coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘हेलम्बुलाई चम्काउँछौं’

छिरिङ लामा, अध्यक्ष, हिमालयन स्पोर्टस क्लब

तपाइँहरूले भर्खरै ‘हेलम्बु ट्रेल म्याराथन’को तेस्रो संस्करण पुरा गर्नु भयो, म्याराथन के का लागि?
कात्तिक ६ गते हामीले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा तेस्रो ‘हेलम्बु ट्रेल म्याराथन’ आयोजना ग-यौं । विगतमा पनि सन् २०११ र २०१५ मा म्याराथन गरेका थियौं । म आफैं धाबक हुँ, सन् २००५ को एभरेष्ट म्याराथन विजेता। त्यसैले खेल पर्यटन मार्फत जन्मथलोको पर्यटन विकासमा टेवा पु-याउन म्याराथनको अबधारणा अघि बढाएको हुँ । यसबाट समग्र हेलम्बुको प्रचार र पर्यटनमा मद्दत पुग्छ।   

किन ‘ट्रेल म्याराथन’ नामाकरण गर्नु भएको?
स्वदेशी तथा विदेशी पर्यटक हिँड्ने पुरानो पदमार्गमै धाबकहरूलाई दौडाएका हौं, त्यसैले यसलाई ‘ट्रेल म्याराथन’ भनिएको हो । हाम्रो पदमार्ग कुटुमसाङदेखि मुगिन गोठ, टाठेपाटी हुँदै एउटा गोसाइकुण्डतिर जान्छ, अर्को मेलम्चीघ्याङ हुँदै तार्केघ्याङ भएर शेर्माथाङ निस्किन्छ । हामीले कुटुमसाङदेखि शेर्माथाङसम्म धाबकहरुलाई दौडाएका हौं।

तेस्रो संस्करणसम्म आइपुग्दा हेलम्बु म्याराथनको प्रभाव कस्तो छ?
हेलम्बु क्षेत्रको पर्यटन प्रवद्र्धनमा यसले टेवा पु-याएको छ । हाम्रो क्षेत्रको ह्योल्मो संस्कृति र खाना हाइलाइट भएको छ । हामीले हेलम्बुमा हाइ अल्टिच्युड स्पोर्टस ट्रेनिङ सेन्टर खोल्ने सपना देखेका छौं । त्यो सेन्टर खोल्ने अभियानलाई म्याराथनले सकारात्मक प्रभाव पारेको छ । हामीले अग्लो ठाउँ (२,७७५ मिटर)मा चाँडो भन्दा चाँडो सेन्टर खोलेर नेपाली मात्र होइन, दुबई र सिंगापुर जस्ता मुलुकका विदेशीलाई पनि तालिम दिलाउने योजना बनाएका छौं।

हेलम्बुमा हाई अल्टिच्युड स्पोर्टस ट्रेनिङ सेन्टर खोलेर विदेशी खेलाडी समेत भित्र्याउने तयारीमा छौं।

हेलम्बु क्षेत्रका पर्यटकीय आकर्षण के के हुन्?
प्रकृति र संस्कृतिका हिसाबले हेलम्बु सुन्दर गन्तव्य हो । हाम्रोमा हेलम्बु पदमार्ग, ह्योल्मो संस्कृति, आमा यांग्री (मातातीर्थ) छ । हाम्रो गाउँबाट गणेश हिमालदेखि लाङटाङ, गौरीशंकर हुँदै नुम्बुर र सगरमाथा हिमालसम्मको लामो रेञ्ज देखिन्छ।

हेलम्बुमा पर्यटक कत्तिको आउँछन्?
पहिला पहिला त सगरमाथा र अन्नपूर्णपछि हेलम्बु पदमार्गमा धेरै पदयात्री हुन्थे । अचेल थोरै मात्रै विदेशी आउँछन् । पछिल्लो समय आन्तरिक पर्यटक बढ्दैछन् । उनीहरू एक वा दुई रात बसेर फर्कन्छन् । काठमाडौंबाट ३ घन्टाको मोटर यात्रामा पुगिने हेलम्बुलाई आन्तरिक पर्यटन हब बनाउन सकिन्छ।

१२ वैशाखको भुकम्पपछि होटल/लजको अबस्था के छ ?
भुइँचालोबाट क्षतिग्रस्त भएका कतिपय होटलहरु सञ्चालनमा आइसकेका छन् । हेलम्बु क्षेत्रका गुलभञ्ज्याङ, कुटुमसाङ, मंगिन गोठ, ठाटे पाटी, मेलम्चीघ्याङ, नाकोटे, तार्केघ्याङ, गंग्युल, शेर्माथाङ, ककनी र मेलम्ची बजार क्षेत्रमा राम्रा होटल छन् । खान र बस्नको समस्या छैन।

पर्यटन विकासमा देखिएका चुनौतीहरू के के हुन्?
नेपाल पर्यटन बोर्ड र सरकारले हेलम्बु क्षेत्रको पर्यटन प्रवद्र्धनमा चासो देखाएका छैनन् । बसाइँ सराइँले गाउँका धेरै घर खाली छन् । १२ वैशाखको भुकम्पपछि त झन् धेरै खाली भए । पदमार्गमा कतैकतै मोटरबाटोले असर पु-याएको छ । हेलम्बुमा चहलपहल बढाउन लाङटाङ जोड्ने गञ्जला पास खोल्नु पर्छ । यसमा सरकारले बजेट छुट्टाईसकेको छ । गञ्जला पास खुलेपछि हेलम्बुका सुनौला दिन फर्कनेछन्।

प्रकाशित: १० कार्तिक २०७५ ०४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App