coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

राष्ट्रपतिले टीका लगाएको तस्बिर भाइरल

नक्कली प्रमाणपत्र, उमेर बढाएको लगायतका आरोप लागेर बर्खास्त भएका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले दसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा सातादेखि भाइरल छ । तस्बिरमा पराजुली भुइँमा घुँडा टेकेर टीका लगाइरहेका छन् भने राष्ट्रपति भण्डारी सोफामा बसेकी छन्।

यो तस्बिरलाई चाकरी गरेको, लम्पसार परेको रूपमा पनि चित्रण गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यही तस्बिरमाथि व्यंग्य गर्दै विभिन्न पोस्ट पनि गरिरहेका छन् । पराजुली बसेको शैलीलाई धनुष्टंकार भन्दै व्यंग्य भइरहेको छ भने राष्ट्रपतिको राजसी दसैं भनेर पनि टिप्पणी भएको छ । पराजुलीमाथिको टिप्पणीका अलावा यसलाई राष्ट्रपतिको महारानी बन्ने रहरजस्ता टिप्पणी पनि आइरहेका छन्।

इन्जिनियरसमेत रहेका प्रकाशचन्द्र जोशीले राष्ट्रपति भण्डारीमाथि टिप्पणी गर्दै ट्विट गरेका छन् । ‘राष्ट्रपति विद्या भण्डारीले दसैं टीका लगाउँदा जसरी भेदभाव गरेको देखियो, त्यसले उनलाई गणतन्त्र नेपालको राष्ट्रपति नभएर बडामहारानी सरकार हुन खोजेको देखियो । उबेला राजा सर्वशक्तिमान हुँदा नै राज गर्ने हो भने श्रीपेच फुकालेर चुनाव लड्न आऊ भनेर ललकार्न सक्ने मदन भण्डारीको श्रीमती भन्न लाज लाग्यो,’ उनको टिप्पणी छ।

‘टीका थाप्न बाको अगाडि घुँडा टेकेको त, म राष्ट्रपति हो र घुँडा टेक्छन् रे ? आशिर्वाद देलान् भन्या त बुढाले झण्डै भकुरे,’ प्रमोद पराजुलीले पूर्व प्रधानन्यायाधीशको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि व्यंग्यात्मक टिप्पणी गरेका छन्।

दसैंको समयमा राष्ट्रपतिले मात्र होइन, प्रधानमन्त्री केपी ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिए । यसले राजसंस्थाको झल्को दिएको टिप्पणी पनि निकै भयो । दसैंमा टीका लगाइदिएका यी दुई शीर्ष व्यक्तित्वहरूले तिहारमा के गर्छन् भन्ने पनि सर्वसाधारणको प्रश्न रह्यो । यसै सन्दर्भमा निर्मल दाहालले ट्विटरमा कटाक्ष व्यक्त गर्दै लेखे, ‘सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूले जसोतसो दसैंको टीका त टार्नुभयो । उहाँहरूलाई तिहार पो गाह्रो होला जस्तो लाग्यो । राष्ट्रपतिज्यूले कति नेपाली दाजुभाइलाई टीका लगाइदिने अनि प्रधानमन्त्रीज्यूले कति नेपाली दिदीबहिनीहरूसँग टीका लगाउने ? परेन त फसाद।’

सरिता भट्ट आफ्ना नजिकका आफन्तसँग टीका लगाएर मनाइने चाड दसैंका पूर्व राजा, राष्ट्रपति वा प्रधानमन्त्रीले टीका लगाइदिने विषय चित्त नबुझेको बताउँछिन् । उनको ट्विट छ, ‘राष्ट्रपति, प्रधानमन्त्री र ज्ञानेन्द्रले दसैंको टीका पसल खोलेको बहस वाहिहात छ । हामी दास मानसिकता भएको लागि यस्तै गरिनुपर्छ । टीका भनेको आफ्ना नातेदार हितैषी मान्यजनको हातबाट लगाउन जाने हो । कुन कोणबाट राष्ट्रपति, प्रधानमन्त्री वा ज्ञानेन्द्र आशिर्वाद र टीका लगाइदिन योग्य छन्?’

ट्विटरमै शुभराम बस्नेतको टिप्पणी छ, ‘राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीले आसेपासेहरूलाई दसैंमा जे जसरी टीका लगाइदिए, त्यो शैली राजतन्त्रको भाग हो । गणतन्त्रको मानमर्दन हो । एउटा राजतन्त्रको अन्त्य गरेर अरु थुप्रै टुक्रे राजाहरू जन्माउने नियत अस्विकार्य छ ।’
बालाराज ट्विटर ह्याण्डल भएका सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि दसैंमा राष्ट्रपति र प्रधानमन्त्रीले टीका लगाइदिएको चित्त बुझेको छैन । ‘यो देश त धर्म निरपेक्ष हो नि । राष्ट्रपति निवास, प्रधानमन्त्री निवास सरकारी सम्पत्ति हो । तिम्रा भक्तजनलाई टीका लगाइदिनु थियो भने आफ्नै घरमा बसेर लगाउनुपथ्र्यो । विरोध त गरिन्छ नै । सरकारी सम्पत्तिको दुरुपयोग भ्रष्टाचार हो,’ उनको टिप्पणी छ।

अर्का ट्वीटर प्रयोगकर्ता सुदर्शन चालिसे ट्विट गर्छन्, ‘राजतन्त्र फर्केला नफर्केला आफ्नै ठाउँमा छ । तर, विजयादशमीको टीका थाप्न राष्ट्रपति र प्रधानमन्त्रीकहाँ भन्दा बढी भीड पूर्व राजाकहाँ देखिनु नेपाली गणतन्त्र र हाम्रा नेताहरूका लागि शुभ संकेत भने पक्कै होइन।’

कतिपयले राष्ट्रपति देशको शीर्ष व्यक्ति भएकाले टीका लगाइदिने र सम्मानस्वरूप झुक्ने वा घुँडा टेक्ने प्रवृत्तिलाई सकारात्मक रूपमै लिएका छन् । विशाल भण्डारीको ट्विट छ, ‘यदि म राष्ट्रपतिसँग टिका ग्रहण गर्न गएको भए त्यही भएको कुर्सी हटाएर राष्ट्रप्रमुखको ओहोदाको सम्मान गर्दै घुँडा टेकेर टिका ग्रहण गर्ने थिएँ । सधैं राजनीतिज्ञलाई गाली गर्न छोडौं । हामीले नै ओहोदाको सम्मान गर्ने संस्कार सिक्न आवश्यक देखियो।’

त्यस्तै दीप पन्तले पनि पराजुलीले घुँडा टेकेको विषयलाई समर्थन गर्दै ट्विट गरेका छन् । ‘एउटा महिला राष्ट्रपतिअघि शिष्टाचार वा सहज हुन घुँडा टेक्नु सभ्य र सौम्य हो । जे मा पनि विरोध गर्ने ? ए बाबा, टीका लगाउनु कसरी सामन्ती भयो ? दसैं संसारको एउटा मात्र नारीवादी मातृसतात्मक चाड हो । ओली सरकारले दसैं मानेर बुद्धिमान काम गरेको छ । विरोध गर्नेहरूलाई अनेपाली भने हुन्छ,’, उनको प्रश्न र टिप्पणी छ।

राष्ट्रपति भण्डारीले आफ्नी आमाबाट र प्रधानमन्त्री ओलीले आफ्नो बुवाको हातमा दसैंको टीका लगाइरहेका दुई तस्बिरहरू पनि सामाजिक सञ्जालमा छाएका छन् । यस सन्दर्भमा सन्तोष यादवले दुवै तस्बिरलाई सँगै राखेर ट्विट गरेका छन्, ‘पहिलो तस्बिरमा राष्ट्रपति विद्या भण्डारी आफ्नी आमाको हातबाट दसैंको टीका लगाउँदै छिन् । दोस्रोमा प्रधानमन्त्री केपी ओली आफ्ना बुबासँग दसैंको टीका लगाउँदैछन् । आफ्नो आमा र बुबाको सम्मान गर्न नजान्नेहरू देश र जनताको सम्मान गर्छन् भन्ने पनि हामीले नै विश्वास गर्नुपर्ने।’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पुराना तस्बिरहरू खोजेर पनि पोस्ट गरेका छन् । ती तस्बिरहरूमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले उभिएर दसैंको टीका लगाइदिएका तस्बिरहरू पनि समेटिएका छन् । त्यसबाहेक पूर्व राजा ज्ञानेन्द्र शाहले दसैंको टीका लगाइदिएका तस्बिर पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले खोजी खोजी पोस्ट गरेका छन् । मन्त्री समेत रहेका नेकपाका नेता लालबाबु पण्डितले भुइँमा बसेर टीका लगाइदिइरहेको तस्बिर पनि सामाजिक सञ्जालमा देखिएको छ।

प्रकाशित: १२ कार्तिक २०७५ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App