coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दसैंमा उपत्यकामा सवारी दुर्घटना र मृत्यु संख्या बढ्यो

काठमाडौं उपत्यकामा दसैं ९घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म०को बेला सवारी दुर्घटनामा परेर १४ जनाले ज्यान गुमाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ज्यान गुमाउनेमा काठमाडौंमा ९, ललितपुरमा ३ र भक्तपुरमा २ जना छन्।

अघिल्लो दसैंको तुलनामा यसपालि सवारी दुर्घटना र मृत्यु संख्या बढेको छ । अघिल्लो दसैंमा भएका एक सय ७७ सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए।

महाशाखाका अनुसार यस वर्षको दसैंमा उपत्यकामा तीन सय २९ सवारी दुर्घटना भएका थिए।

यस वर्षको दसैंमा तीन सय २९ सवारी दुर्घटनामध्ये दुई सय ९२ सडक दुर्घटना चालकको लापरवाहीले भएको पाइएको महाशाखाले जनाएको छ।

चाडपर्वमा चालकले हतारिएर सवारी साधन हाँक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मापसे गरेर सवारीसाधन चलाउने सावधानी नअपनाउनेलगायत कारण चाडपर्वमा दुर्घटना संख्या बढ्ने गरेको हो । महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवालले चालकको लापारवाहीले नै उपत्यकामा दसैंको बेला अत्याधिक दुर्घटना भएको बताए।

‘तीव्र गति र चालकको लापारवाहीले अधिकांश दुर्घटना भएको देखिन्छ,’ उनले भने, ‘चाडपर्वमा खुला सडक र मापसे सेवन गरेर सवारीसाधन चलाउने भएकाले नै दुर्घटना बढेको हो ।’ यस वर्षको दसैंमा तीन सय २९ सवारी दुर्घटनामध्ये दुई सय ९२ सडक दुर्घटना चालकको लापरवाहीले भएको पाइएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस वर्षमा दसैंमा भएका सवारी दुर्घटनामध्ये तीव्र गतिले १९, यात्रुको गल्तीले २०, यान्त्रिक गडबडीले दुई, मादक पदार्थ सेवन गरी सवारी चलाएकाले ९ र सडकको अवस्थाले आठ दुर्घटना भएका थिए । ओभरटेक गर्नाले एक सवारी दुर्घटना भएको देखिन्छ । ट्राफिक इन्जिनियर आशिष गजुरेल ओभरलोड र सडकको अवस्थाले चाडपर्वका बेला दुर्घटना बढ्ने बताउँछन्।

‘चाडपर्वमा सबैलाई घर जानैपर्ने बाध्यता हुन्छ, त्यसको गलत फाइदा उठाउँदै यातायात व्यवसायीले क्षमताभन्दा धेरै यात्रु बसमा राख्छन्,’ उनले भने, ‘कमजोर सडक संरचना र ओभरलोडकै कारण चाडपर्वमा दुर्घटना बढ्छन्।’

उनका अनुसार दसैंको बेला सवारी साधनको अत्याधिक चाप हुने र चालकले हानाथाप गर्ने भएकाले धेरै दुर्घटना हुने गर्छन्।

दुर्घटना र मृत्यु संख्या बढ्यो
यस वर्षको दसैं ९ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म०मा उपत्यकाभित्र तीन सय २९ सवारी दुर्घटना भए । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परेर ११ गम्भीर घाइते भएका थिए । सामान्य घाइते दुई सय ४४ भएका छन् । गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाको संख्या र दुर्घटनामा ज्यान गुमाउनेको संख्या दोब्बर भन्दा धेरै भएका छन् । २०७४ सालको दसैँमा उपत्यकाभित्र एक सय ७७ सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परेर चार जनाले ज्यान गुमाएका थिए।

कारवाही संख्या घट्यो
गत वर्षको दसैंको तुलनामा यस वर्ष ट्राफिक नियम उल्लंघन गर्ने चालकको संख्यामा कमी आएको छ । गत वर्ष दसैंमा १० हजार तीन सय ८३ सवारीचालक कारबाहीमा परेका थिए । यस वर्षको दसैँमा ६ हजार ६ सय २६ सवारीचालक कारवाहीमा परेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दसैंका बेला मापसे गरेर सवारी चलाउने एक हजार ३ सय ५२ सवारीचालक कारवाहीमा परेका छन् । गत वर्षको दसैँका बेला मापसे गरेर सवारी चलाउने एक हजार दुई सय ५६ जना कारबाही परेका थिए । यस वर्ष ट्याक्सीमा मनोमानी ढंगले भाडा असुल्ने तीन सय ७९ चालक कारवाहीमा परेका छन् । लेन मिच्ने एक हजार ६१ जना चालक कारवाहीमा परेका छन् । गत वर्ष लेन मिच्ने एक सय ९६, ट्याक्सीमा मनोमानी ढंगले भाडा असुल्ने ८८ कारवाहीमा परेका थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजनाअनुसार नै काम गरे पनि दसैंमा सवारी दुर्घटना र मृत्यु हुनेको संख्या न्यूनीकरण गर्न असफल देखिएको छ।

महाशाखाका प्रहरी निरीक्षक दाहालका अनुसार चाडपर्वमा ट्राफिकको उपस्थिति हुने सडकभन्दा भित्री सडकमा धेरै मात्रामा सवारी दुर्घटना भएको बताए । ‘ट्राफिकको बाक्लो उपस्थिति हुने सडकभन्दा भित्री सडकमा धेरै सवारी दुर्घटना भएको देखिन्छ,’ उनले भने, ‘ट्राफिक प्रहरीले कडाई गर्दा गर्दै पनि सवारी दुर्घटना कमी आउन सकेन।’

ट्राफिक नियम उल्लंघन गर्नेलाई प्रकृति हेरेर पाँच सयदेखि पाँच हजार रूपैयाँसम्म जरिवाना गरेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दसैंमा दैनिक पाँच सयभन्दा धेरै सवारी चालकलाई कारवाही गरिएको थियो।

तोकेभन्दा बढी भाडा असुली
यातायात व्यवसायीले काठमाडौं उपत्यकामा दसैंको फाइदा उठाउँदै तोकिएकोभन्दा धेरै भाडा उठाएको पाइएको छ । यातायात अधिकारकर्मी रामबहादुर थापाले यातायात व्यवसायीले दसैंको मौका छोपेर सवारीसाधनमा धेरै भाडा असुलेको गुनासो गरे । ‘दसैंको मौका छोपेर यातायात व्यवसायीले चर्को भाडा असुलेका छन्, यात्रु मारमा परेका छन्,’ उनले भने, ‘यातायात व्यवस्था विभाग र ट्राफिकले नियमित अनुगमन नगर्दा यात्रु मर्कामा परेका हुन् ।’ तोकिएभन्दा धेरै भाडा असुल्ने बस तथा ट्याक्सीलाई कारबाही गर्दै आएको प्रहरी निरीक्षक दाहालले दाबी गरे । चाडपर्वको अवसरमा उपत्यकामा करिव १४ सय ट्राफिक प्रहरी खटिएका थिए।

प्रकाशित: १२ कार्तिक २०७५ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App