४ वैशाख २०८१ मंगलबार
अर्थ

लोकप्रिय तिहार परिकार

हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ। तिहारमा विशेष गरेर दिदीभाइबीचको सुमधुर सम्बन्धको लागि पवित्र चाडको रूपमा मनाउने गरिन्छ। तिहारलाई विशेष खानपानका साथै साथीभाइ मिलेर देउसी–भैलो खेलेर मनाउने चलन छ।

तिहारलाई परिवारसँग मिलेर विभिन्न खानाको परिकार बनाएर खाने पर्वको रूपमा पनि मनाउने गरिन्छ । परिवारका सम्पूर्ण सदस्यसहित नयाँ–नयाँ खानाका परिकार पकाएर खानुका साथै रमाइलो गर्ने प्रचलन छ । तिहारमा अन्य परिकारभन्दा रोटीका थरीथरी परिकारहरू बनाएर खाने प्रचलन छ । ठाउँ, परिवेश, जातजाति अनुसार आ–आफ्नो तरिकाले खानाका परिकार बनाउने प्रचलन रहेको पाइन्छ। तिहारको समयमा पिठोबाट तयार पारिएका थरीथरीका परिकार अनिवार्य जस्तै हुन्छ । तिहारमा प्रचलित यी परिकारहरू यसरी घरमा नै तयार गर्न सकिन्छ।

फिनी रोटी
फिनी एक प्रकारको रोटीको परिकार हो । मैदाको पिठोमा घ्युको मिश्रणबाट तयार पारिन्छ । फिनी रोटीलाई विशेष तिहारमा मात्र पकाएर खाने चलन छ । मैदाको पिठोबाट तयार पारिएको फिनीको परिकार जो कोहिको पनि मनपर्ने रोटीको परिकारमध्ये एक हुन सक्छ । घ्युको स्वाद मन पराउने पारखीहरूको लागि फिनी मनपर्ने परिकार हो।

आवश्यक सामग्री
आवश्यकता अनुसार मैदा, घ्यु, चामलको मसिनो पिठो, तोरीको तेल।

बनाउने तरिका
परिवारको संख्या अनुसार मैदालाई मुछ्ने । रोटी बनाउन प्रयोग गरिने पिठोको डल्लालाई मजाले माड्ने। माडिएको मैदाको डल्लो नरम भएपछि फिनी बनाउन तयार हुन्छ । तयार भएको पिठोलाई एकछिन राख्ने ताकी पिठो नरम होस् । फिनी बनाउन मैदा पिठो निकै मुलायम हुन आवश्यक हुन्छ । चामललाई एक घन्टा पानीमा भिजाएर राख्ने । भिजेको चामललाई मसिनो पारेर पिँध्ने । पिँधेको चामलको पिठोलाई छानेर अझ मसिनो पिठो छुट्याउने । छुट्याइएको चामलको पिठोको अनुपात अनुसार घ्युमा मुछ्ने । घ्यु र चामलको पिठो मुछेर तयार पारिएको पेस्टलाई नेपाली भाषा अनुसार ‘सांठो’ भनिन्छ । तयार पारिएको मैदाको पिठोलाई राम्रोसँग बेल्ने । बेलेको रोटीमा घ्यु र चामलको पिठोबाट तयार पारिएको ‘सांठो’ लाई राम्रोसँग लगाइन्छ । बेलिएको रोटीमा बराबरी सांठो लगाएपछि बिस्तारै रोल गर्ने (बेर्ने) । गोलाकार बेलिएको पिठोलाई स–सानो डल्ला पारेर काट्ने । काटिएको पिठोको डल्लालाई बेल्ने, बेलेर तयार गरिएको रोटी पत्र–पत्र भएर छुटिन्छ । फिनी रोटीको महŒव अन्य समय भन्दा तिहारमा बिशेष रहेको पाइन्छ।

सेल रोटी
सेल रोटीलाई विशेष रोटीको परिकारको रूपमा खाने प्रचलन छ । सेल रोटी चामलको पिठोबाट तयार पारिन्छ । सेल रोटीलाई सगुन, पाउर, कोसेलीको रूपमा विशेष प्रयोग गरिन्छ । यद्यपि, अन्य चाडपर्वमा पनि सेल रोटी पकाउने गरिन्छ।

आवश्यक सामाग्री
आवश्यकता अनुसार चामलको पिठोलाई दुध वा पानीमा गिलो गरी मुछ्ने । तयार पारिएको गिलो पिठोमा इच्छा अनुसार केरा, ल्वाङ्, सुकमेलको धुलो, घ्यु, काजु– किसमिसलगायत हालेर तयार पारिन्छ । तेलमा फुराएर तयार पारिने सेल रोटीलाई फुराउने तेल पिठो अनुसार।

बनाउने तरिका
सेल रोटी तयार पार्न ‘माटे कराई’ को प्रयोग गरिन्छ । माटे कराईलाई केही बेर तताएपछि इच्छा अनुसार तेल राखी केही बेर तताउने । त्यसमा सानो आकारको गोलाकार ढुंगा राख्ने । तातिएको तेलमा सोलीको प्रयोग गरेर वा हातैले पनि भिजाइएको गिलो पिठोलाई ताईमा घुमाएर सेल रोटी बनाइन्छ । ताइमा हालेको रोटी रातो भएपछि झिकेर अचार, तरकारी वा चियासँग खान सकिन्छ।

खुर्मा रोटी
खुर्मा रोटीलाई पनि तिहारको विशेष परिकार मानिन्छ । यो चामलको पिठो र घ्युबाट तयार पारिन्छ । घ्युको स्वाद मनपराउनेहरूको लागि खुर्मा रोटी मनपर्ने खान्की हुन सक्छ । तिहारमा बनाइने चोखो परिकारको रूपमा खुर्मालाई प्रयोग गरिन्छ । चामललाई मसिनो पिठो बनाई मैदाको पिठो मिसाएर तयार गरिने एक प्रकारको क्रन्चि परिकार हो।

आवश्यक सामाग्री
पिठोको अनुपात अनुसार घ्यु राखी पेस्ट तयार गरिन्छ । खुर्मा रोटीको लागि तयार पारिएको पेस्टमा इच्छा अनुसार स्वादको लागि चिनी अथवा गुद पनि मिसाउन सकिन्छ।

बनाउने तरिका
खुर्माको लागि तयार पारिएको पिठोलाई तातो तेलमा तार्नु भन्दा अगाडि थरीथरीको आकार बनाउन सकिन्छ । खुर्मा रोटीमा कलात्मक आकृति बनाउन सकिन्छ । प्रायः खुर्माको आकारको लागि बाँसको डालीको प्रयोग गरेको पाइन्छ । खुर्मा रोटी बनाउन इच्छा अनुसार आकृति बनाउन बाँसको डालामा घुमाएर बनाइन्छ । बनाएको आकृति अर्थात् खुर्मालाई तेलमा तारेपछि परिकार तयार हुन्छ।

झिलिङ्गा/सिन्कामारी
झिलिङ्गा/सिन्कामारी तिहारको समयमा भाइलाई खुवाउने परिकार हो । यो गहुँको तथा चामलको पिठोबाट तयार पारिन्छ । यसलाई इच्छा अनुसार तेलमा फुराउन पनि सकिन्छ । यसलाई आकर्षक बनाउन खाने रङको पनि प्रयोग गर्न सकिन्छ।

आवश्यक सामग्री
आवश्यकता अनुसार गहुँ र चामलको पिठो । खाने रङ।

बनाउने तरिका
झिलिङ्गा/सिन्कामारी बनाउन गहुँ र चामल मिसिएको पिठोलाई ढिडो जसरी पकाउने । पकाएको पिठो अथवा ढिडोलाई तात्तातै तोरीको तेलको प्रयोग गरि साँचोमा राखेर दबाउने । साँचोमा राखिएको तातो पिठोको डल्ला चाउचाउको जस्तो आकार भएर आउँछ । त्यो चाउचाउको आकारलाई मिलाएर गोलाकार तरिकाले राख्ने । कलात्मक आकृति भएको झिलिङ्गा/सिन्कामारी फूल जस्तो देखिन्छ । यसलाई केही दिन घाममा सुकाएपछि तेलमा फुराएर खानको लागि गयार हुन्छ।

चिनी रोटी
चामलको पिठोमा चिनी मिसाएर तयार पारिन्छ । यो साना नानीको मनपर्ने खान्की हो । चामलको पिठोलाई गोलाकार बेलेर तेलमा तारेपछि यो परिकार तयार हुन्छ । गुलियो मनपराउनेहरूको रोजाइमा यो परिकार पर्न सक्छ।

आवश्यक सामाग्री
आवश्यकता अनुसार चामलको पिठो, चिनी र तेल।

बनाउने तरिका
चामलबाट तयार पारिएको पिठोलाई चिनी र पानीमा मजाले मुछ्ने । मुछिएको पिठोलाई रोटीको आकारमा बेल्ने । बेलिएर तयार भएको रोटीमा इच्छा अनुसारको रङ मिसाउन सकिन्छ । बेलेर ठिक्क पारिएको रोटीलाई तेलमा फुराउने।

प्रकाशित: १२ कार्तिक २०७५ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App