१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जोरपाटी चोकमा सिसी क्यामेरा खोई?

जोरपाटी चोकमा रहेको फोहोरको डंगुर। तस्बिर : श्याम राई

काठमाडौंको उत्तर भेगको केन्द्र मानिन्छ, जोरपाटी चोक । साखु, नारायणटार, गोकर्ण, सुन्दरीजल जाने सवारीसाधन रोक्ने ठाउँ र यात्रु प्रतिक्षालय समेत हो । उत्तर भेगकै केन्द्र मानिने ठाउँको हाल अहिले बेहाल छ । बेहाल हुनुको एउटै कारण छ– सधैं फोहोरको डंगुरले भरीभराउ हुनु । धुलो र धुवाँ त्यस्तै । माक्स र रुमालबिना हिँडेको देखिँदैनन् सर्वसाधारण।

पहिले नारायणटार जाने सडकमा मात्र फोहोर थुप्रिएको देखिन्थ्यो । अहिले भने गोकर्ण जाने सडकसम्म फोहोर थुप्रिएको देख्न सकिन्छ । तर, पनि फोहोर व्यवस्थापनमा नगरपालिकाले चासो लिएको पाइँदैन।

फोहोरकै कारण व्यापारी पसल बन्द गर्न बाध्य भएपछि गोकर्णेश्वर नगरपालिकाले फोहोर फ्याक्नेलाई निगरानी राख्न सिसी टिभी क्यामेरा जडान गर्ने योजना बनायो । यसका लागि २० लाख रूपैयाँ पनि छुट्याइयो । तर, अहिलेसम्म पनि सिसी क्यामेरा जडान गरिएको छैन । त्यति मात्र होइन, नगरपालिकाले दुई महिनाअघि फोहोर व्यवस्थापनको लागि वैकल्पिक उपाय अपनाउने योजना ल्याएको थियो । तर, उक्त योजना पनि कार्यान्वयन हुन सकेको छैन।

क्यामेरा जडान गरिएको भए फोहोर फाल्ने व्यक्तिको पहिचान गरी कारर्वाही गर्न सकिने जोरपाटीका व्यापारी आषिक दिनमुस्लिमले बताए । ‘व्यापारमा घाटामात्रै नभई फोहोरले चोक दुर्गन्धित बनाएको छ,’ उनले भने ‘क्यामेरा राखेमा कार्वाही गर्न त सजिलो हुन्थ्यो ।’ उनका अनुसार जोरपाटी चोकमा मात्र नभई फोहोर फाल्ने गरेका सबै ठाउँहरूमा सिसी क्यामेरा राखेमा नगरपालिकाले सजिलैसँग कार्वाही गर्न सकिन्थ्यो।

उनका अनुसार सर्वसाधारणले ट्राफिक प्रहरीकै अगाडिबाट फोहोर फाल्ने गरेका छन् । ‘दिउँसै बाइक तथा स्कुटरमा आएकाहरूले नै फोहोर फाल्ने गरेका छन्,’ उनले भने । तर, पनि प्रहरी र नगरपालिका मौन रहेको उनी बताउँछन्। चोक नजिकै जोरपाटी प्रहरी कार्यालय छ।

रुमालले नाक थुनेर हिँडिरहेका बटुवा देखाउँदै स्थानीयबासी नानिप्रसाद बन्जराले नागरिकसँग भने, ‘चोकमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न नसक्ने नगरपालिकाले अरु के गर्न सक्ला !’ उनका अनुसार अहिले फोहोर उठाउने गाडी महिना दिनसम्म पनि आउँदैन।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख कार्यकारी निर्देशक दीपक कोइरालाले जोरपाटीका सडक विस्तार हुदै गरेकाले तत्कालै निगरानीको लागि सिसी क्यामेरा नराखिएको बताए । ‘सडक निर्माणले गर्दा अहिले सिसी क्यामेरा राखेका छैनौं,’ उनले भने, ‘फोहोर व्यवस्थापनको लागि क्यामेरा सगँसगै स्थानीयलाई जनचेतना जगाउने छौँ ।’ उनका अनुसार सिसी क्यामेरा राखिएमा फोहोर व्यवस्थापनसँगै नागरिकको शान्ति सुरक्षा समेत हुने छ । निर्माणमा ढिलाई भए पनि यो वर्षमा सिसी क्यामेरा जडान गरिनेछ । चोक वरपरकै स्थानीयले फोहोर फालेका उनी बताउँछन् । फोहोर व्यवस्थापनको लागि तिहारलगत्तै नगरपालिका र वडाले टोली बनाई सबै नागरिकहरुलाई जनचेतना जगाउने र  त्यसपछि नगरपालिकाको गाडी आएपछि मात्रै फोहोर निकाल्नुपर्ने उनी बताउँछन्।

काठमाडौंमा मेसिन भित्रियो
गोकर्णेश्वर नगरपालिकाले खरिद गरेको मेसिन काठमाडाैं आइपुगेको छ । फोहोर व्यवस्थानको लागि उक्त मेसिन आइसकेको गोकर्णेश्वर नगरपालिकाका प्रमुख कार्यकारी निर्देशक दीपक कोइरालाले जानकारी दिए । उनका अनुसार काठमाडौंमा मेसिन आएको साता भइसकेको छ । मेसिन कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेकोले ठाउँको टुंगो लागेपछि मेसिन सञ्चालनमा ल्याइने छ । मेसिनले कुहिने र नकुहिने फोहोरलाई जलाएर खरानी बनाउँछ । उक्त मेसिन करिब ५ करोड लागत छ । मेसिन सञ्चालनमा आएपछि थोरै भए पनि फोहोर व्यवस्थापन हुने उनको भनाई छ । मेसिन ल्याउनुभन्दा अगाडी मेयर चालिसे सहितको टोली जापान पुगेर मेसिनको अवलोकन समेत गरेका थिए।

प्रकाशित: १२ कार्तिक २०७५ ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App