मुम्बई– बलिउड अभिनेता शाहरुख खान अन्तरिक्ष यात्रीको भूमिकामा देखिने भएका छन्। अर्का अभिनेता आमिर खानले खेल्ने भनिएको फिल्म ‘सारे जहाँ से अच्छा’ मा शाहरुख अन्तरिक्ष यात्रीको भूमिकामा देखिने निश्चित भएको हो।
फिल्मका निर्माता रोनी स्क्रुवालाका अनुसार भारतको पहिलो अन्तरिक्ष यात्री राकेश शर्माको जीवनीमा आधारित रहेर निर्माण हुने फिल्ममा शाहरुख प्रमुख भूमिकामा रहनेछन्। उनलाई अभिनेत्री भूमि पेडनेकरले साथ दिने निर्माता रोनीले जानकारी दिए। फिल्मको शुटिङ्ग २०१९ मा सुरु हुनेछ।
यसअघि फिल्मको प्रमुख भूमिकामा आमिर खान रहने चर्चा थियो। उनसँग प्रियंका चोपडाले खेल्ने भनिएको थियो। तर, शाहरुख र भूमि पेडनेकरले आमिर र प्रियंकालाई प्रतिस्थापन गर्दै फिल्मको मुख्य रोल पाएका छन्।
शाहरुख अहिले डिसेम्बर २१ मा प्रदर्शन हुने आफ्नो आगामी फिल्म ‘जिरो’को प्रवर्द्धनमा व्यस्त छन्।
प्रकाशित: १० कार्तिक २०७५ १५:५४ शनिबार