coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरमा तीन सय विषयगत शिक्षकको दरबन्दी रिक्त

उदयपुर– सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि राज्यले बर्षेनी अर्बौं रकम खर्चदै आएको छ। तर पनि नतिजा चित्तबुझ्दाे आउन नसकेको जगजाहेर छ। विद्यालयलाई गुणस्तरीय बनाउन आवश्यक पहिलो दक्ष जनशक्ति विषयगत शिक्षक हो, त्यही चाही उदयपुरमा छैन्।

यही नभई नहुने विषयगत शिक्षक नै उदयपुरका ८ वटै स्थानीय तहका सामुदायिक विद्यालयहरुमा दरबन्दी अनुसार नभएको पाइएको छ। तत्कालीन जिल्ला शिक्षा कार्यालय र हाल शिक्षा विकास तथा समन्वय इकाई उदयपुरका अनुसार जिल्लामा कायम दरबन्दीमध्ये ३ सयभन्दा बढी विषयगत शिक्षकको स्थान खाली रहेको छ।

प्रत्येक मावि (१–१० र १–१२) तहका सामुदायिक विद्यालयमा कम्तीमा ंअग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपाली विषयगत शिक्षक अनिवार्य राख्नुपर्ने प्रावधान राज्यले बनाए पनि जिल्लाका ४ दर्जन बढी सामुदायिक विद्यालयमा मापदण्ड अनुसार शिक्षक अभाव छ। दरबन्दी अध्यावधिक हुन नसकेपछि विद्यार्थीको दैनिक पठनपाठन प्रभावित हुँदै आएको विद्यालयहरुको गुनासो छ। 

सामुदायिक विद्यालयमा विषयगत शिक्षकको ठूलो अभाव भोग्नु परेकैले चाहेजस्तो र सोँचेजस्तो नतिजा पाउन नसकेको प्रधानाध्यापकको भनाई छ। शिक्षा विकास तथा समन्वय ईकाइको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा १ कक्षादेखि ५ सम्मको आधारभूत तहका लागि विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या रहे पनि १ देखि ८ सम्मका आधारभूत विद्यालयमा शिक्षक दरबन्दी अपुग छ।

समन्वय इकाई प्रमुख हरिहर धितालले माध्यमिक तह (१–१०) का विद्यालयमा स्थायी १ सय २९ र राहत अनुदान १ सय ४६ गरी २ सय ७५ जना शिक्षक कार्यरत रहेको बताए। यो तहमा अध्ययनरत विद्यार्थीको संख्या १२ हजार २ सय ५ रहेका छन्। विद्यार्थीको अनुपातमा यस तहमा शिक्षक संख्या सन्तुलित देखिए पनि प्रतिविद्यालय ५ जना विषयगत (अंग्रेजी, विज्ञान र गणित) शिक्षक आवश्यक पर्नमा ३ सय दरबन्दी कम रहेको धितालको भनाई छ। १–१२ स्तरका माध्यामिक तहको पनि हालत उस्तै रहेको इकाईको भनाई छ।  

१–८ सम्मको आधारभूत (साविक निम्न माध्यामिक) तहका विद्यालयमा स्थायी १ सय ८२ र राहत अनुदान २ सय ४२ गरी ४ सय २४ शिक्षकहरु कार्यरत छन्। सो तहमा १९ हजार ३ सय ६७ विद्यार्थी अध्ययनरत रहेका छन्। १–८ तहमा विद्यार्थी संख्यासँग शिक्षक संख्या सन्तुलित रहेको धिताल बताउँछन् । विषयगत शिक्षकको हकमा भने प्रतिविद्यालय ४ जना हुनुपर्नेमा २४ दरबन्दी रिक्त रहेको ईकाइ प्रमुख धितालले बताए।

१ देखि ५ कक्षा आधारभूत (साविक प्राथमिक) विद्यालयमा ३० हजार ४ सय ५९ जना विद्यार्थी अध्ययनरत छन्। त्यसका लागि स्थायी, अस्थायी, राहत अनुदान र महिला शिक्षकसमेत गरी १ हजार ३ सय ३६ शिक्षक कार्यरत छन्। ४५ विद्यार्थी बराबर कम्तीमा १ शिक्षक हुनुपर्ने प्रावधान हुनुपर्नेमा २४ विद्यार्थी बराबर १ शिक्षक रहेको उनले बताए। १–५ तहका विद्यालयमा विद्यार्थी संख्याको तुलनामा झण्डै ४५ प्रतिशत शिक्षक बढी रहेको उनले बताए। 

राज्यले उच्च प्राथमिक्तामा राखेको शिक्षक दरबन्दी मिलान कार्य संघीयता कार्यान्वयनसँगै अलमलमा परेपछि विद्यालयहरुको यस्तो दुर्दशा भएको हो। विषयगत शिक्षकको अभावमा प्रत्येक दिनको प्रत्येक घण्टी पठनपाठनमा विद्यार्थी ठगिनुपर्ने समस्या जारी रहेको छ। उसै पनि विषयगत शिक्षक दरबन्दी मिलान गर्न निकै जटिल र चुनौतिपूर्ण हुने गरेकोमा बद्लिदो राजीनितक वातावरणले यसलाई थप अन्यौलग्रस्त पारेको धितालले बताए। 

उदयपुरमा आधारभूत (१—५) का २ सय ३७ विद्यालय छन् भने १—८ का आधारभूत विद्यालयको संख्या १ सय १० छ। त्यस्तै माध्यमिक तह १—१० का विद्यालय ७० वटा र  १—१२ का मावि संख्या ४१ छन्। कुल ४ सय ५८ सामुदायिक विद्यालय रहेको जिल्लमा आवश्यक्ता अनुसार विषयगत शिक्षक दरबन्दी उपलब्ध हुन नसक्दा विद्यार्थीको भविष्य अन्धकार हुँदै गएकोमा सरोकारवालाहरु चिन्तित हुनुपर्ने धिताल बताउँछन्। 

दरबन्दी अभावले १–१० सम्म पढाई हुने झण्डै ३ दर्जन विद्यालयमा तहगत रुपमा एउटा पनि स्थायी शिक्षक उपलब्ध हुन सकेको छैन्। दरबन्दी अनुसार शिक्षक अभाव भएकै कारण १–१२ सम्मका विद्यालयको लगाम प्राशितहका स्थायी शिक्षकलाई प्रधानाध्यापक बनाएर काम चलाउनु परिरहेको यथार्थता धितालले खुलासा गरे। कतिपय माविहरु १ वा २ जना राहत दरबन्दीका माशि शिक्षकबाट कक्षा सञ्चालन गर्नुपरिरहेको छ भने कतिपयमा निजी स्रोतका शिक्षकबाट पटनपाठन गर्नुपरेको छ। 

पेशागत शिक्षक संगठनहरुले संसदबाट पारित नयाँ शिक्षा ऐनले वर्षौदेखि थाती रहेका अस्थायी शिक्षकको समस्या सम्बोधन गरे पनि सामुदायिक विद्यालय सुधारको कुनै खाका नल्याएको गुनासो गर्छन्। नेपाल शिक्षक संगठनका अध्यक्ष दिलबहादुर फुयाल विषयगत शिक्षक अभावलाई यथास्थितिमा राख्ने हो भने विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिने खतरा देख्छन्। सामुदायिक विद्यालयको गुणस्तर कायम गर्ने हो भने दरबन्दी अनुसारको विषयगत शिक्षकको तत्काल व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। 

नेपाल शिक्षक संघका अध्यक्ष तिलक कटुवालको बुझाईमा पनि समय अनुसार शिक्षकलाई ‘अपडेट’ गर्नुका साथै विषयगत शिक्षकको व्यवस्थपन तत्काल गरे मात्र शैक्षिक गुणस्तर हुनेछ। वैज्ञानिक र बस्तुबादी शिक्षा नीतिकै अभावमा देशको शिक्षाको गुणस्तर खस्केकाले समयसापेक्ष शिक्षा नीति अवलम्बन गर्नुका साथै विषयगत शिक्षकको दरबन्दी तत्काल पूर्ति गर्नुपर्ने उनी सुझाउँछन्।

प्रकाशित: १० कार्तिक २०७५ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App