coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

मानवमा ब्याक्टेरियाको प्रभाव

ब्याक्टेरियालाई रोगको उद्गम ठानिन्छ । क्षयरोग, म्यानेन्जायटिस जस्ता भयानक रोगका कारक भएकाले ब्याक्टेरियाको नाम सुन्नेबित्तिकै मानिसमा त्रास पैmलन्छ । तर, के सूक्ष्म जीवाणु भन्दा नै आत्तिनुपर्ने अवस्था छ त?

शरीरमा झण्डै ३०० खरब मानवीय कोष (सेल) हरू हुन्छन् भने स्वस्थ मानिसमा करिब ३ हजार खराब सूक्ष्म जीवाणुहरू हुन्छन् । ह्युमन सेलभन्दा दश गुणा अधिक संख्यामा ब्याक्टेरियाहरू रहने भए पनि सूक्ष्म जीवाणुको आकार मानवीय कोषको तुलनामा निकै साना हुने भएकाले हाम्रो तौलको सालाखाला एक प्रतिशत मात्र किटाणुको हिस्सा हुन्छ।

निरोगी मानिसमा समेत यति धेरै ब्याक्टेरिया हुनुलाई प्रारम्भमा असामान्य मानियो र त्यसको कारक खोज्नु विज्ञानको कर्तव्य भयो । सूक्ष्म जीवाणुले मानव स्वास्थ्यमा के प्रभाव पार्छ त भनी अध्ययन गर्न÷गराउन संयुक्त राज्य अमेरिकाको न्यासनल इन्स्टिच्युट अफ् हेल्थ (एनआइएच) तम्तयार भयो, तदनुरूपको आर्थिक विनियोजन भयो । युरोप लगायत संसारका धनी देशहरूले समेत त्यस्तै अनुसन्धानमा धेरै रकम खर्चिए।

आणुवंशिक पदार्थ, डिएनएको बनोटमा समस्या भएको अवस्थामा मानिसमा रोगका लक्षणहरू देखापर्नु अस्वाभाविक भएन । तर, आणुवंशिक पदार्थ विश्लेषण गर्दा रोग नलाग्नुपर्ने मानिस संगीन प्रकृतिको बिरामी भएको पाइयो भने डिएनएको बनोटले रोगी हुनुपर्ने मानिस स्वस्थ देखियो । उदाहरणका लागि डिएनए तथा आहारविहारको आधारमा चिनी रोगले थलिनुपर्ने मानिसमा डाएबेटिजको कुनै पनि लक्षण नदेखिनु अनि अणुवंशिक पदार्थको आधारमा क्यान्सरले थलिनुपर्ने मानिस समस्यारहित देख्दा अनुसन्धानकर्तालाई असहजता महसुस हुनु अन्यथा भएन।

कारक र परिणामका बीच तालमेल खोज्नु वैज्ञानिकहरूको धर्म हो । फिङ्गर प्रिन्टको रूपमा रहने डिएनए र व्यक्तिको स्वास्थबीच किन तालमेल भएन त भनी उत्खनन गर्दा धेरै अनुसन्धानले मानिसका शरीरमा रहने असंख्य सूक्ष्म जीवाणुहरूले मानिसको स्वास्थ्यलाई अणुवंशिक पदार्थले निर्दिष्ट गरे भन्दा अर्को धारमा लगेको देखियो । डिएनएका दशकौँदेखि स्थापित जड मान्यताहरू भत्किएको पाइयो । त्यसैले शरीरमा रहेका असंख्य जीवाणुहरूको समूहलाई मुटु, फोक्सो जस्तै स्वतन्त्र अंगका रूपमा मान्नुपर्ने र तदनुरूपको उत्खनन गरिनुपर्ने ठानियो । स्वस्थ मानिसमा रहने सूक्ष्म जीवाणुको समूहलाई माइक्रोबायोम भनियो । यसरी महत्वपूर्ण संयन्त्रका रूपमा रहेको माइक्रोबायोममा आधारित अनुसन्धान तथा भविष्यका सम्भावित परिणामको विश्लेषण यो लेखको लक्ष्य रह्यो।

के कस्ता जीवाणुले शरीरमा डेरा जमाउँछ भन्ने पत्ता लगाउन सयौँ स्वस्थ महिला तथा पुरुषका शरीरका भिन्न अंगको सूक्ष्म अध्ययन सुरु गरे वैज्ञानिकहरूले । उक्त अध्ययनले हट्टाकट्टा मानिसमा शरीरको कुनै पनि भाग ब्याक्टेरियाविहीन देखेन । छाला, ज्ञानेन्द्रिय, जनेन्द्रिय लगायत शरीरका सम्पूर्ण भाग ब्याक्टेरियाले छोपेको पाइयो । त्यति मात्र होइन, व्यक्ति नै पिच्छे ब्याक्टेरियाको प्रकृति फरक फरक देखियो । एकै मानिसको भिन्न भिन्न अंगमा रहने ब्याक्टेरियाका बीच समेत आनका तानको विविधता पाइयो । हानिकारकदेखि लाभदायक ब्याक्टेरियाको घर देखियो स्वस्थ मानिसको शरीर । यद्यपि एउटा निरोगी व्यक्तिमा खराब ब्याक्टेरियाको तुलनामा लाभदायक किटाणुको संख्या अत्यधिक पाइए । संगीन रोगका ब्याक्टेरिया समेतको उपस्थिति देखिए पनि स्वस्थ मानिसमा ती खराब जीवाणुहरू निस्तेज देखिए, रोगका लक्षण देखिएन।

शरीरमा घातक ब्याक्टेरिया पनि भए किन मानिसलाई रोग लाग्दैन त भन्ने सम्बन्धमा वैज्ञानिकहरूको निष्कर्ष अनौठो रह्यो । चोर, डाँका, लफंगा लगायत सज्जन मानिसहरू रहेको एउटा सहर समष्टिगत रूपमा शान्त रहनुमा सामाजिक सन्तुलनको भूमिका रहेभैmँ भिन्न भिन्न प्रकारका ब्याक्टेरियाहरूले बास गरे पनि उनीहरूका बीचको जैविक सन्तुलन कायम रहुन्जेल मानिसमा रोग नलाग्ने ठहर गरे अनुसन्धानकर्ताहरूले । खराब र असल सूक्ष्म जीवाणु बीचको सन्तुलन नबिग्रुन्जेल शरीरमा घातक जीवाणुको बोलवाला नहुने र मानिस स्वस्थ हुने देखियो । लाखौँ जनसंख्या भएको सहरमा दुईचार गुण्डाको प्रभाव नदेखिएझैं असंख्य मात्रामा रहेका राम्रा ब्याक्टेरियाका माझ खराब जीवाणु निष्प्रभाव रहनु अन्यथा भएन । तर, कदाचित राम्रा ब्याक्टेरियाको संख्या एक्कासि घटेमा खराब किटाणु क्रियाशील हुने र मानिसमा रोग लाग्नसक्ने देखियो । त्यसैले त्यस्तो अवस्थामा बाह्य संक्रमणको जरुरी पर्दैन बरु शरीरमा रहेका झिनो संख्यामा रहेका घातक ब्याक्टेरियाहरू नै व्यक्तिलाई रोगी बनाउन पर्याप्त हुन्छन्।

भिन्न भिन्न स्थानका बासिन्दामा पाइने जीवाणुहरू समेत निकै पृथक् देखिए । त्यस्तै, एकै टोलका कुकुर पाल्ने घर र बिरालो पाल्ने भवनका मालिकमा पाइएका ब्याक्टेरियाका प्रजातिहरू समेत निकै फरक देखिए । एन्टिबायोटिक्स सेवन गरेका बखत ब्याक्टेरियाको सन्तुलन बिग्रनु अन्यथा होइन तर सिटामोल खाएका बखत समेत सूक्ष्म जीवाणुको कम्पोजिसन फेरिएको पाइयो।

औँठाछाप जस्तै व्यक्ति नै पिच्छे ब्याक्टेरिया समूहको बनोट फरक हुने भएपछि के भविष्यमा फोरेन्सिक साइन्सले घटनास्थलमा पाइएका सूक्ष्म जीवाणुको विश्लेषणमार्पmत अपराधीसम्म पुग्न सक्छ त भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने भयो । त्यसै सन्दर्भमा एउटा अनुसन्धानमा मोबाइल फोनमा रहेको ब्याक्टेरियाको पहिचानमार्पmत दर्जनाँै मानिसका हातमा रहेका सूक्ष्म जीवाणु दाँजेर हकदारलाई फोन फिर्ता गर्न सफल भएको देखियो । प्रत्येक व्यक्तिको हातमा रहेका किटाणु फरक फरक हुने र त्यसको विश्लेषणमार्पmत व्यक्तिको पहिचान सहजै गर्न सकिने भएकाले भविष्यमा सूक्ष्म जीवाणुको अध्ययनलाई आपराधिक विज्ञानमा उपयोग गर्ने दिन टाढा रहेन।

शरीरको प्रत्येक भागमा सूक्ष्म जीवाणु रहने भए पनि पाचन प्रणालीमा रहने ब्याक्टेरियाले मानिसको स्वास्थ्यमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ । झन्डै ५ सय विभिन्न प्रकारका अर्बाैंका संख्यामा रहने ब्याक्टेरियाले मानिसको आन्द्रालाई झपक्क ढाकेको हुन्छ, जसलाई गट ब्याक्टेरिया भनिन्छ । सूक्ष्म जीवाणुको उक्त समूहमा ब्याक्टेरियाका अतिरिक्त भाइरस तथा फङ्गाई समेत रहन्छन् । वातावरण, खानपिन तथा आमाको गट ब्याक्टेरियाले कुनै पनि व्यक्तिको पाचन प्रणालीका सूक्ष्म जीवाणुको बनोट निर्धारण गर्ने भएकाले प्रत्येक व्यक्तिको गट ब्याक्टेरियाको बनोट फरक फरक हुन्छ।

कदाचित मानिसको पेटमा ब्याक्टेरिया नहुँदो हो त मानिसको अस्तित्व असम्भव हुन्थ्यो भन्छन् हार्वर्ड विश्वविद्यालयका प्राध्यापक कर्टिस हटेन्होभर । सूक्ष्म जीवाणुको अभावमा खाएको खानेकुरा पचाउने सामथ्र्र्य हाम्रो पाचन प्रणालीमा नरहेकाले आवश्यक पोषण पदार्थ अभाव हुने भएकाले त्यसो भनेका हुन् डा हटेन्होभरले । विभिन्न किसिमका प्रोटिन, कार्बोहाइड्रेटस् तथा चिल्लो पदार्थलाई शरीरले सजिलै सोस्न सक्दैन । शरीरमा पुग्नका लागि त्यस्ता क्लिष्ट पोषण पदार्थलाई सरल एकाइमा परिणत गर्नुपर्ने हुन्छ जुन काम आन्द्रामा रहेका सूक्ष्म जीवाणुले गर्छन् । खराब ब्याक्टेरिया मार्नका लागि एन्टिबायोटिक्स सेवन गरेका बखत हामीलाई खाना पचाउन गाह्रो हुनुको मुख्य कारण औषधि खाँदा पाचन प्रणालीका गट ब्याक्टेरियासमेत मर्नु नै हो।

खाएको खानालाई शरीरमा पु¥याउन मद्दत गर्ने जीवाणुले भिटामिन के तथा फोलिक एसिड लगायतका अन्य अत्यावश्यक पोषण पदार्थ उत्पादन गरी हामीलाई आपूर्ति गर्छ । अझ महत्वपूर्ण, रोगका कारकका रूपमा हेरिने ब्याक्टेरिया समूहमै पर्ने लाभदायक गट ब्याक्टेरियाले रोगसँग लड्न सक्ने हैसियत राख्ने प्रतिरक्षात्मक टि सेल तथा इम्युनोग्लोविन एलाई थप क्रियाशील बनाई हामीलाई रोग लाग्नबाट बचाउँछ।

एन्टिबायोटिक्स सेवन गरेका बखत पेटमा रहने महत्वपूर्ण सूक्ष्म जीवाणुसमेत मर्ने र त्यसले हाम्रो स्वास्थ्यमा दीर्घकालीन असर पर्ने भएकाले अत्यावश्यक नभईकन ओखती सेवन गर्न नहुने देखियो । एन्टिबायोटिक्स सेवन लगायतका कुनै कारणले गट ब्याक्टेरियाको सन्तुलन बिग्रिए प्रोबायोटिक्समार्पmत जिउँदा ब्याक्टेरिया सेवन गरी पेटमा सूक्ष्म जीवाणुको आपूर्ति गर्ने प्रचलन मेडिकल साइन्सको सामान्य प्रोटोकल नै भयो।

समाजमा उत्तिकै खाना खाँदा पनि एउटा मोटोघाटो अनि अर्को भने ख्याउटे देखिन्छ । आखिर त्यस्तो किन हुन्छ भनी कौतूहल हुनु अन्यथा होइन । त्यसो देखिनुमा समेत मुख्य भूमिका पेटका ब्याक्टेरियाको देखियो । गट ब्याक्टेरियाको बनोटले मानिसको पाचन प्रणालीमा प्रत्यक्ष असर पार्ने र प्रत्येक व्यक्तिमा रहने पेटका जीवाणुको प्रकृति फरक फरक हुने भएकाले मानिसले खाएको खाना भिन्न रूपले सूक्ष्म एकाइमा टुक्रन्छ अनि शरीरमा पुग्छ । अत्यधिक गट ब्याक्टेरिया भएको मानिसले खाएको खाना पूर्ण रूपले सरल एकाइका रूपमा परिणत हुने भएकाले उसको शरीरले अत्यधिक पोषण पदार्थ पाउँछ भने कम मात्रामा सूक्ष्म जीवाणु भएको व्यक्तिले न्यून पोषण पाउँछ । त्यसका अतिरिक्त केही व्यक्तिमा पाइने विशिष्ट ब्याक्टेरियाले सामान्यतः गाईबस्तुले मात्र पचाउन सक्ने रेसावाला खानालाई समेत सुपाच्य चिल्लो पदार्थमा रूपान्तरण गरी शरीरमा आपूर्ति गर्न सक्ने भएकाले ती मानिसहरू अत्यधिक मोटा हुन्छन्।

त्यही खानालाई समेत फरक फरक व्यक्तिले भिन्न भिन्न रूपले पचाउने भएकाले एउटा मोटो अनि अर्को दुब्लो हुनु अन्यथा भएन । मोटोपनको मुटुरोग तथा चिनी रोगसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले हिजोसम्म अणुवंशिक पदार्थको कैफियतले मात्र ती रोगहरू लाग्ने ठानिएकोमा गट ब्याक्टेरियाले समेत रोगको उत्पत्तिमा भूमिका खेलेको देखियो।

शरीरमा रहेका असंख्य ब्याक्टेरियामध्ये सीमित जीवाणु मात्र हानिकारक छन् । गट ब्याक्टेरियाको बनोटले व्यक्तिको स्वास्थ्यमा विशेष भूमिका देखियो । भविष्यमा शरीरका ब्याक्टेरियाको विश्लेषणले अपराध पहिचानमा मद्दत गर्ने ठानियो । गट ब्याक्टेरियाले मानव स्वास्थ्यमा खेलेको भूमिका हेर्दा पेटको सूक्ष्म जीवाणुको अध्ययनले आयुर्विज्ञानको क्षेत्रमा नयाँ आयाम थप्ने देखियो।

प्रकाशित: १३ कार्तिक २०७५ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App