१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

द्रूतमार्ग डिपिआरको काम सुरु

काठमाडौं – राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई–मधेस दू्तमार्ग (फास्ट ट्र्याक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनीले भौगर्भिक अध्ययन सुरु गरेको छ।

नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबीच द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा असोज १६ गते हस्ताक्षर भएको थियो। सम्झौताअनुसार उक्त कम्पनीले यही कात्तिक ५ गतेदेखि १०५ दिनभित्र डिपिआर तयार गर्नेछ।डिपिआरका लागि सुसुङ कम्पनीले भौगर्भिक अध्ययनको काम सुरु गरिसकेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए।

नेपाली सेना र सुसुङ कम्पनीबीच १० करोड १३ लाख रुपैयाँमा डिपिआर तयार गर्ने सहमति भएको थियो। भारतीय कम्पनी आइएल एण्ड एफएसले डिपिआर तयार गरेकामा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्काे बोलपत्रमार्फत सुसुङ कम्पनी छनोट गरेको हो।

एशियाली विकास बैंकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ।

फास्ट ट्र्याक आफँैमा बृहत् र विशिष्ट आयोजना भएकाले समयसीमाभित्र जिम्मेवारी पूरा गर्न रेखाङ्कन, सडकको ढाँचा, लागत अनुमान एवं पर्न सक्ने वातावरणीय प्रभावसमेतको विश्लेषणका आधारमा निर्माणसम्बन्धी सबै क्रियाकलाप एकैसाथ अघि बढाइएको आयोजना प्रमुख योगेन्द्र खाँणले जानकारी दिए। प्रस्तावित ७६ किमी लामो उक्त सडकलाई १० भागमा विभाजन गरेर सेनाले २८ वटा सम्झौताकर्तामार्फत काम गराइरहेको छ।

सडक निर्माण गर्ने क्रममा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण र द्रुतमार्ग क्षेत्रमा पर्ने २० हजार रूख कटान भइसकेको छ।आयोजनाका लागि छोक्रेडाँडादेखि बादरे खोल्सीसम्मको करीब १२ किलोमिटर क्षेत्रमा तीन वटा सुुरुङ निर्माण गर्ने गरी दु्रतमार्गको यसअघिको रेखाङ्कन परिवर्तन गर्नुपर्ने देखिएको सेनाले जनाएको छ। यद्यपि यो विषय डिपिआर निर्माणसँगै टुङ्गिनेछ।

विसं २०७४ वैशाख २१ गते मन्त्रिपरिषद्ले नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको उक्त दू्रतमार्गको प्रारम्भिक अनुमानित लागत १ खर्ब ११ अर्ब रुपैयाँ रहने अनुमान छ। रासस

प्रकाशित: ९ कार्तिक २०७५ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App