coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

आदत बदल्ने ‘अठोट’

बाल्यकालका दिन सरल र स्वभाविक ढंगले बित्छन्, कुनै पनि जटिलता आभाष हुँदैन, त्यसबेला । जब–जब उमेर बढ्दै जान्छ, पढाइ–लेखाइको नाममा ज्ञान, सीप र विवेक मात्र हैन, ईष्र्या, द्वेष र स्वार्थ जस्ता नकारात्मक पक्षको प्रधानता हुन्छ । ‘नयाँ पुस्तालाई सानैदेखि सरलता सिकाउन सके भावी जीवन सुन्दर बन्न सक्छ,’ पत्रकार श्रीश भण्डारीद्वारा लिखित ‘अठोट’ किताबले बालबालिकाको समग्र व्यक्तित्व विकासका लागि सकारात्मक सोच र चिन्तन आवश्यक पर्ने भाव व्यक्त गरेको छ । यसका लागि विद्यालय, शिक्षक र अभिभावकले विद्यार्थीका लागि उपयुक्त शैक्षिक र सामाजिक वातावरण तयार पार्नुपर्ने भण्डारीको सुझाव छ। 

प्राकृतिक नियम अनुकूल सहज र सरल तरीकाले चलाउनसकेमा जीवन वरदान बन्न सक्छ । सानैदेखि बालबालिकालाई यही प्रकारको शिक्षादीक्षा दिनसकेमा भावी जीवन आनन्दित हुन्छ । जीवनमा सबैले ‘खुसी’ खोजेका हुन्छन्, ‘खुसी’ प्राप्तिका लागि आफूमै रमाउन सक्नुपर्ने लेखकको जिकिर छ।  

आधुनिकताका नाममा विकृतितर्फ उन्मुख भइरहेको सामाजिक परिवेशमा बालबालिकालाई विभिन्न कथा–कहानी र प्रेरक प्रसंगका माध्यमबाट राम्रा अभ्यास र संस्कारबारे ज्ञान दिनु अत्यन्त सकारात्मक पक्ष हो।

‘खुसी’ शीर्षक लेखमा लेखकले बालबालिकालाई कसरी खुसी रहने भन्नेबारे सूत्रबद्घ रूपमा सुझाव दिएका छन् । ‘खुसी रहने पहिलो सूत्र हो–आफूसँग जे छ त्यसैमा रमाउने । यसको अर्थ प्रगतिको प्रयासै नगर्ने भन्ने होइन । सक्दो प्रयास गर्नुपर्छ । तर, सधैँ सबै ठाउँमा पहिलो नै हुनुपर्छ भन्ने छैन । सधैं सबैलाई जित्नैपर्छ भन्ने छैन । पहिलो बन्नेभन्दा पनि पूर्ण बन्ने प्रयत्न ठूलो हो । ठूलो हुनेभन्दा पनि असल बन्ने प्रयास अझै उत्कृष्ट हो,’ उनले लेखेका छन् । स्वस्थ शरीर, प्रफुल्ल मन र सक्रिय जीवन खुसीका आधार हुने लेखकको ठम्याइ छ।

‘हरेक दिन एउटा सुन्दर उपहार हो । प्राथमिकताका आधारमा काम हुनुपर्छ । समयको व्यवस्थापन हुनुपर्छ । समयको सानोभन्दा सानो एकाइ पनि पैसा सरह हुन् । त्यसैले  कहिल्यै भोलि भन्नु हुँदैन,’ उनले सुझाएका छन्।

उचित अभिभावकत्व नपाएकै कारण अहिले विद्यार्थी मनोवैज्ञानिक समस्याको सिकार भइरहेका छन् । पछिल्लो समय तीव्र रूपमा विकास भएको इन्टरनेट प्रविधिका कारण विद्यार्थीमा सिर्जनशीलता घट्दै गएको अनुसन्धानले देखाएका छन् । यस किताबमा समेटिएको ‘पढ्न मन लाग्दैन ?’ लेखले विद्यार्थीमा देखिएको सिकाइ समस्या उजागर गरेको छ । ‘ध्यान केन्द्रित नहुनु, रुचि नहुनु, प्रेरणाको कमी, अप्राकृतिक वातावरण, लक्ष्य निर्धारित नहुनु आदि कारणले विद्यार्थी पढाइमा केन्द्रित हुन सकेका छैनन्,’ लेखमा उल्लेख गरिएको छ।

बालबालिकाको स्मरणशक्ति विकासका लागि खानेकुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बालबालिकामा एकाग्रता र सिर्जनशीलता बढाउन स्वस्थकर खानेकुरामा जोड दिनुपर्ने सुझाव छ लेखकको । बालबालिकालाई शारीरिक र मानसिक रूपमा अस्वस्थ बनाउने ‘जंकफुड’लाई स्कुल र घरपरिवारमा निषेध गर्नुपर्ने लेखकको राय छ । ‘नो जंक !’ शीर्षक लेखमा उनले लेखेका छन्– ‘फास्ट फुड र जंक फुड धेरै खाने बच्चाको शरीरमा क्यालोरी, फ्याट, कार्बोहाइड्रेट र चिनीको मात्रा आवश्यकभन्दा ज्यादा खपत भइरहेको हुन्छ । यो नै पछि गएर सुगर, उच्च रक्तचाप, मोटोपन लगायत रोगहरूको कारण बन्न जान्छ।’

गर्नैपर्ने महत्वपूर्ण काम मतलब नगरी हामीले अनावश्यक काममा समय खर्च गरिरहेका हुन्छौं । जीवनमा प्राथमिकता निर्धारण महत्वपूर्ण पक्ष भए पनि त्यसतर्फ धेरैको ध्यान गएको हुँदैन । ‘आफूले गर्नैपर्ने कामको प्राथमिकता निर्धारण गरेर बालबालिकाले पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापलाई सँगसँगै अगाडि बढाउनसके उचित हुन्छ,’ श्रीशले लेखेका छन्  । असल संस्कार बालबालिकाका लागि अपरिहार्य छ । जस्तोसुकै राम्रो पढाइ भए पनि विद्यार्थीलाई उचित संस्कार दिन सकिएन भने त्यो अर्थपूर्ण हुँदैन । आधुनिकताका नाममा विकृतितर्फ उन्मुख भइरहेको सामाजिक परिवेशमा बालबालिकालाई विभिन्न कथा–कहानी र प्रेरक प्रसंगका माध्यमबाट राम्रा अभ्यास र संस्कारबारे ज्ञान दिनु अत्यन्त सकारात्मक पक्ष हो।

कामको प्राथमिकता निर्धारण, आजै काम गर्ने बानी, स्मरण शक्ति बढाउने तरिका, आत्मनिर्भरता, प्रभावकारी सिकाइ शैली, परीक्षाको तयारी, आत्मविश्वास आदि विषयबारे अत्यन्त जीवनोपयोगी जानकारी संग्रहित छन् । अब्राहम लिंकन, अल्बर्ट आइन्स्टाइन, आइज्याक न्युटन, ओशो रजनीश, कन्फ्युसियस, गिजुभाई, गौतम बुद्घ, चाल्र्स डार्विन, थोमस अल्वा एडिसन, पाब्लो पिकासो, पलोरेन्स नाइटिगेल, बिल गेट्स, म्याक्सिम गोर्की, म्याडम क्युरी, विन्स्टन चर्चिल जस्ता महान् व्यक्तिहरूको प्रेरक प्रसंगले किताबलाई रोचक तुल्याएको छ।

दुई दशकदेखि पत्रकारिता गर्दै आएका भण्डारीको लेखन–शैली सरल र बोधगम्य छ । त्यही भएर पनि यो किताब पढ्न थालेपछि बीचमा त्यत्तिकै छाड्न मन लाग्दैन । बालबालिकालाई केन्द्रविन्दुमा राखेर लेखिएको भए पनि हरेक उमेर, तहतप्का र व्यवसायका व्यक्तिहरूका लागि यो किताब उत्तिकै उपयोगी छ।  इटर्नल पब्लिकेसनले प्रकाशन गरेकाे पुस्तककाे मूल्य तीन सय पचास रूपैयाँ छ।

प्रकाशित: १० कार्तिक २०७५ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App