८ वैशाख २०८१ शनिबार
खेल

बुटवल ब्लास्टर्सको लगातार दोस्रो जित, पोखरा पल्टन ३३ रनले पराजित

काठमाडौं– बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्दै महत्वपूर्ण २ अंक जोडेको हो।

बुटवलले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो। यता पोखरा पल्टनले भने पहिलो खेलमा विराटनगर टाइटन्सलाई हराएको थियो।  बुटवल ब्लास्टर्सले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याएको पोखरा पल्टन २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रनमा समेटियो।

पोखराका लागि आसिफ शेखले सर्वाधिक २० रनको योगदान दिए। उनले १५ बलमा ४ चौंका प्रहार गरे। त्यस्तै सरद भेषवाकरले १९, रभिन्दर सिंह र मोहम्मद नभिदले ११–११ र रसिद खानले १० रन बनाएपछि अन्य ब्याट्म्यानले दोहोरो रनको स्कोर छुन सकेनन्। पोखरालाई सस्तैमा समेटन बुटवलका सोमपाल कामी, ललित भण्डारी र विपिन खत्री र रोहन मुस्तफाले २–२ र सागर पुनले एक विकेट लिए।

यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १५० रन बनाएपछि पोखराले १५१ रनको लक्ष्य पाएको थियो। बुटवलका लागि भिम सार्कीले सर्वाधिक ५४ रनको योगदान दिए। उनले ४६ बलमा २ चौंका र ३ छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरे।

त्यस्तै रोहन मुस्तफाले पनि ४५ रनको इनिङ खेले। उनले ३५ बलमा ३ चौंका र २ छक्का प्रहार गरे। अन्य ब्याट्म्यानमा सोमपाल कामीले ८ बलमा २ चौंका र १ छक्काको सहायतामा २२ र सिद्धान्त लोहनीले ११ बलमा १ छक्काको मद्दतमा १३ रनको योगदान दिएपनि अन्यको प्रदर्शन सम्झनलायक रहेन। बुटवल ब्लास्टर्सले ३ विकेट अन्तिम ओभरमा गुमाएको थियो।

बुटवललाई १५० रनमा समेटन पोखरा पल्टनका मोहम्मद नभिदले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चिदै ४ विकेट हात पारे। त्यस्तै मेहेबुब आलम, ललितनारायण राजवंशी र सरद भेषवाकरले समान १–१ विकेट लिए। बुटवल ब्लास्टर्सको नेतृत्व सोमपाल कामी र पोखरा पल्टनको नेतृत्व सरद भेषवाकरले गरेका छन्।

प्रकाशित: ११ कार्तिक २०७५ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App