coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘काठमाडौं राजनीतिले बिगारेकोे नमुना सहर हो’

मञ्जु पौडेल, गायिका

तपाईँको बुझाईमा सहर भनेको के हो?
मानवीय आधारभूत आवश्यकता पूरा गर्न सक्ने सुविधायुक्त र व्यवस्थित बाक्लो बस्ती नै सहर हो । सहरमा शिक्षा, स्वास्थ्य, खानेपानी, सुरक्षा, यातायातलगायत सबैखाले सुविधा हुन्छन् । सहरको प्रशासनिक निकाय पनि उत्तिकै चुस्त हुन्छ । कला तथा संस्कृतिको समिश्रणले सहरलाई मौलिक बनाएको हुन्छ।

हाम्रा सहरमा यी सुविधा पाइन्छन् त?
हामीले देश अनुसारको सुविधा पाएको छौं । देशको राजनीतिक र प्रशासनिक पक्ष व्यवस्थित हुन्थ्यो भने हामीले पाउने सुविधा पनि त्यहीँ किसिमका हुन्थे । हाम्रोमा नीति नियम र कानुनको पालना नै छैन । त्यसकारण सहर बिग्रिएको छ । पुराना कला, संस्कृति भत्किएका छन्।

घुमेकामध्ये मनपर्ने सहर?
जापान असाध्यै मनप-यो । मेरो पहिलो विदेश यात्रा नै जापान थियो । जापनिजहरू अनुशासित र सत्कारी रहेछन्।

काठमाडौं कस्तो लाग्छ?
करिअरको हिसाबले काठमाडौंलाई एकदमै प्यारो ठान्छु । तर, यहाँको अस्तव्यस्तता मन पर्दैन । सेवा सुविधा लिनको लागि बाध्यतात्कम हिसाबले धेरै मानिस काठमाडौंमा बसेका छन् । यहाँका धेरै पक्ष ठीक हुँदाहुँदै पनि थोरै कुराले काठमाडौंलाई कुरूप बनाएको छ । अहिले जताततै फोहोर र व्यवस्थित मात्रै देखिन्छ । सहरभित्र आनन्द लिने ठाउँ छैनन्।

उपत्यका बाहिर मनपर्ने सहर?
उपत्यका बाहिर पोखरा मनपर्छ । यहाँ फेवाताल, हिमाल र अनेकौँ पदमार्ग छन् । सहरमै बसेर प्राकृतिक हराभरा हेर्न पाइन्छ । सडक र होटल पनि व्यवस्थित छन् । सबैतिर सफा र शान्त छ । स्वदेशी र विदेशी दुवैको ध्यान तान्ने सहर पोखरा नै हो।

नेपालभन्दा बाहिर कुन–कुन देशका सहर पुग्नुभएको छ?
जापान, अस्ट्रेलिया, सिंगापुर, हङकङलगायत धेरै देशका सहर घुमेकी छु।

कस्ता रहेछन् त्यहाँका सहर?
अत्यन्तै सुन्दर छन् । विदेशका सहरमा हरेक खालका सेवा–सुविधा लिन नागरिकले सास्ती खेप्नुपर्दैन । नियमले चलेका छन् । पुराना ऐतिहासिक वस्तु सहरी इलाकामा संग्रहित गरेर राखिएको छ । हाम्रोमा भएका कला र सम्पदा पनि मासिँदै छन् । सरकारी निकायले काम नगर्दा र जनता आफै जागरुक नहुँदा सहर बिग्रिएको छ।

विदेश र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो?
आफू जन्मेको माटो सबैलाई प्रिय लाग्छ । अरुभन्दा फरक लाग्छ । त्यो स्वभाविकै हो । मलाई पनि यहाँका ठाउँहरू सुन्दर लाग्छन् । यद्यपि भौगोलिक हिसाबमा हामी धेरै अगाडि भए पनि विकासको हिसाबमा भने ज्यादै पछि छौं । अर्को कुरा, हरेक देशका सहरको आ–आफ्नै ढाँचा, शैली र विशेषता छ । नेपालकै कुरा गर्दा यो ठाउँ विश्वकै एउटा बेग्लै महत्व बोकेको ठाउँ हो । यहाँ शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेका थिए । विश्वको ध्यान तान्ने अग्लो सगरमाथा पनि यहीँ छ । अनेकौँ किंवदन्ती बोकेका ऐतिहासिक दरबार पनि यहीँ छन् । मौसम र हावापानी पनि धेरै राम्रो छ।

काठमाडौंको मन नपर्ने पक्ष?
यहाँको प्रदूषण र अस्तव्यस्तता मन पर्दैन । विकास निर्माणको काम भइरहेको ठाउँमा धुलोधुवाँ त हुन्छ नै । यद्यपि विकासका काम गर्दा सरकारले जनतालाई सास्ती दिएको छ । सहरमा पैसा हुनेले मात्रै सजिलो जीवन बिताउन सक्छन्।

राम्रो लाग्ने पक्ष?
उपत्यका देशकै मुटु हो । त्यसैले पनि यहाँ सेवा सुविधा छन् । यहाँको मौसन सदावहार छ । ऐतिहासिक र भौगोलिक पक्षलाई हेर्दा हाम्रा सहर अरु देशका भन्दा धेरै राम्रा छन् । सरकारले सहरको विकासतर्फ ध्यान नदिँदा भएका सम्भावना पनि लुकेर बसेका छन्।

तपाईँ कस्तो सहरको कल्पना गर्नुहुन्छ?
म एउटा सुन्दर सहरको परिकल्पना गर्छु । त्यो सहर यस्तो होस्– हरेक मानिसले समान अधिकार पाऊन् । सहर व्यवस्थित होस् । एकले अर्काको अधिकार खोसेको देख्न नपरोस् । आफ्ना सपना साकार गर्न विदेशी सहर धाउन नपरोस् । एकदमै सुरक्षित, सुन्दर, सुविधायुक्त र सहरमा बसेका हरेकले एकैखाले सुविधा लिन पाउने सहरको कल्पना गर्छु म।

सहर बिग्रनुको कारण के देख्नुहुन्छ?
सहरका विकासका योजना सराह्रनीय छन् । तर, ती योजना कार्यान्वयन भएनन् । राज्यका सबै अंगहरूले पारदर्शी भएर काम गरेनन् । सहरमा शक्ति र पहुँच हुनेले मात्रै अवसर पाए । साच्चै नै तल्लो र विपन्न वर्गबाट आएको राम्रो मान्छेले दुःख पाएका छन् । राजनीतिक दलका नेताहरूले गर्दा नै सहर असमान भएको हो भन्ने लाग्छ । अर्को कुरा, सहरवासी पनि जिम्मेवार भएको देखिन्न ।

सहरलाई कसरी सफा राख्न सकिएला?
सडक सफा गर्ने र फोहर यथास्थानमा मात्रै फ्याक्ने हो भने सहर यति साह्रै फोहर हुने थिएन । त्यस्तै, सरकारी तवरबाट चलेका हरेक निकाय जिम्मेवार र जवाफदेही हुनुपर्छ । सहरवासीले तोकिएको स्थानमा फोहोर फाल्ने बानीको विकास गर्नुपर्छ । विकास निर्माणका कामलाई समयमै सक्ने, जिम्मेवार निकायमा बस्नेले विकास निर्माणका काममा दूरदृष्टि राख्नेलगायत कुरामा ध्यान दिने हो भने सहर सफा बन्न सक्छ।

सहरवासीका बानी कस्तो लाग्छ?
सहरवासीमा अनुशासन छैन । हामी एकले अर्कालाई मान्दैनौं । आफ्ना कारणले अरुले दुःख पायो भन्ने हेक्का राख्ने प्रवृत्ति छैन सहरवासीमा।

पछिल्लो समय पुगेको सहर?
केही दिनअघि जापान पुगेकी थिएँ।

मन भएर पनि पुग्न नपाएको सहर?
मैले धेरै देशका सहर पुगे । संसारमा ‘टप सिटी’ र नाम चलेका सहर पुगेको छु । अहिलेसम्म पुग्न नपाएको देश नर्वे हो । हेरौं मिल्यो भने त्यहाँ पनि छिट्टै पुग्नेछु।

सहरको मनपर्ने खानेकुरा ?
मलाई दाल भात तरकारी र गुन्द्रुक मिठो लाग्छ।

प्रस्तुति  : शिवहरि घिमिरे

प्रकाशित: १२ कार्तिक २०७५ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App