७ वैशाख २०८१ शुक्रबार
खेल

प्रतिनिधि विवादको टुंगो आज

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष र उपाध्यक्ष पदको निर्वाचनमा भाग लिने प्रतिनिधि छनोटविवादशनिबार टुंगो लाग्ने भएको छ। एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले शनिबार निर्वाचनमा भाग लिने प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरिने बताए।

कात्तिक ८ मा अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा भाग लिनपर्सा, झापा, सिन्धुपाल्चोक, ए डिभिजन क्लब, फ्रेन्ड्स र मछिन्द्र क्लबले पठाएको प्रतिनिधिबारे विवाद आएको थियो। निर्वाचनमा प्रतिनिधिबारे निर्वाचन कमिटीले दाबी–विरोधको समय बिहीबार बेलुका ५ बजेसम्म तोकेको थियो।

बिहीबार पर्सा, झापा, सिन्धुपाल्चोक, फ्रेन्डस र मछिन्द्रको प्रतिनिधिबारे अपिल कमिटीमा निवेदन परेको छ। अपिल कमिटीसंयोजक गोपाल घिमिरेको टोलीले शुक्रबार प्रतिनिधिविवादबारे टुंगो लगाउने एन्फाले जनाएको छ।

एन्फा सिइओ तुलाधरले भने विवादबारे बोल्न नमिल्ने बताए। उनले भने, 'केही जिल्ला र क्लब प्रतिनिधिबारे विवाद आएको छ। हामीले बोल्न मिल्दैन। अपिल कमिटीले त्यसमा अध्ययन गरिरहेको छ। शुक्रबार प्रतिनिधि नामावली टुंगो लाग्नेछ।'

अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिनेले असोज ९सम्म निर्वाचन कमिटीमा उम्मेदवारी दर्ता गराउनेछन्।

अध्यक्ष पदका लागि लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबका संस्थापक टासी घलेले पोखरामा औपचारिक रूपमा उम्मेदवारीको घोषणा गरेका थिए। शुक्रबार एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दैछन्।

अध्यक्ष पदका अर्का प्रत्याशीमा हिमालयन शेर्पा क्लबका अध्यक्ष एवमं एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पाले उम्मेदवारी दिने तयारी गरेपनि औपचारिक घोषणा गरेका छैनन्।राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। 

प्रकाशित: ७ आश्विन २०७३ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App