coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

११ करोडको फूल आयात, निर्यात दुई करोडको

काठमाडौं - मुलुकमा फूल उत्पादनको ठूलो सम्भावना हुँदाहुँदै पनि वार्षिक करोडौं रुपैयाँको आयात हुने गरेको छ। गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालमा ११ करोड रुपैयाँ बराबरको फूल आयात भएको छ। निर्यात दुई करोडमा सीमित छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार गत आव २०७४÷०७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात र दुई करोड ३७ लाखको निर्यात भएको छ। संघका वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले मुलुकमा पुष्प उत्पादनको सम्भावना हुँदाहुँदै पनि चुनौतीहरु रहेको बताए।

‘समग्रमा पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत हाराहारीमा छ,’ उनले भने, ‘यसलाई बढाउन विद्यमान समस्या समाधान गर्नु आवश्यक छ।’

संघका अनुसार मुलुकमा लगभग एक सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प खेती छ। त्यसैगरी, यस व्यवसायमा ४३ हजार पाँच सयभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न छन्। यस व्यवसायले गत आव २०७४/०७५ मा जम्मा एक अर्ब ८६ करोड ७२ लाखको कारोबार गर्न सफल भएको संघले जानकारी गराएको छ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार यस व्यवसायमा औपचारिक रुपमा ६ सय ९७ व्यवसायी संलग्न छन् भने मुलुकका ४३ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ।

६५ वर्षदेखि सामान्य रुपमा व्यवसाय सुरु भएकोमा यो अहिले मुलुकभर फैलिएको संघले जनाएको छ। मुलुकमा सहरीकरणको विकास तथा विस्तारसँगै काठमाडौं उपत्यकासहित पोखरा, नारायणगढ, हेटौंडा, विराटनगर, धरान, बुटवल, धनगढी लगायत सहरहरुमा फैलिएको छ।

बिहीबारदेखि गोदावरी फूल प्रतियोगात्मक प्रदर्शनी
नजिकिँदो तिहार तथा छठलाई लक्ष्य गरी बिहीबारदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले कात्तिक १५ देखि १८ गतेसम्म जावलाखेल खेल मैदान, ललितपुरमा प्रदर्शनी गर्न लागेको हो।

बिहीबारको पत्रकार सम्मेलनमा आयोजकले समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउन प्रदर्शनी गर्न लागिएको जनाएको छ। ‘नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो,’ मेला संयोजक मीनबहादुर तामाङले भने।

प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प विकास केन्द्रको सहयोगमा एसोसिएसनले १२औं संस्करणको प्रदर्शनी गर्न लागिएको हो। ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ नारा बोकेको मेलामा व्यावसायिक स्टल ४४, सूचनामूलक तीन र गोदावरी फूलको प्रतिस्पर्धात्मक एकसहित जम्मा ४८ वटा प्रदर्शनी कक्ष रहने छन्। मेलाको आकर्षणको रुपमा गोदावरी फूलको विभिन्न नयाँ प्रजातिको प्रदर्शनी तथा बिक्री वितरण हुने आयोजकले जनाएको छ । सयपत्री, मखमली तथा अन्य फूल बिरुवा समेत प्रदर्शनीमा समावेश हुनेछन्।

पुष्प व्यवसायीलाई हौसला प्रदान गर्ने र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु¥याउनु प्रदर्शनीको उद्देश्य रहेको आयोजकले जनाएको छ। गोदावरी फूलको विविध जाति, प्रजातिमध्ये यस प्रदर्शनीमा मुख्यतः स्पाइडर, मिनिएचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावरलाई प्रतियोगितामा समावेश गरि प्रतिस्पर्धा गराइने छ। प्रतिस्पर्धामा समावेश भएका नर्सरीलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरी सिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ।

मेला ३६ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र ४५ लाख रुपैयाँ बराबरको व्यावसायिक कारोबार हुने अपेक्षा आयोजकको छ।

प्रकाशित: १३ कार्तिक २०७५ ०५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App