८ वैशाख २०८१ शनिबार
समाज

लगातारको भूकम्पले दैलेखमा ज्वाला बढ्यो

दैलेख– दैलेखमा दुई हप्ता अघिदेखि लगातार भूकम्पको धक्काले यहाँ रहेको ज्वालामा असर परेको छ। अहिले ज्वाला भूकम्पको परकम्पनले ठूलो भएको हो। 

पञ्चकोशी तिर्थस्थलमध्ये श्रीस्थानमा रहेको मुख्य ज्वाला र आसपास खोला किनार ज्वाला बढेको हो। भूकम्पपछि ज्वालाको मात्रा बढेर गएको स्थानीय नविन योगीले बताए। नविनले यसअघि कहिल्यै यति ठूलो ज्वाला नदेखेको बताएका छन्। ‘मैले यति ठूलो ज्वाला कहिल्यै देखिन्’, उनले भने, ‘अहिले एक्कासी ज्वाला बढेको देखेर आफ्नो गाउँमै सबै दंग परेका छौं।’ ज्वालाजी दर्शन गर्न जाने भक्तजनहरु ज्वाला बढेको देखेर दंग पर्ने गरेका छन्।

सानो ज्वालाको आकार सदावहार बल्ने गरेको भएपनि अहिले दुई हप्तायता ज्वाला बढेको गएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए। ‘पहिलेभन्दा ज्वाला बढेको छ’, मेयर भण्डारीले भने, ‘भूकम्पको धक्का नियमित भए ज्वाला क्षेत्रमा असर पर्ने देखिन्छ।’ ज्वाला बढेपछि मन्दिरभित्र दर्शन गर्न जानेहरुलाई तापले असहज हुने गरेको छ। वर्षातको समयमा पानीको सतह बढेपछि ज्वाला बढ्ने र चैत्र बैशाखपछि घट्ने पहिलेदेखि चलिआएको श्रीस्थान मन्दिरका महन्त गोकर्णनाथ योगीले बताए। अहिले विगतभन्दा ज्वाला निकै ठुलो बढेको महन्त गोकर्णनाथको पहिलो अनुभव हो। ‘भित्र सहज समय लगाएर ज्वालाजीको पुजा गर्न सकिन्थ्यो’, योगीले भने, ‘अहिले ज्वाला बढेका कारण तापले धेरै समय बसेर पूजा गर्न निकै गाह्रो हुने गरेको छ।’

ज्वाला बढ्नुको पछाडि भूकम्पले जमिनमा केही असर पारेको हुनसक्ने अनुमान श्रीस्थान मन्दिर रहेको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले बताए। श्रीस्थान मन्दिरमा ५ लाख गाउँपालिकाले विनियोजन गरेर त्यसबाट आएको ब्याजबाट खर्च हुने गरेको अध्यक्ष बुढाले बताए। यो वर्ष त्यही मन्दिर मर्मतका लागि थप ५ लाख विनियोजन गरेको उनले बताए। अहिले ज्वाला क्षेत्रमा घुम्न जाने धार्मिक पर्यटकहरुको संख्या विगत वर्षभन्दा बढी रहेको छ।

प्रकाशित: १० कार्तिक २०७५ १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App