८ वैशाख २०८१ शनिबार
समाज

नारायणी नदीमा नयाँ पुल बनाइने

चितवन - चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो बन्दै गएपछि नयाँ पुल निर्माणको तयारी थालिएको छ।

चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंँडाकोट नगरपालिकामा मानवबस्ती र बजार बढ्दै गएपछि पुल साँघुरो भएको हो। यससँगै पूर्व–पश्चिम यात्रा गर्ने सवारीको चाप पनि बढ्दै गएको छ। पुलमा दैनिकजसो सवारी आवागमनमा समस्या हुने गरेको स्थानीयवासी बताउँछन्।

सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख अर्जुनजङ्ग थापाका अनुसार पुलले धान्न सक्ने क्षमता घट्दै गएका कारण नयाँ पुलको नक्साङ्कनको काम शुरु गरिँदैछ। सोही पुलको समानान्तर उत्तर वा दक्षिणबाट पुल निर्माण गर्ने तयारी गरिएको छ। हालको सो पुल दुई लेनको हो। चार लेनको पुल बनाउने तयारी गरिएको छ। हाल सञ्चालनमा रहेको पुललाई थप मर्मत सम्भार गरी दुबै पुल सञ्चालन गरिने उनले बताए। विसं २०३८ मा सो पुल निर्माण गरिएको हो। पुलको भार बहन क्षमताको आयु भने ८० वर्ष हुने प्राविधिक बताउँछन्।

थापाका अनुसार दैनिक १० हजार हाराहारी सवारी धान्ने गरी दुई लेनको पुलनिर्माण गरिएको भएपनि हाल सवारी सङ्ख्या बढेपछि आवागमनमा समस्या भएको हो। नारायणीसहित देशका विभिन्न १० नदीमा अत्याधुनिक आकर्षक पुल निर्माण गर्ने तयारी गरिएको छ। विश्व बैंकको सहयोगमा पुल निर्माण गरिने उपमहानिर्देशक थापाले जानकारी दिए। आउँदो आर्थिक वर्षभित्रमा नक्साङ्कन सम्पन्न गरी बोलपत्र आह्वान गर्ने तयारी भइरहेको बताइएको छ। नारायणीसँगै बुटवलसम्मका अन्य पुल पनि नयाँ बनाउने तयारी गरिएको छ। पुलको नक्साङ्कनका लागि विदेशी विज्ञले काम शुरु गरेको थापाको भनाई छ। रासस

प्रकाशित: ९ कार्तिक २०७५ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App