सञ्जालभित्रको संसार

सोमबार, १२ कार्तिक २०७५, ०९ : १८ अनन्तराज लुइँटेल

बडादसैंको तेह्रौँ दिन अर्थात् त्रियोदशीको बिहानैदेखि सामाजिक सञ्जालहरूमा पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीले घुँडा धसेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गरेको फोटो भाइरल बन्यो।

पराजुली लामो समय न्यायाधीश भएर न्याय सम्पादन गरी केही महिनाअघि मात्रै अवकास दिलाइएका पूर्वप्रधान न्यायाधीश हुन्। न्यायपालिकाको पूर्व प्रमुख जस्तो व्यक्तिले किन राष्ट्रपति समक्ष त्यसरी घुँडा जोतेर टीका ग्रहण गरेका होलान् भन्ने विषयमा समाज र सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ।

राष्ट्रपति कार्यालयले बसाइको उचित प्रबन्ध नगरेकामा धेरैको गुनासो छ भने न्यायपालिका जस्तो स्वतन्त्र निकायमा जीवन बिताएका व्यक्तिहरूको यसप्रकारको सार्वजनिक जीवनले न्यायालयकै धज्जी उडेको विश्लेषण पनि साथैमा गरिएको छ। एउटा निर्वाचित जनप्रतिनिधिले राष्ट्रपतिको भूमिका निर्वाह गर्दा अर्काे व्यक्तिप्रति गरिने व्यवहारलाई राजनीतिक प्रणालीको ऐनाको रूपमा समेत हेरिएको छ।

आजका मितिसम्म राष्ट्रपति कार्यालय वा पराजुलीमध्ये कोहीबाट पनि फोटो आधुनिक प्रविधिको दुरुपयोगको उपज भएको दाबीसहित खण्डन गर्न नसकेकाले फोटोको आधिकारिकतामा प्रश्न उठाउने ठाउँ छैन। फोटो राजनीतिक, सामाजिक र व्यक्तिगत मर्यादाको ऐना बनेको छ। शासन व्यवस्थाको कुरा गर्ने हो भने प्रधान न्यायाधीश भइसकेको व्यक्तिलाई राष्ट्रपतिबाट गरिएको त्यस्तो कार्य कुनै पनि हिसाबले संस्कारजन्य, मर्यादाजन्य र उचित मान्न सकिँदैन।

आधुनिक लोकतन्त्र मन पराउने प्रत्येक व्यक्तिका लागि यो फोटो एउटा लज्जाको विषय हो । कुलीन तथा व्यक्तिगत दम्भका भरमा चल्ने शासन व्यवस्थाका लागि यस्तो कार्य सुहाउला तर सामान्य समझले काम गर्ने कुनै पनि शासन व्यवस्था, राजनीतिक प्रणाली वा सामाजिक संस्कारका लागि घृणित कार्य हो। एउटा इमानमा बस्ने व्यक्तिका लागि समेत आफैँलाई शपथ दिलाउने व्यक्तिलाई घुँडा टेकाएर टीका लगाइदिने कार्य लज्जाको विषय हो। शपथ खुवाउने पदाधिकारी आफूभन्दा कमै कदको होला तर आदरका हिसाबले कम आ“क्न मिल्दैन।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटकै कतिपय व्यक्तिहरूले राष्ट्रपति कार्यालयले आफ्नो कमजोरीका विषयमा माफी माग्नुपर्ने सार्वजनिक माग गर्दासमेत त्यसको सुनुवाइ भएको छैन। बडामहारानीको ठाँट झल्काउने उक्त फोटोलाई विरोधीले आगामी चुनावमा भजाउलान् या नभजाउलान् समयले नै बताउला।

फेसबुक, ट्विटर, इन्स्टाग्राम, अनलाइन पत्रिका तथा छापाले यो विषयमा प्रशस्त चर्चा गरिसकेका छन्। सामाजिक सञ्जालमा फोटो भाइरल हुन थालेको केही क्षणमै पराजुलीले समेत वास्तविकता नै नबुझी आफ्नो बेइज्जती गरेको प्रतिक्रिया फेसबुकमै पोस्ट गरिसकेका छन् । तर वास्तविकता न उनले सार्वजनिक गर्न सकेका छन्, न त राष्ट्रपति कार्यालयले नै। वास्तविकता त पहिल्यै सार्वजनिक भइसकेको छ, फोटोसँगै । फोटो नै जस्ताको तस्तै छापिएपछि अरू के वास्तविकताको पछि लाग्नू ? ढंग नपु-याउँदा आठ महिनाअघि शपथ दिलाउने ती पूर्वप्रधान न्यायाधीश पराजुली र शपथ खाने राष्ट्रपति भण्डारी दुवै सञ्जालको जञ्जालमा परेका छन्।

शथप खुवाउने र खाने जञ्जालमा परेको त यो दसैँ चलिरहँदाको कुरा भयो । दसैँको लगत्तै अघि नेकपाका नेता वामदेव गौतम र सोही दलका सांसद रामवीर मानन्धरसमेत सञ्जालको जञ्जालबाट उत्रिन सकेनन्। काठमाडौँको क्षेत्र नं. ७ गौतमलाई छाडिदिन खोज्दा मानन्धर र गौतममाथि साढे सातको दशा देखाप-यो । यसले दुवैको राजनीतिक भविष्य चौपट बनेको छ । एक हप्तासम्मको लगातारको विरोधको तारो बनेपछि गौतम आफैँले बाध्य भएर सो दाबी त्यागेका छन् भने अहिल्यै अन्यत्र समेत कुनै अर्काे दाबी गरिहाल्न सक्ने अवस्था छैन । पार्टीमा उनले जतिसुकै राम्रो भूमिका खेलेको भए पनि सर्वसाधारणले उनको सत्ता तिकडमको चाल पाइसकेका छन्।  

सामाजिक सञ्जालको शक्ति समाजमा छरपस्ट भइसकेको छ । केही अघि मात्रै गृहमन्त्री रामबहादुर थापा बादलले समाजमा बढिरहेका बलात्कार र महिला हिंसाका घटनाको बढोत्तरीका लागि फेसबुक र मदिरालाई दोष दिएका छन् । सके माइतीघर मण्डलामा विरोध गर्न रोकेझैँ दुवैलाई बन्द गर्दा हुन् बादल । सायद सामाजिक सञ्जाल बन्द गर्न सके विरोध कम हुन्थ्यो होला, सरकारी दाउ यही हुनुपर्छ।

सञ्जालको फाइदा बेफाइदा दोहोरै छ । अदालतहरूमा दिनदिनै सम्बन्धविच्छेदका घटना दर्ता भइरहेका छन् । तिनका पछि पनि थुप्रै कारण छन्, फेसबुक जस्ता सञ्जाल । सञ्जालको प्रयोग निकै जटिल बन्दै गएको छ । पहिला पीडित महिलाहरू अदालत पुग्थे, सम्बन्ध टुटाउने दाबी लिएर, तर अहिले पुरुष अघि बढिसकेका छन् । धेरैजसोमा आफ्ना विश्वासका मानिसहरूले धोका दिएको र त्यसको पृष्ठभूमिको काम सञ्जालले गरेको आरोप जो लगाउने गरिएको छ । फोटो र शब्द आदानप्रदानबाट त्यस्तै झल्किन्छ, कतिपय मुद्दाहरूमा।

तीन वर्षअघि ओली नेतृत्वकै सरकारका कृषिमन्त्री हरिप्रसाद पराजुलीले समेत सामाजिक सञ्जालकै कारण जागिरबाट हात धुनुपरेको थियो । धान दिवस मनाउन खेतमा पुगेका पराजुलीले रोपाहासँग गरेको कृत्य सञ्जालमा फैलिएपछि उनी जञ्जालमा नपर्ने कुरै थिएन।  

सञ्जालको जञ्जालमा परेका धेरै घटनाहरू समाचारको विषय बन्न पुगेका छन् । हुँदाहुँदा पियारी पासो (हनी ट्रयापिङ) पछिल्लो कालमा प्रयोगमा आउन थालेको र प्रहरीले अनुसन्धान गरी त्यस्तो सञ्जालको प्रयोग गरी पियारी पासो हाल्नेहरूलाई थुनछेक गर्नुपर्ने अवस्थामा पुगेको छ। कोही पक्राउ परेका होलान्, कोही पक्राउ नपर्ने अवस्था पनि होला, तर सञ्जाललाई दोष दिएर उम्कने परिपाटी उचित होइन।  

उता भर्खरै नेपालमा पनि सञ्जालमा मि टु अभियान सुरु हुन लाग्दा महिला हिंसाको विषयमा केही न केही प्रभाव पर्न सक्ने देखिँदै छ । पश्चिमा देश हुँदै भारतलाई समेत लपेटेर अघि बढेको यो अभियानले नेपालका शक्तिशालीहरूलाई पनि लपेट्न सक्ने देखिँदै छ । भलै आरोप लगाइदिए पुग्ने, प्रमाण दिन नपर्ने भन्ने आधारमा यो अभियानविरुद्ध नेपालमा मात्रै नभएर भारतमा समेत आलोचना नगरिएको होइन । तर, भरपर्दाे प्रमाण नै हुन्थ्यो भने त मुद्दै चलिहाल्थ्यो भन्नेहरू पनि नभएका होइनन्।  

धन्न खसीको टाउको र फिला प्रकाशित गर्ने काम यसपटक कम भइरहेछ । मार हान्दै गरेका फोटोहरू पनि प्रकाशित भए कतिपयका वालहरूमा । यसले समाजमा आतंक मात्रै सिर्जना गरेको थियो।

धेरै लाइक पाउने फोटो पोस्ट गर्न मानिसहरू जस्ता पनि हर्कतमा उत्रिरहेका छन् । कतिपयले त आत्महत्या गर्नुअघि फेसबुकमा सुसाइड नोट नै छाड्ने गरेका घटनासमेत हाम्रै मुलुकमा घटिसकेका छन् । त्यस्ता सञ्जालमा पोस्ट गरेका सुसाइड नोटका कारण अपराध पत्ता लगाउन सजिलो नहुने कुरै भएन । पोस्टकै कारण लोकेसन पत्ता लगाउन प्रहरीलाई समेत सजिलो भएको हुनसक्छ।

दैवी प्रकोपमा समेत ज्यान जोगाउन भन्दा पनि फोटो पोस्ट गर्नतिर मानिसहरूको ध्याउन्न गएको देख्न र सुन्न पाइन्छ । यदाकदा विदेशीहरूमा समेत यही मनोविज्ञानले काम गरिरहेको सुन्नमा आउँछ । कतिपयले समुद्रको छालमा अथवा भीर, खोलमा सेल्फी लिँदै गर्दा ज्यानै गएका घटनाहरू पनि सार्वजनिक भइरहेका छन्।

धेरै लाइक पाउन केसम्म गर्छन् भन्ने विषयमा अल्जेरियाको एउटा घटना गत वर्ष सार्वजनिक भएको थियो । असार ७, २०७४ मा अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले प्रकाशित गरेको समाचारअनुसार फेसबुकमा लाइक पाउने लोभमा आफ्नो २ वर्षको बच्चालाई पन्ध्रौँ तल्लामाथिबाट झुन्ड्याउने एक बाबुलाई त्यहाँको एक अदालतले २ वर्ष कैदको सजाय सुनाएको थियो।

बच्चाको टिसर्टमा देब्रे हातले समाएर दायाँ हातले सेल्फी लिएका ती बाबुले फेसबुकमा लेखेका थिए, ‘एक हजार लाइक, नत्र यसलाई तल भारिदिन्छु ।’ आफ्नै बाबुले यति घृणित काम गर्न सक्दैन भन्दै ती बाबुमाथि आतंककारी व्यवहार गरेको अभियोगमा मुद्दा चलाइएको थियो । उनले भने मुद्दाको दौरान धेरै लाइक पाउन त्यस्तो हर्कत गरेको अदालतमा साबिती बयान दिएका थिए।
 
सामाजिक सञ्जाल नै यति बलियो भइसक्यो कि मानिसहरू बाध्य भएर आफ्नो मत जाहेर गर्छन् र सरोकारवालाहरूले बाध्य भएर आफ्नो प्रस्टीकरण दिन्छन् । यो त सकारात्मक परिवर्तनको कुरा भयो । अपराधीलाई समेत सजिलो वा अप्ठ्यारो दुवै भएको पनि देखिँदै छ । सञ्जालको प्रयोग एउटा परिवर्तन हो । सीमित मिडियाको अस्तित्व छँदाखेरि मिडियासँग डराउनुपर्ने शक्तिशालीहरू अहिले हातहातमा छुरारूपी सञ्जालीय हतियार लिएका जनतासँग नतर्सिने कुरै छैन।

‘आइ फिअर थ्री न्यूजपेपर्स मोर द्यान थाउजेन्डस् अफ बायोनेट्स’ भनेर अखबारसँग आफू डराएको प्रतिक्रिया दिने नेपोलियन बोनापार्ट उनको जमानामा अखबारको शक्तिलाई संगीन हतियारको शक्तिसँग दाँज्थे । अहिले उनी ज्यूँदा हुन्थे भने सायदै सञ्जालधारी प्रत्येक जनतासँग चक्कु रहेको र त्यसबाट आफू सधैँ तर्सिएको प्रतिक्रिया दिन पछि पर्ने थिएनन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

iOS १३ आइफोन सिक्स एसभन्दा पछि र सँगै रिलिज भएका आइफोनहरूमा उपलब्ध हुनेछ ...

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

Ncell Footer Ad