८ वैशाख २०८१ शनिबार
समाज

छात्रावास पाउँदा दृष्टिविहिन फुरुंग

नेपाल हिल्फे वाइलिङग्रिस जर्मन नामक संस्थाद्धारा नवनिर्मित वनदेवी माविको दृष्टिविहिन छात्रावास (सेता) र उसैले रेट्रोफिटिङ गरेको विद्यालय भवन। तस्बिर: ध्रुव/नागरिक

सिन्धुपाल्चोक– विद्यालय हाताभित्रै चिटिक्क परेको सुविधायूक्त छात्रावास भवन पाउँदा दृष्टिविहिन विद्यार्थी कृष्ण थापामगर फुरुंग देखिन्थे। छात्रावासदेखि विद्यालय कोठासम्मको आउ जाउ सहज भएपछि उनी खुशीले गदगद भए।

भूकम्पले उनी अध्ययनरत सदरमुकाम चौतारास्थित वनदेवी माविको भवन क्षतिग्रस्त बनायो। मर्मतपछि विद्यालय भवन सञ्चालनमा ल्याइए पनि छात्रावास भत्काउनै पर्‌यो। भूकम्पपछि पढाइ अघि बढाउन उनले निकै कष्ट सहनु पर्‌यो। व्यक्तिको घरका कोठा भाडामा लिएर चलाएको छात्रावासदेखि विद्यालयसम्म पुगेर पढाइ धान्नु पर्दा कृष्णले शारीरिक र मानसिक पीडा खेपे। साँघुरो कोठा, समयमै शौचालय जान नपाउने लगायत समस्यामा उनले साढे तीन वर्ष गुजारे।

‘फराकिलो होस्टेलमा दुःख पन्छाउँदै रमाएर पढ्न पाउने भएका छौँ,’ आइतबार उनी जस्तै दृष्टिविहिन विद्यार्थीका लागि बनाइएको छात्रावास भवन विद्यालयलाई हस्तान्तरण गरेको दृश्य चासोपूर्वक नियालिरहेका कृष्णले भने। कक्षा सातमा पढ्ने उनी छेवैकी साथी मशली तामाङसँग कानेखुशी गरेर खुशी साट्न भ्याउँथे। आफूजस्तै अरु दृष्टिविहिन साथीको बीचमा बसेकी मशली भने मुस्कुराउँथिन मात्र। ‘होस्टेलभित्रै छात्रा र छात्राका लागि छुट्टाछुट्टै शौचालय छ,’ नुवाइधुवाइ र महिनावारीका बेला हुने समस्या हल भएकोतर्फ संकेत गर्दै नौ कक्षामा अध्ययनरत उनले प्रतिक्रिया दिइन्, ‘विनालाज, घिन निसंकोच बस्न पाउने भइयो।’

दाता नेपाल हिल्फे वाइलिङग्रिस जर्मन नामक संस्थाले छात्रावास भवन निर्माण गरेर भूकम्पपछि गुमेको दृष्टिविहिन विद्यार्थीको खुशी फर्काएको हो। जिल्लाकै पहिलो यो दृष्टिविहिन विद्यालयमा विभिन्न जिल्लाका ११ विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन्।

दाता नेपाल हिल्फे वाइलिङग्रिस जर्मन नामक संस्थाले छात्रावास भवन निर्माण गरेर भूकम्पपछि गुमेको दृष्टिविहिन विद्यार्थीको खुशी फर्काएको हो। जिल्लाकै पहिलो यो दृष्टिविहिन विद्यालयमा विभिन्न जिल्लाका ११ विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन्। भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत निर्मित छात्रावास हस्तान्तरण गर्न दाता संस्थाका पदाधिकारी जर्मनदेखि आएका थिए। हिल्फेका उपाध्यक्ष म्यान फ्रेड लिन्डरले विद्यालयलाई भवन हस्तान्तरण गरे।

भवन संरचना र भित्री व्यवस्थापनमा हिल्फेले ८३ लाख रुपैयाँ खर्चेको संस्थाका प्राविधिक सल्लाहकार इन्जिनियर सञ्जय सापकोटाले बताए। दुईतले छात्रावासमा छात्र÷छात्राका लागि छुट्टाछुट्टै चार शौचालय भान्छा तथा चमेनागृहसहित ६ कोठा छन्। छात्रावासको क्षमता २० जनाको रहेको विद्यालयका शिक्षक लुमडीबहादुर पौडेलले बताए। विद्यार्थीका लागि ओड्ने, ओछ्याउने, खाट, टेबल, कुर्सी लगायत भित्रि व्यवस्थापनका लागि दाताले कार्यक्रम स्थलमै १० लाख रुपैयाँ नगद हस्तान्तरण गरेका थिए ।

हिल्फेले नै २०६७ मा तीनतले १८ कोठे छात्रावाससहितको भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेको थियो। २०७२ वैशाख १२ को भूकम्पले दुवैमा नराम्ररी क्षति पु¥यायो। क्षतिग्रस्त ६ कोठे छात्रावास भवन भत्काउनै पर्ने भयो । विपद्पछि पनि दाताले हात छोडेनन् । बदलालामा अझै बलियो भूकम्पप्रतिरोधी छात्रावासै बनाइ दिए। हिल्फेकै सहयोगमा १२ कोठे विद्यालय भवन रेट्रोफिटिङ (मर्मत) गरेर सञ्चालनमा ल्याइएको छ। मर्मतमा करिब ८० लाख रुपैयाँ खर्चिएको प्राविधिक सल्लाहकार सापकोटाले जानकारी दिए।

जर्मनमा जनस्तरबाट चन्दा संकलन गरेर झण्डै साढे दुई दशकदेखि सिन्धुपाल्चोकको शैक्षिक विकासमा सघाउँदै आएको हिल्फेले नौवटा विद्यालयका भवन निर्माण गरेको थियो। तीमध्ये भूकम्पले सात विद्यालय भवन क्षतिग्रस्त बनायो। ७० कोठे ती विद्यालय रेट्रोफिटिङ गरेर विद्यालयलाई पुनः हस्तान्तरण गरिसकेको दाता संस्था हिल्फेले जनाएको छ।

उसका अनुसार भूकम्पपछि संरचना अभाव रहेका पूरानै विद्यालयमा  १ सय ८ कोठे ११ वटा भवन निर्माणमा संस्थाले सघाइ रहेको छ । यसमध्ये निर्माण सम्पन्न ३४ कोठे चार विद्यालय भवन हस्तान्तरण गरिसकिएको छ । ‘निर्माणाधीन सात विद्यालय भवनका ७४ कोठा आगामी असारभित्र हस्तान्तरण गर्दै छौँ,’ संस्थाका प्राविधिक सल्लाहकार सापकोटाले भने।

प्रकाशित: ११ कार्तिक २०७५ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App