coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको कतार भ्रमण ‘कूटनीतिक अपरिपक्वता’

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएसँगै आफ्नो पहिलो भ्रमण कतारबाट सुरु गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारी सोमबार कतारका अमिर शेख तमीम विन हमाद अल थानीको निमन्त्रणामा त्यसतर्फ जान लागेकी हुन्।

सोमबार जान लागेकी राष्ट्रपति भण्डारीको १५ गतेसम्म कतारमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। भण्डारी लामो समयदेखि अरेबियन मुलुकले नाकाबन्दीका कारण समस्याग्रस्त बनिरहेको कतारमा हुन लागेको भ्रमणलाई कूटनीतिक मामिलाका जानकारले भने कूटनीतिक अपरिपक्वता भनेका छन् । कुटनीतिक मामिलाका जानकार एवं पूर्व राजदूत जयराज आचार्य विवाद भइरहेको मुलुकमा सकेसम्म राष्ट्रप्रमुखको भ्रमण हुन नहुने बताउँछन्।

‘कतार हामो लागि महत्वपूर्ण हो तर अहिले त्यहा नाकाबन्दीको अवस्था छ, त्यसबारेमा नबुझी भ्रमण गर्नु राम्रो होइन,’ आचार्यले भने । नाकाबन्दी किन भइरहेको छ भन्ने कुरा बुझ्न आवश्यक रहेको उनको भनाइ छ । भण्डारीको कतार भ्रमणले नेपाललाई तत्कालै प्रतिकूल असल नपरे पनि यसले कूटनीतिको प्रयोग सस्तो रूपमा भइरहेको भने देखिने आचार्य बताउँछन्। ‘राष्ट्रप्रमुख जसले बोलायो त्यतातिर जाने होइन, कूटनीतिक मान्यताको पालनामा पनि ध्यान दिनुपर्छ,’ आचार्यले भने।

पराराष्ट्र मन्त्रालयका उच्च अधिाकारी भने कुनै पनि मुलुकले अन्य मुलुकसँगको सम्बन्धभन्दा पनि आफ्नो स्वार्थलाई प्राथमिकतामा राख्नुपर्ने बताउँछन्। ‘कतारमा लाखौँ नेपाली कामदारले काम गरिरहेका छन्, हाम्रा कामदारको हित हाम्रो प्राथमिकता हो, त्यसैले हामीलाई अरुको सम्बन्ध कस्तो छ भनेर हेर्न आश्वयक हुँदैन,’ ती अधिकारीले भने। उच्चस्तरको भ्रमणले कतारमा कार्यरत नेपाली कामदारको हित प्रवद्र्धनमा सहयोग पुग्ने ती अधिकारीको दाबी छ। ‘हामीले हचुवाको भरमा राष्ट्रपतिको भ्रमण तय गरेको होइन, यसबाट नेपाल र नेपाली कामदारका पक्षमा सकारात्मक प्रभाव पर्ने निश्चित भएरै भ्रमणको तय गरिएको हो,’ उनले भने। मुलुकका आपसी विवादका कारण कुनै अर्काे मुलुकको राष्ट्रप्रमुखले भ्रमण गर्न नहुने भए कुनै न कुनै मुलुकको सम्बन्ध अर्काे मुलुकसँग बिग्रिएको हुनाले कुनै पनि मुलुकको भ्रमण गर्न नहुने ती अधिकारीको तर्क छ। राष्ट्रपतिको भ्रमण हतारमा तर नभएर लामो समयको तयारी पछि तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीले कात्तिक १३ गते अमिरि दिवानमा कतारका अमिरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनको सम्मानमा कतारी अमिरले सोही दिन रात्रीभोजको आयोजना गर्ने छन् । राष्ट्रपति भण्डारीले कात्तिक १३ गते नै नेपालमा व्यापार र लगानीको अवसर विषयमा कतारका व्यापारिक समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कतार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दोहास्थित नेपाली दूतावासमा त्यहाँ रहेका नेपाली समुदायसँग भेट्ने छिन्। राष्ट्रपतिको भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागी, राष्ट्रपति कार्यालय र परराष्ट्रका अधिकारी, नेपाली व्यापारिक प्रतिनिधिमण्डल सामेल हुनेछन्। राष्ट्रपति भण्डारी कतारको भ्रमण सकेर कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: ११ कार्तिक २०७५ ०१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App