८ वैशाख २०८१ शनिबार
कला

परिणितीले छाडिन् बसुको फिल्म

मुम्बई – केही दिनअघि मात्र परिणिती चोपडा अनुराग बसुको फिल्ममा काम गर्न उत्साहित रहेको खबर थियो । तर केही दिन नबित्दै परिणितीले बसुको फिल्म छाडेको चर्चा छ । कारण भने उही पुरानो, डेट मिलेन । परिणितीका प्रवक्ताले बसुले चाहेको समयमा डेट नभएकाले फिल्म छाड्नु परेको बताएका छन् ।
‘बसुले जुन समय परिणितीसँग डेट मागेका थिए सो समय पहिले नै ‘केसरी’ र ‘जबरिया जोडी’ले बुक गरिसकेका छन् । त्यही कारण इच्छा हुँदाहुँदै पनि चोपडाले फिल्म छाड्नु परेको छ,’प्रवक्ताले भनेका छन् । ‘केसरी’ र ‘जबरिया जोडी’ दुवै फिल्मको पहिलो सेड्युल सुटिङ भइसकेको छ।

तर विशेष स्रोतका अनुसार परिणितीले फिल्म छाड्नमा डेटभन्दा पनि फिल्मको विषय जिम्मेवार रहेको छ । हिट फिल्मको खोजीमा रहेकी परिणितीले मल्टिस्टारर फिल्म खेलेर फाइदा नहुने देखेपछि फिल्म नखेल्ने निर्णय गरेकी हुन् । बसुले बनाउन लागेको नयाँ फिल्म उनले केही वर्ष पहिले बनाएको ‘लाइफ इन अ मेट्रो’ जस्तै हो । सो फिल्ममा शिल्पा सेठ्ठी, कंगना रनावत, कोनकना सेन शर्मा, इरफान खान आदि कलाकारको अभिनय रहेको थियो । सो फिल्ममा मुम्बईलाई पृष्ठभूमि बनाएर साना साना कथाहरू प्रस्तुत गरिएको थियो । बसुले फेरि एक पटक यस्तै फिल्म बनाउन लागेको र परिणितीले फिल्ममा राजकुमार रावको अपोजिटमा काम गर्नु पर्ने थियो।

परिणितीको पछिल्लो रिलिज ‘नमस्ते इंग्ल्यान्ड’ बक्स अफिसमा सुपर फ्लप साबित भएको थियो । उनको पहिलो फिल्म ‘इशकजादे’को जोडी अर्जुन कपुरसँग ५ वर्षपछि स्क्रिन सेयर गरेको रुपमा फिल्मलाई प्रतिक्षित मानिएको थियो । तर फिल्मले लगानीको एक भाग पनि पैसा रिकभर गर्न सकेको थिएन । त्यसैले परिणिती ‘केसरी’ र ‘जबरिया जोडी’मा ध्यान केन्द्रित गर्न चाहान्छिन् । ‘केसरी’मा परिणिती अक्षय कुमारको श्रीमतिको भूमिकामा देखिनेछिन् भने ‘जबरिया जोडी’ मा उनलाई सिद्धार्थ मल्होत्राको अपोजिटमा देखिनेछ । तत्कालका लागि भने परिणिती थाइल्यान्डमा छुट्टी मनाइरहेकी छिन्।

प्रकाशित: १२ कार्तिक २०७५ ०५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App