coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बसाइँ सर्छन् चौंरी पनि

सिन्धुपाल्चोक- गत वर्ष सिन्धुपाल्चोकमा चौंरी र याकको संख्या घट्दै १ हजार भएको अनुमान गरिएको थियो। घट्दो चौंरी, याकको संख्याले यसको अस्तित्व नै समाप्त हुने हो कि भन्ने चिन्ता व्याप्त थियो। वंश लोप हुन नदिन संरक्षणमा बर्सेनि ठूलो धनराशी खर्चंदा समेत घट्दो चौंरी, याक सरकारको ठूलो टाउको दुखाइको विषय बन्दै आयो।

तर यो वर्ष सिन्धुपाल्चोकमा साढे चार गुणाले चौंरी र याक बढेपछि पशु विकास अधिकारी नै चकित परे। एकाएक कसरी बढे? 'चौंरी, याकसमेत बसाइँसराई गर्दा रहेछन्,' वरिष्ठ पशु विकास अधिकृत शिवबहादुर केसीले नागरिकसँग भने। बसाइँ सरेर अन्य जिल्ला जाँदा स्वात्तै घट्ने र आउँदा ह्वात्तै बढ्ने भेटिएको उनले बताए।

सरकारले यसको संरक्षणमा बर्सेनि विभिन्न कार्यक्रम अघि सार्दै आउँदा पनि बढ्न नसकेपछि व्यवसायीमार्फत तथ्यांक संकलन गर्ने क्रममा जिल्ला पशु सेवा कार्यालयले यो तथ्य फेला परेको हो। 'सोलुखुम्बुका चौंरी सिन्धुपाल्चोक आउँदा रहेछन्। यहाँका रसुवा पुगेको भेट्यौं,' केसीले भने। पछिल्लो समय चरन क्षेत्र खोज्दै चौंरीपालक किसान बथान लिएर टाढा–टाढाका हिमाली जिल्लासम्म पुग्ने गरेको उनले बताए। वरिष्ठ पशु विकास अधिकृत केसी थप्छन्, 'बसाइँसराइका कारण कुन जिल्लामा कति चौंरी छन् भनेर किटान गर्न नसकिने पायौं।'

विगतका वर्षमा पनि किसान चरन क्षेत्र खोज्दै खर्क उक्लन्थे। सो क्रममा चौंरी र याक लिएर छिमेकी जिल्लासम्म पुग्थे। निश्चित समय त्यहाँ बसेपछि आफ्नै ठाउँ फर्कन्थे। तर धेरै जिल्ला क्रस गरेर अन्यत्र पुग्ने र लामो समय त्यहीँ बस्ने गरेको पहिलोपटक भेटिएको हो। 'चरन क्षेत्र नै यसको मुख्य कारण हो,' केसी सुनाउँछन्।

पशु प्राविधिकका अनुसार लेकका घनाजंगल पातलिँदै गएका छन्। भुइँ र डाले घाँसको उत्पादकत्वमा कमी आएको छ। लेकाली जंगलमा दुई वर्षमा पनि घाँसले भुइँ ढाक्दैन। चरन क्षेत्र खोज्दै निकै टाढा पुग्नु किसानको बाध्यता हो। बसाईसरी आएकासमेत गरी अहिले सिन्धुपाल्चोकमा याक, चौंरीको संख्या ४ हजार ५ सय ४० पुगेको छ। 'चौंरी गणना कार्यक्रम अघि सार्दैछौं। त्यसबाट मात्र कुन जिल्लामा कति चौंरी भन्ने तथ्यांक आउला,' केसीले भने।

याक र चौंरी बढ्नुमा बसाइँसराइ मुख्य कारण भए पनि सरकारी कार्यक्रमले समेत सहयोग पुर्‍याएको उनी बताउँछन्। सरकारले पशु सेवा कार्यालयमार्फत याक, चौंरी संरक्षण गर्न चरन क्षेत्र विकास, गोठ सुधार, बिमा, घाँस, भाले याक वितरण जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। किसानले याकमा ढुवानी अनुदान पाउँदै आएका छन्। 'परम्पराबाट माथि उठेर किसान चौंरी पालनलाई व्यावसायिक बनाउँदै छन्,' केसीले भने।

चौंरीपालक किसान र व्यवसायीको बीचमा रहेर फाइदा लिन सक्रिय दलालका कारण पनि याक, चौंरीमा वृद्धि आएको उनको अनुमान छ। उनका अनुसार चौंरी थप्न दलाले किसानलाई ऋण दिने गरेको भेटिएको छ। 'तिनीहरु छुर्पी र घ्यू किनेर ऋण असुली गर्दा रहेछन्,' केसीले भने।

जिल्लाको हिमाली क्षेत्र फुल्पिङकट्टी, घुम्थाङ, तातोपानी, लिस्ती, मार्मिङ, कर्थली, घोर्थली, किउल, हेलम्बु भोताङ, भोटेनाम्लाङ, गुम्बा, गोल्चे गाविस लगायत माथिल्ला भागमा चौंरी पालन हुँदै आएको छ। चौंरीपालनका लागि उर्वर मानिने यी क्षेत्र तिब्बती सीमासँग जोडिएका छन्। चरिचरन क्षेत्र खोज्दै किसान चौंरी लिएर तिब्बती क्षेत्रमा समेत पुग्थे। अहिले सीमा सुरक्षाका नाममा तिब्बत जान कडाइ गरिएको छ।

जिल्लाको फुल्पिङकट्टी गाविसमा मात्रै १ हजार याक, चौंरी रहेको कार्यालयले जनाएको छ। सरकारले संरक्षण कार्यक्रम दिएपछि व्यावसायिक बन्दै गएका किसान अहिले ११ समूहमा आबद्ध भई चौंरीपालनमा सक्रिय छन्। कार्यालयका अनुसार छुर्पी र घिउ बिक्रीका लागि किसान बजार धाउनु पर्दैन। संकलनकर्ताका रुपमा चिनिने दलाल यसमा सक्रिय छन्। १३ संकलनकर्ताको पहिचानसमेत कार्यालयले गरेको छ।

बजारमा प्रतिकिलो घिउ, छुर्पीको मूल्य ७ सय रुपैयाँ छ। किसानले भने नगन्य मात्र पाउँछन्। 'दलालले बढी फाइदा लिइरहेका छन्,' वरिष्ठ पशु विकास अधिकृत केसी बताउँछन्। उनका अनुसार दलाल (संकलनकर्ता) ले चीनमा ठूलो मात्रामा घिउ, छुर्पी तस्करी गर्ने गरिएको भेटिएको छ। उनीहरु किसानको गोठबाट घिउ, छुर्पी ठेक्कामा लिन्छन्।

कुनै बेला 'चौंरीको राजधानी' नै मानिने सिन्धुपाल्चोकमा अहिले १ हजार ३२ याक, चौंरी रहेको कार्यालयको तथ्यांक छ। एक तथ्यांकअनुसार ३० को दशकतिर जिल्लामा चौंरीको संख्या ७ हजार पुगेको थियो। व्यवसायमा आधुनिकता नभित्रिसकेको बेलामा पनि किसान छुर्पी र घिउ बेचेर जीवन धान्न सफल थिए। त्यत्ति बेलै हिमाली गाविस गुम्बाको क्याङसिङमा चिज उत्पादन उद्योग सञ्चालनमा आएको थियो। उद्योगबाट उत्पादित चिज राजधानी पैठारी हुन्थ्यो। चौंरी संख्या घट्न थालेसँगै संकटमा परेको उद्योग १० वर्षे द्वन्द्वसँगै बन्द हुन पुग्यो।

प्रकाशित: ७ आश्विन २०७३ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App