८ वैशाख २०८१ शनिबार
शिक्षा

नक्कली प्रमाणपत्रले जागिर खानेमा शिक्षक बढी

काठमाडौं - नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्येमा सबैभन्दा धेरै शिक्षक भेटिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका हुन्। दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको भेटिएको हो। विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ।

अख्तियारमा उजुरी परी अनुसन्धानबाट ठहर भएकामध्ये प्राथमिक र निम्नमाध्यमिक विद्यालय स्तरमा पठनपाठन गराउने शिक्षकका प्रमाणपत्र र लब्धांकपत्र नक्कली भेटिने गरेका हुन्। जागिर खाइरहेका र कतिपय जागिरबाट निस्केका समेतको नक्कली प्रमाणपत्र भेटिने गरेको छ।

विशेष अदालतले शुक्रबार मात्रै चारजना शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर ग-यो। विशेष अदालतबाट एकैदिनमा हरिचन्द्र काँदु गुप्ता, भगवती क्षेत्री गौतम, भुवनराज पण्डित र राजेशकुमार चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली ठहर भएको थियो। एसएलसीलगायतका प्रमाणपत्र नक्कली बनाएर जागिर खाएको उजुरी अख्तियारमा पर्ने गरेको छ। अख्तियारमा पर्ने सबैभन्दा धेरै उजुरी नक्कली शैक्षिक प्रमाणपत्रकै हुने गरेका छन्। उजुरीमाथि प्रारम्भिक अनुसन्धान गरी अख्तियारले विशेष अदालतमा आरोपपत्र दर्ता गर्ने गरेको छ।

एसएलसी पास गर्न नसक्दा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खाने शिक्षक भेटिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले बताए। ‘अख्तियारमा पर्ने उजुरीमध्ये नक्कली प्रमाणपत्रसम्बन्धी धेरै हुन्छन्,’ उनले भने, ‘जहाँ जागिरका लागि कम प्रतिस्पर्धा हुन्छ, त्यहाँ किनेर ल्याइएका प्रमाणपत्र भेटिने गरेका छन् ।’ शिक्षकबाहेक सार्वजनिक संस्थानहरुमा जागिर खाने सहायक स्तरका कर्मचारीले समेत नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खाने गरेको उनले बताए। कतिपय कर्मचारीले बढुवाका लागि समेत नक्कली प्रमाणपत्र पेस गरी फाइदा लिने गरेका छन्।

धेरैजसो नक्कली प्रमाणपत्र एसएलसीको हुने गरेको छ । त्यसपछि आइएका प्रमाणपत्र नक्कली भेटिने गरेका छन् । आइएका यस्ता प्रमाणपत्रमध्ये धेरैजसो बढुवाका लागि पेस गरिएको पाइन्छ । तत्कालीन जिल्ला विकास समिति, नगरपालिकाजस्ता स्थानमा सानो तहमा भनसुनका आधारमा जागिर खानेसमेत नक्कली प्रमाणपत्रमा तानिने गरेका छन् । त्यसैगरी गुप्तचरसमेतले नक्कली प्रमाणपत्र बनाएर जागिर खाने गरेको अख्तियारको अनुसन्धानका क्रममा भेटिएको सहायक प्रवक्ता कोइरालाले बताए।

अख्तियारको अनुसन्धानमा २०७० सालयता १५ सय ३९ जनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको भेटिएको छ । २०७४ चैतदेखि २०७५ जेठसम्म अख्तियारबाट विशेष अदालतमा नक्कली प्रमाणपत्रसम्बन्धी ३४ मुद्दा दर्ता भएका छन् । गत दुई महिनामा दर्ता भएका ६६ मुद्दामध्ये आधाभन्दा बढी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेका सम्बन्धी छन्।

कसरी हुन्छ छानबिन
अख्तियारमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै उजुरी पर्ने गर्छ । त्यसपछि उजुरीका आधारमा सम्बन्धित संस्थामा अनुसन्धानको काम सुरु गर्ने अख्तियारका सहायक प्रवक्ता कोइरालाले बताए। ‘उजुरी पर्नेबित्तिकै सम्बन्धित संस्थामा बुझ्न जान्छौं,’ उनले भने, ‘त्यसपछि राष्ट्रिय परीक्षा बोर्ड, त्रिभुवन विश्वविद्यालयमार्फत अनुसन्धान अघि बढाउँछौं।’ ती संस्थाबाट शैक्षिक प्रमाणपत्र नक्कली भए ‘नट भेरिफाइड’ भन्ने उत्तर आउँछ। त्यसपछि विशेष अदालतमा आरोपपत्र दर्ता हुने गरेको छ । नक्कली भएको पुष्टि भएपछि मात्रै अदालतमा मुद्दा दर्ता गरिन्छ।

प्रकाशित: ११ कार्तिक २०७५ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App