदरमुकाम चामे, उपल्लो मनाङ हुँदै करिब ५४ सय १६ मिटर उचाइको हिमाली भञ्ज्याङ थोराङ्ला पार गर्दै मुस्ताङको मुक्तिनाथ, जोमसोमसम्मको चक्रीय यात्राको लागि पर्यटक आउने गर्छन् । सबैजसो बाह्य पर्यटकको थोराङ्ला भञ्ज्याङ पार गर्ने लक्ष्य हुन्छ । थोराङ्ला पार गरेको दिन उनीहरुले भव्य रुपमले खुसीयाली मनाउँछन् । दसैंअघिदेखि नै सोचेभन्दा बढी संख्यामा पर्यटकको चाप थियोे । दसैंको टिकालगत्तै आन्तरिक पर्यटकको चाप बढेको छ । मनाङ सदरमुकाम चामेका होटल व्यवसायी बासु थापाको भनाइमा ग्राहकलाई कोठा उपलब्ध गराउनै मुस्किल परेको छ । हिजोआज विदेशीसँगै स्वदेशी पर्यटक पनि आउने भएकाले कोठा दिन हम्मे–हम्मे परेको थापाले बताए।

बेसीसहरबाट जिपमा एकै दिनमा सिधै माथिल्लो मनाङसम्म पुग्न सकिने भएकाले पर्यटकको चाप सोचेभन्दा बढ्दै गएको हो । यो वर्ष मौसम निकै राम्रो छ । बेसीसहरदेखि मनाङको चामे र थोराङ्ला भञ्ज्याङ हुँदै मुक्तिनाथसम्म पुग्दा देखिने मनोरम दृश्यले पर्यटकलाई लोभ्याएको छ । असोजको २५ गते मनाङको ढिकुरपोखरी पुगेका फ्रान्सेली नागरिक जिरोनले अन्नपूर्ण पदमार्गमा निकै रमाएको बताए । हिमाल र अग्ला पहाड हेर्न पाइने यो क्षेत्र संसारकै सुन्दर भएको उनले बताए।

बेसीसहरको पर्यटक सूचना व्यवस्थापन सिस्टम (टिम्स) पर्यटक जाँच कार्यालयको तथ्यांक अनुसार पाँच वर्षको तुलनामा यस वर्ष यस क्षेत्रमा आउने पर्यटक संख्या बढेको हो । सन् २०१४ मा १६ हजार आठ सय १२ पर्यटक अन्नपूर्ण पदयात्रा मार्गमा आएको टिम्स कार्यालयको तथ्यांकले देखाएको छ । त्यस्तै, २०१५ मा ११ हजार ६९ जना, २०१६ मा १७ हजार आठ सय ७० जना, २०१७ मा २१ हजार तीन सय ४५ जनाले अन्नपूर्ण पदायात्रा मार्गको भ्रमण गरेकोमा यस वर्ष अक्टोबर तेस्रो सातासम्म १९ हजार दुई सय ५९ जनाले भ्रमण गरेको बेसीसहरस्थित टिम्स कार्यालयका प्रमुख नन्दराज भट्टले बताए।

गाडीमा जाँदा एकै दिनमा माथिल्लो मनाङ पुगे पनि पैदाल हिँड्ने पर्यटक बेसीसहरबाट ६ दिनमा पुग्छन् । बेसीसहरबाट हिँडेको दिन ङादी र च्याम्चेमा पहिलो बास पर्छ । त्यसपछि तालगाउँ, धारापानी, चामे, पिसाङ, हुम्दे मनाङ र अन्तिम बास खाङसारमा हुन्छ । खाङसारबाट तिलिचो ताल र थोराङ्ला भञ्ज्याङ जाने पर्यटक छुट्टिने गरेको पर्यटन व्यवसायीले बताए।

पछिल्लो समयमा नेपालको पर्यटन उद्योगबारे सकरात्मक सन्देश प्रवाह भएको छ । फलस्वरुप पर्यटक संख्या बढिरहेको छ । त्यसैले व्यवस्थित होटल र सेवाको गुणस्तरमा समेत सुधार हुँदै गएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य एवं बेसीसहरका होटल व्यवसायी रामकुमार श्रेष्ठले बताए।

टिम्स कार्यालयका अनुसार अन्नपूर्ण पदमार्गमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी फ्रान्सेली छन्। जर्मन, पोल्यान्ड, अस्ट्रेलिया, इजरायल, स्पेन, रसिया, चेक रिपब्लिक र अमेरिकाबाट पनि ठूलै संख्यामा पर्यटक आएका छन् । एसियाको थाइल्यान्ड, कोरिया, जापान र चिनियाँ पर्यटक पनि आएका छन्।

प्रकाशित: १३ कार्तिक २०७५ ०५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App