४ वैशाख २०८१ मंगलबार
समाज

जनप्रतिनिधिसहित पाँच जना थुनामा

दाङ/रुकुम - पूर्वी रुकुममा शिक्षक बेपत्ता पारेको अभियोगमा एक जनप्रतिनिधिसहित पाँच जनालाई पूर्पक्षका लागि जेल चलान भएका छन्। रुकुम पुथा उत्तरगंगा वडा नम्बर २ स्थित आधारभूत विद्यालयका शिक्षक मखनकुमार केसीलाई बेपत्ता पारेको अभियोगमा सोही वडाका अध्यक्ष सतसिंह बुढासहित पाँच जनालाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाएको हो।

कारागार पठाइएका अन्यमा सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जसबहादुर कामी, स्थानीय राजमराज झाँक्री, विनोद खत्री र विकास बुढा छन्। गत साउन ३१ गते केही युवाले शिक्षक केसीलाई कुटपिट गरेका थिए। उक्त घटनाको केही दिनपछि उनी एकाएक बेपत्ता भएका हुन् । अहिलेसम्मको अनुसन्धान अनुसार उक्त घटनामा उल्लिखित पाँच जनाको संलग्नता देखिएको भन्दै जिल्ला अदालतले थुनामा पठाएको हो। ‘अहिलेसम्मको प्रमाणका आधारमा उनीहरू दोषी देखिएका छन्,’ जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले नागरिकसँग भने, ‘थप अनुसन्धानका लागि उनीहरूलाई थुनामै राख्नुपर्ने निचोडमा अदालत पुगेको हो।’ उनीहरूलाई पश्चिम रुकुमस्थित कारागार पठाइएको उनले जानकारी दिए।

रुकुम पुथा उत्तरगंगा वडा नम्बर २ स्थित आधारभूत विद्यालयका शिक्षक मखनकुमार केसीलाई बेपत्ता पारेको अभियोगमा सोही वडाका अध्यक्ष सतसिंह बुढासहित पाँच जनालाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाएको हो।

यसरी भयो घटना
गत साउन ३१ गते शिक्षक केसी कार्यरत विद्यालयको व्यवस्थापन समिति चयन गर्ने कार्यक्रम थियो । उक्त दिन विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जसबहादुर कामी चुनिए । नवनिर्वाचित अध्यक्ष कामीले विद्यालयका शिक्षकसहित आफ्ना शुभेच्छुकहरूलाई आफ्नो घरमा बोलाएका थिए । कामीको घरमा शिक्षक केसी पनि पुगेका थिए । केहीबेरको बसाइपछि एक्कासि शिक्षक केसीलाई कुट्न भन्दै स्थानीय युवा रामराज झाँक्रीले दुई युवालाई आदेश थिए । उनको आदेशपछि स्थानीय विनोद खत्री र विकास बुढा शिक्षक केसीविरुद्ध जाइलागे।

‘के–कति कारणले एकाएक भाइलाई कुटपिट गरियो, हामीलाई केही थाहा छैन,’ शिक्षक केसीका दाजु मोहन केसीले भने, ‘घर टाढा रहेकाले हामीले घटना भएको भन्ने मात्रै सुनेका थियौं ।’ केसीको घरबाट विद्यालय पुग्न पैदल तीन दिन लाग्छ । कुटपिट भएको भोलिपल्ट भदौ १ गते शिक्षक केसी आफूलाई कुटपिट गर्नेहरूविरुद्ध उजुरी दिन वडा कार्यालय गए । तर वडा अध्यक्षले उजुरी लिन मानेनन् । उजुरी दर्ता नभएपछि शिक्षक केसी भदौ १४ गतेसम्म विद्यालय हाजिर भएका थिए । तर १५ गतेदेखि उनी एकाएक बेपत्ता भए । ‘शिक्षक केसी सम्पर्कमा नभएको भनेर हामीलाई विद्यालयबाट जानकारी भयो,’ मोहनले भने, ‘अनि भाइ हराएको भन्ने सुनेपछि म पनि विद्यालय पुगें।’

भाइ फेला नपरेपछि उनले सम्भावित ठाउँहरूमा खोजी गरे । तर फेला पार्न सकेनन् । त्यसपछि मोहनले उजुरी दर्ता गर्न नमान्ने वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र भाइलाई कुटपिट गर्ने तीन जना गरी पाँच जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । उनको उजुरीका आधारमा प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएको थियो । ‘भाइले दिएको उजुरी दर्ता नगरिएको मात्रै हैन, भाइको खोजीका लागि पनि वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले चासो नै नदिएको अवस्था रहेछ,’ मोहनले भने, ‘अनि उनीहरूप्रति पनि आशंका बढ्यो त्यसैले किटानी जोहरी दिएको हुँ।’

अदालत स्रोतका अनुसार वडाध्यक्ष लगायत घटनामा संलग्न आशंका गरिएकाहरूले यस घटनाबारे केही नभन्न वन कार्यालयका एक कर्मचारीलाई कागजै गराएका छन् । वनका ती कर्मचारी घटनाका प्रत्यक्षदर्शी हुन सक्ने अनुमान गर्दै अदालत स्रोतले भन्यो, ‘कसैलाई पनि नभन्नु भनेर वनका कर्मचारीलाई कागजै गराइनुले पनि उनीहरू हालसम्मको प्रमाणका आधारमा दोषी देखिन्छन्।’

यता जिल्ला प्रहरी कार्यालय बेपत्ता शिक्षकको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको बताउँछ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको संयुक्त टोलीले खोजतलास गर्दा पनि उनी नभेटिएको जिल्ला प्रहरी प्रमुख, डिएसपी लोकनाथ तिम्सिनाले बताए । उनका अनुसार यसअघि पनि शिक्षक केसी दुई महिनापछि घर फर्केको घटना भएकाले यसपटक पनि उनी आफ्नै कारणले कतै गएको हुन सक्ने डिएसपी तिम्सिना अनुमान गर्छन् । यद्यपि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०७५ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App