६ वैशाख २०८१ बिहीबार
अन्य

खानेपानीका व्यवस्थित वितरण गर्ने तयारी गरेका छौं

राजेश खड्का, वडाअध्यक्ष, चाँगुनारायण नगरपालिका–१

तपाईँ जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो?
जनप्रतिनिधि भएर आएसँगै माछापोखरीदेखि संसगत पार्टीसम्म तीन सय मिटर सडक कालोपत्रे गरिसक्यौं । सानाधारादेखि खडाल ओरालोसम्म पनि साढे तीन सय मिटर सडक ढलान सम्पन्न गरेका छौं । सरस्वती मन्दिर वरपर तीन सय मिटर ह्युमपाइप ओछ्याएर ढल व्यवस्थित बनाएका छौं । समथली जाने बाटोमा रहेको कुलोमा एक सय ५० मिटरको पर्खाल लगाएका छौं । दोभान– खड्काटोल हुँदै वडा कार्यालय आउने २० मिटरको ट्रयाक खोलेका छौं । रूपाथलीबाट मदरावेशीसम्मको गोरेटो बाटालाई २० फिटे ट्रयाक खोलेर सवारी साधन चल्ने बनाएका छौं।

तपाईँको वडामा खानेपानीको हाहाकार छ, कसरी खानेपानीको व्यवस्थापन गर्दै हुनुुहुन्छ?
वडामा खानेपानीको समस्या देखिएको छ । माग अनुसारको खानेपानीको पर्याप्त आपूर्ति गर्न नसक्दा वडामा खानेपानीको समस्या भएको हो । वडामा खानेपानीका पर्याप्त स्रोत र स्टोरेज गर्ने टयाङ्की नहुँदा खानेपानीको समस्या देखिएको हो । वडामा नयाँ वस्ती बिस्तार भएसँगै खानेपानीको समस्या बल्झिँदै गइरहेको छ । सरकारले केही वर्षअघि एक लाख लिटर क्षमताको टयाङ्की निर्माण गर्ने योजना अघि सारेको थियो । तर, सरकारकै बेवास्ताको कारणले टयाङ्की निर्माण हुन सकेको छैन । वडा कार्यालयले काठमाडौ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर खानेपानीका व्यवस्थित वितरण गर्ने तयारी गरेका छौं । अबको साढे तीन वर्षभित्र वडामा पर्याप्त खानेपानी आपूर्ति गर्ने योजना बनाएको छु।

सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ?
वडामा सालाखाला विभिन्न स्थानमा गरेर करिव ४०–५० रोपनी सार्वजनिक जग्गा मिचिएका छन् । पञ्चायतकालमा निलवाराही नजिकै करिव १९ रोपनी जग्गा पर्ति जग्गा भूमाफियाले अतिक्रमण गरेर व्यक्तिको नाममा सारेका रहेछन् । त्यसको साथसाथै अन्य विभिन्न स्थानमा पनि सार्वजनिक जग्गा अतिक्रमण भएका छन् । वडा कार्यालयले तिहारलगत्तै सार्वजनिक जग्गाको छुट्टाएर संरक्षण गर्ने नीति अतिख्यार गरिसकेको छ । मालपोत र नापी कार्यालयसँग समन्वय गरेर मिचिएका सार्वजनिक जग्गा फिर्ता ल्याउनेछौं।

तपाईँको वडामा वीर अस्पताल निर्माण गर्ने कुरा चलेको थियो, अहिले के भइराखेको छ?
चाँगुनारायण नगरपालिकाको वडा नं १ र ४ को ५ सय रोपनी क्षेत्रफलमा वीर अस्पतालले सेवा विस्तार गर्ने तयारी गरिराखेको छ । तर, अस्पतालले वडा कार्यालयसँग हालसम्म कुनै सरसल्लाह र समन्वय गरेको छैन । वडामा वीर अस्पतालको सेवा विस्तार हुन लाग्दा खुसी छौं । तर, बेवास्ता गर्दा दुःख लागिरहेको छौं । वडा नम्बर १ वासीले वीर अस्पतालका लागि चार सय रोपनी जग्गा प्रदान गरेका छन् । वडा नम्बर ४ ले १ सय रोपनी जग्गा उपलब्ध गराएका छन् । वडावासीले जग्गा उपलब्ध गराएबापत स्वास्थ्यसेवा र रोजगारी माग गरेका छन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणले तपार्इँको क्षेत्रलाई समेटेर नयाँ सहर निर्माण गर्ने योजना अघि सारेको थियो, के–के काम भइराखेको छ?
काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं र भक्तपुरका एक लाख रोपनी क्षेत्रफलमा नयाँ सहर बनाउने योजना अघि सारेको थियो । प्राधिकरणले नयाँ सहरको डिपिआर निर्माण गर्ने भनेर जग्गा रोक्का गरेको पनि दुई वर्ष बितिसक्यो । तर, अहिलेसम्म नयाँ सहर निर्माणको कुनै प्रक्रिया अघि बढेको छैन । जग्गा रोक्काको कारणले सर्वसाधारणले जग्गा किनबेच गर्न पाइरहेका छैनन् । कि नयाँ सहर तत्कालै निर्माण गर्नुप-यो कि त जग्गा रोक्का फुकवा गर्नुपर्ने माग स्थानीय जनताले गरिराखेका छन्।

तपाईँको वडामा भूकम्पपीडितको समस्या कस्तो छ?
२०७२ सालको भूकम्पले वडामा करिब तीन सय घर पूर्ण क्षति भएका थिए । वडाका करिव २० प्रतिशत भूकम्प पीडितले मात्र भवन सम्पन्न गरेका छन् । अधिकांश भूकम्प पीडितको भवन बन्न सकेको छैन । भवन समयमा नै नबन्नुमा मोही र तहसिल, लालपूर्जा नहुनु लगायका रहेका छन् । त्यसको साथसाथै प्रक्रियागत लम्बेतान र कानुनीगत जटिलताको कारणले राहत रकम लिन समस्या भइरहेको छ । वडा कार्यालयले भूकम्पपीडितको भवन निर्माणको लागि आवश्यक पर्ने प्रविधिक सहयोग गरिरहेका छौं । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बेवास्ताकै कारणले भूकम्पपीडितले अहिलेसम्म राहत रकम पाउन सकिरहेका छैनन्।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत चालू आर्थिक वर्षमा वडा कार्यालयका लागि एक करोड रूपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटबाट ७ वटा योजना अघि सारेका थियौं । तिमध्ये सबै योजना सम्पन्न भइसकेका छन् । वडा कार्यालयले खानेपानी, सडक, ढल कृषि, महिला तथा लक्षित वर्गलाई समेटेर खर्च गरेका थियौं । बजेट न्यून भएकाले वडाको विकास पूर्वाधार निर्माणमा समस्या देखिएको हो । चालू आर्थिक वर्षको लागि पनि एक करोड  ६२ लाख रूपैयाँ नै बजेट विनियोजन भएको छ । वडा कार्यालयले खानेपानी, पूर्वाधारलगायत क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको छ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ?
वडामा विभिन्न टोललाई समेटेर चक्रपथ बनाउने योजना अघि सारेको छु । थैटोका गणेश, बुद्धमन्दिर बसपार्क, समथली, रूपाथली हुँदै खड्काडिलसम्मको पाँच किलोमिटर क्षेत्रमा चक्रपथ निर्माण गर्ने योजना बनाएका छौं । वडा कार्यालयले ३३ फिट चौडा भएको चक्रपथ निर्माण गर्न लागेका हौं । त्यसको साथसाथै निकोसेरा, माछापोखरी, स्यालडाँडा, रुपाथली, हुँदै प्रस्तावित वीर अस्पताल भवनसम्म ३३ फिटे सडक निर्माण गर्ने योजना बनाएका छौं । वडा कार्यालयले वेशीमा रहेको १६ रोपनी सार्वजनिक जग्गामा व्यवस्थित चिल्ड्रेन पार्क बनाउने योजना अघि सारेको छ।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १२ कार्तिक २०७५ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App