coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच शुक्रबार भेटवार्ता भएको छ। लामो समयपछि भएको आबेको चीन भ्रमण र उनीहरुको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण रुपमा हेरिएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकका कतिपय वस्तुमा करवृद्धि गर्ने घोषणासँगै विश्व बजारमा तनाव उत्पन्न भइरहेको सन्दर्भमा दुई महाशक्ति राष्ट्रका नेताको भेटवार्तालाई महत्वका साथ हेरिएको हो। 

दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन्। अमेरिकी व्यापारिक तनाबलाई व्यवस्थापन गर्ने र जापान तथा चीनबीचको सम्बन्ध सुधार गर्ने, नयाँ आर्थिक साझेदारी निर्माण गर्नेलगायतका उद्देश्यसहित बिहीबार आबे चीनको बेइजिङ आइपुगेका हुन्। 

जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो हो। दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेको थिएन। 

सन् २०१४ मा प्रधानमन्त्री आबे र चिनियाँ राष्ट्रपति पिङबीच एक शिखर बैठकका क्रममा भेटवार्ता भएपछि मात्र दुबै देशबीच मन्त्रीस्तरीय भ्रमण आदानप्रदान सुरु भएका थिए। 

सन् २०१२ मा जापानले केही द्वीपलाई आफ्नो स्वामित्वमा ल्याएको घोषणा गरेलगत्तै चीनमा जापान विरोधी घटना भएका थिए। तर पछिल्ला वर्षहरुमा दुबै मुलुकबीच सम्बन्ध सामान्यीकरण गर्ने निकै प्रयास भएका छन्।

ती प्रयासहरुको परिणाम स्वरुप एशियाका सर्वाधिक ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीचको सम्बन्धमा पछिल्ला वर्षहरुमा सुधार आएको छ। 

जापानका प्रधानमन्त्री आबेको भ्रमणले दुबै मुलुकबीचको सम्बन्धमा सुधार ल्याउन एउटा परीक्षण गर्नेछ। दुबै मुलुकले आर्थिक सहयोगका क्षेत्रमा सुधार ल्याउने इच्छा देखाएका छन्। 

भ्रमणका क्रममा शुक्रबार चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पका कारण व्यापारिक चुनौती र तनाव उत्पन्न भइरहेको अवस्थामा दुवै मुलुकबीच यो पछिल्लो सम्झौता भएको हो। 

चीनका प्रधानमन्त्री ली खछ्याङसँगको द्विपक्षीय वार्तालगत्तै आयोजित पत्रकार सम्मेलनमा जापानका प्रधानमन्त्री आबेले यस क्षेत्रमा शान्ति र समृद्धिका लागि दुबै मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नेमा सहमति जनाएको बताए। 

त्यस अवसरमा चिनियाँ प्रधानमन्त्री लीले “अहिले, अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर छ, र अनिश्चितता बढ्दै गएको छ” भन्दै मुलुकहरुबीचको पारस्परिक आर्थिक सहयोगले विश्वव्यापी खुला व्यापारको विकासमा मद्दत गर्ने बताए। 

प्रधानमन्त्री आबेका साथ जापानी कम्पनीसँग आबद्ध झण्डै एक हजार प्रतिनिधि सहभागी छन्। प्रधानमन्त्री लीका अनुसार उक्त टोलीसँग दुई अर्ब ६० करोड डलर बराबरका ५०० वटा सम्झौता भएका छन्। 

प्रकाशित: ९ कार्तिक २०७५ १६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App