८ वैशाख २०८१ शनिबार
विचार

माओवादी डेरावालका कथा-ब्यथा

काठमाडौंमा डेरा सर्नु महाभारत हो। अझ मन परेको ठाउँ र मनकारी घरबेटी, सुविधाजनक चर्पी र पानीको छेत्तोखेलोको डेरा पाउनु भनेको त युद्ध जित्नैबराबर हो। एकल युवा र दलितले त कोठै पाउन हम्मेहम्मे पर्छ। पत्रकार र नेताले पनि हम्मेसी डेरा पाउँदैनन्। डेरावाललाई घरभेटीले कसरी हेरिरहेका हुन्छन् भन्ने कुराले हाम्रो समाजिक र राजनीति मनोविज्ञानको तस्बिर  बनिरहेको हुन्छ। पेशा र जातिप्रति समाजको यो नजरियाले मिडिया र राजनीतिको हैसियत र चश्मा पनि बन्छ।

हरेक घरबेटी, पार्टी नेता र मिडिया–मालिक भनेका उस्तै/उस्तै हुन्। घरबेटीले आफनो घर, नेताले आफ्नो पार्टी र मिडिया–मालिकले आफ्नो मिडियालाई त राज्य नै सोच्छन्। उनीहरु भाडावाल, कार्यकर्ता र पत्रकार सबैलाई आफ्ना प्रजामात्र सोच्ने गर्छन्। घरबेटीलाई भाडा तिरेर मात्र पुुग्दैन, नेतालाई नीति, सिद्धान्त, कार्यक्रमको असल अभियन्ता, कुशल संगठक, राम्रो प्रचारक भएरमात्र पुुग्दैन्, मिडिया मालिकलाई युुगको, समाजको, राज्यका आँखा नपुुगेको ठाउँ र  आवाजहीनहरुको आवाज बन्ने योग्यता, क्षमता र दक्षता भएरमात्र पत्रकारको योग्यता  पुुग्दैन् (यो मर्म पत्रकारको अभिभावक र कर्पाेरेट हाउसको व्यवस्थापक...दुवै बन्नुपरेको भुक्तभोगी सम्पादकलाई मात्र थाहा हुने गर्छ)। स्तरअनुसारको जीहजुरी, चाप्लुसी, लबिङ र प्रतिनिधि बन्नु आवश्यक हुन्छ। नत्र भलो हुँदैन्।

ओहो... कुनै दिन तोप बन्ने अक्षरहरुको दयनीय अवस्था भनेको माओवादी जनयुद्धको अहिलेको अवस्था हो। पत्रु भएका माल, खिया लागेका हतियार र सन्दर्भहीन भएका विचारको महत्व नै के हुन्छ र?

कलमकार जनयुद्धकालीन माओवादी पृष्टभूमिबाट आएको काठमाडौंको डेरावाल हो। राजनीतिक पृष्टभूमि भएका डेरावाललाई त डेरा सर्नु झन् समस्या बन्छ। भाडा तिरेर मात्र हुँदैन्। पहिलो कुरा कुन राजनीतिक पार्टी, त्यसको सिंहदरवारको हैसियत, सोचअनुसारको चिन्तन र घरबेटीको सो पार्टीप्रति धारणाले पनि काम गर्छ भने अझ पार्टीलाई खाइखेलो बनाउन नसक्ने वा राजकीय पदहीन डेरावालहरुको औकात नाप्ने तराजु डेराको मूलढोकैमा टाँगिएको हुन्छ।    

पार्टी फेर्दा राजनीतिक कार्यकर्ताको जुन हविगत हुन्छ, डेरा सर्दा पनि नयाँ डेरावालको हालत त्यस्तै हुन्छ। पुरानो पार्टी र नेतालाई चिच्याएर सराप्नुपर्ने, पुरानो नीतिविधिलाई उछित्तो काढ्नुपर्ने, नयाँको प्रशस्तीमा गुणगानका भजन कथ्नुपर्ने र त्यसैलाई सिद्धान्त भन्नु र मान्नुपर्ने हुन्छ। गाली महात्म्य त हाम्रो राजनीति–संस्कृतिकै अंगै भयो। नत्र भविष्यको जोगाड हुनै सक्दैन्। पार्टी फेर्दा नि धेरै कुरा छाड्नुपर्छ र नयाँको जोगाड गर्नुपर्छ, डेरा सर्दा पनि त्यस्तै हो। धेरै थोत्रा र पुराना कुरा छाड्नुपर्ने वा कवाडीलाई बेच्नुपर्ने अथवा मिल्क्याउनुपर्ने हुन्छ। नयाँ घरबेटी त आँखैमा हाल्दा नि नबिझाउने भन्नैपर्छ।

म भने अहिले नयाँ डेरा सार्न सामान मिलाउने क्रममा पुराना किताब/पत्रिका र दस्तावेज छान्दैछु। मेरा सामने ती लेखक आउँछन्, अक्षर संवेदना बनेर चिच्याउँछन्, सपना डुक्रिन्छन्, संगालिएका पुस्तकका लेखककै वर्तमान डाँको छाडेर रुन्छन्। सामने जनयुद्ध पहिलादेखिकै पुुस्तक पत्रिका असरल्ल परेका छन्। आफ्नै लेख रचनाले पनि जिस्क्याइरहेका छन्। ती हेर्छु, लेखक हेर्छु, हिजो हेर्छु, आज गम्छु। अनि तर्सन्छु। जनयुद्धकालीन नेताहरुका लेख माओवादी कार्यकर्तालाई ब्रह्मवाक्य र अन्तिम आदेश हुन्थे, जनादेश पत्रिका सकर्ुृलर बन्थ्यो। अन्य पुस्तक र मिडियालाई प्रतिक्रियावादी चित्कार भनेर आलोचनात्मकरूपमा पढिन्थ्यो। त्यसैले भन्नुपर्छ–आलोचनात्मक चेत निषेध भएको अवस्थामा पार्टीका मुख्य लेखकका कोटेसन सिरानमा राखेर भाइ–लेखक र सोन्दर्यशास्त्रीहरु  क्रान्तिकारी रचना रच्थे, कत्थे। नेताहरुलाई चाकरी बजार्न महामानव बनाउँथे। गीत हँुदैनथ्यो, भजन हुन्थे। ती सबैका अक्षर पुस्तक बनेर अहिले मेरा सामने छन्। किताबसँंगै उनीहरुका तस्बिर छन्। सँगै देखिन्छन्– वर्तमानमा कथ्यकारहरुका वर्तमानका भूमिका, समीप्यता, अक्षरले दिएका हुकुमको जिन्दगानी। संकलित सामग्रही राखौँ, फ्याँकौँ वा कवाडीलाई लिलाम गरौँ? अझ सोही पृष्ठभूमिको संवेदनशील राजनीतिक कार्यकर्ता छ भने उसको पुरानो डेरा छाडेर नयाँ ठाउँमा जाँदा पुराना संगालिएका वस्तुहरुमा के, के नयाँ डेरामा लैजाने? के, के छाड्ने? के, के कवाडीलाई बेच्ने? के के कवाडीले पनि नलाने वस्तु हुन्छ भनेर छुुट्याउनै मुस्किल पर्छ।

संकलनमा  सिद्धान्त, आचरण, आदर्श र सपनाका प्रतीक बनेका लेखक र नेताहरुका फोटा पनि रहेछन्, उनीहरुले लेखेका पुस्तक छन्। नायक र शहीदका तस्बिर पनि छन्। ती सबैलाई कस्तो व्यवहार गर्ने भन्ने कुरा समस्या सुविधाजनक वर्तमानमा जिइरहेको डेरा सर्ने डेरावालको समस्या बन्छ। न हिजोका आदर्श पछ्याउन सक्ने, न हिजोको इतिहास त्याग्न सक्ने दोधारमा ऊ हुन्छ। केही लेखक र नेताहरुले आफ्नै हिजोका पुस्तक र आदर्शकालीन फोटोमाथि आची गरेको नांगो आँखाले देखिरहेको अवस्थामा संकलनको अर्थ नै के रहन्छ र? लोकले महसुस् गरेको पनि छ।

ती पुस्तक र फुटाहरु कहिले मलाई आदेश बन्थे,  गुरुमन्त्र बन्थे,  लडाइँका कासन बन्थे, अहिले मलाईमात्रै हैन् लेखकलाई समेत ती बोझ बनिरहेका छन्। सन्दर्भग्रन्थ बनाएर भाडाको कोठा ओगट्न पनि सकिन, कवाडीलाई त सित्तै दिन्छुभन्दा पनि काम नलाग्ने कागज भनिदियो। ओहो... कुनै दिन तोप बन्ने अक्षरहरुको दयनीय अवस्था भनेको माओवादी जनयुद्धको अहिलेको अवस्था हो। रगतसँग साटेर सुरक्षित राखिएका पुस्तकको हविगत देखेर म चिन्तत छु,, घोरिएको छुु। पत्रु भएका माल, खिया लागेका हतियार र सन्दर्भहीन भएका विचारको महत्व नै के हुन्छ र?

सिद्धान्त, विचार र हिजोका इतिहासका पुस्तक/पत्रिकाहरु राजनीतिक सफल कार्यकर्तालाई अहिले काउसो नै बनिसके। सिद्धान्तजस्तै पुस्तकबाट कसरी पार पाउने भन्ने भएको छ। चालु वर्तमानलाई सुहाउने र आवश्यक पर्ने पुस्तक/पत्रिका छन् भने त झन छान्नुपर्ने हुन्छ। अहिलेका सान्दभिक पुस्तक भनेका सुन्जु, चाणक्य, माइकावेली महाभारतमा पनि विदुर निित र भात्रीहरि नीति हुन। सिद्धान्तका पुस्तक कति धमिराले खाएका छन्, कति कुहिएका छन्, कति अर्थहीन भएका छन् राजनीतिक कार्यकर्ता त्यसमा पनि माओवादीलाई। लेखक/सम्पादकले नै हिजो सुनौलो र गर्बिला अक्षर भनेर लेखेका तर अहिले त्यसैमा शिकार गरिसकेका छन्  भने  एउटा कार्यकर्ता बनेको पाठकले केलाई माया गर्ने? केलाई घीन मान्ने? कवाडीले पनि वास्ता नगरेको पुस्तक कसरी फाल्ने? कहाँ फाल्ने? सुरक्षित राख्ने हो भने किन राख्ने? प्रश्नको उत्तर हुँदैन।

म अहिले नयाँ डेरा सार्न किताब/पत्रिका छान्दै गर्दा मेरा सामने नायकबाट खलनायकमा फेरिएका कयौँ लेखकका ङिच्च परेका अनुहार देखिन्छन्। अक्षरहरु संवेदना बनेर चिच्याउँछन्, लेखककै पुराना हुँकार वर्तमानमा डाँको छाडेर रुन्छन्। मेरा सामने जनयुद्धपहिलादेखिकै असरल्ल पुुस्तक/पत्रिका, लेख/रचनाले युुगलाई जिस्क्याइरहेका छन्। ती हेर्छु, लेखक हेर्छु।  हिजो हेर्छु। आज गम्छु। अदृश्य भूतदेखि तर्सन्छु। डेरा सार्ने क्रममा पुस्तक छान्दै जाँदा कथाकार नयनराज पाण्डेको 'निदाएँ जगदम्बे' भन्ने कथा असल सूत्राधार बनिदिएको छ।

कथाकार पाण्डेको कथाको मर्म भनेको जुन पुस्तक र संकलकले विगत आदर्शको प्रतिनिधित्व वर्तमानमा गर्दैन् त्यसलाई स्वयम् लेखकले नै मुर्दावाद भनिसकेको हुन्छ, संकलकले पनि नायक र खलनायक सोचेर त्यस्ता सामग्री संकलन गरेको हुन्छ र त्यो मर्म धान्न सक्दैन भने ती रचनाबाट पिण्ड छुटाउनुपर्छ।

प्रकाशित: ७ आश्विन २०७३ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App