१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कार्यालय नसार्न दबाबमूलक हस्ताक्षर

जिल्लाका डिभिजन कार्यालय अन्य जिल्ला नसार्न माग गर्दै इलाम सदरमुकाममा थालिएको हस्ताक्षर संकलन । तस्बिरः भीम/नागरिक

इलाम – इलाम सदरमुकाममा रहेका साविक मेची अञ्चलस्तरीय र डिभिजन कार्यालयहरू अन्य जिल्ला नसार्न माग गर्दै स्थानीयले दबाबमूलक अभियान थालेका छन्। उनीहरूले इलाम सदरमुकामका डिभिजन कार्यालय र निर्देशनालयहरू यथास्थानमै रहेर सेवा दिने व्यवस्था मिलाउन मागसहित हस्ताक्षर अभियान थालेका छन् भने प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछन्।

जिल्लाका राजनीतिक दलहरू, गैरसरकारी संघ–संस्था, निर्माण व्यवसायी, होटल व्यवसायी, नागरिक समाजलगायत सबैले डिभिजन कार्यालयहरू अहिले भइरहेका स्थानबाट नहटाउन दबाब दिएका हुन्। उनीहरूले इलाम चोकबजारमा शुक्रबार हस्ताक्षर संकलन गरिरहेका छन् भने शुक्रबार नै स्थानीय प्रशासनमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदैछन्।

जिल्ला समन्वय समितिका पदाधिकारीसहित राजनीतिक दल र सरोकारवालाको संयुक्त भेलाले बिहीबार कार्यालयहरू स्थानान्तरण नगर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो। जिल्लाका ठूला राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले बेग्लाबेग्लै विज्ञप्ति जारी गरी सदरमुकामका डिभिजन कार्यालय र निर्देशनालय यहाँबाट अन्य जिल्ला नसार्न माग गरिसकेका छन्।

गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष कमल नेपालले साविकमा सेवा दिइरहेका डिभिजन कार्यालय र निर्देशनालय बाहिरी जिल्ला सार्दा इलामसहित पाँचथर र ताप्लेजुङबासीले समेत सास्ती बेहोर्नुपर्ने बताए। ‘भएका कार्यालय झापा सार्ने हो भने साविक मेचीका इलाम, पाँचथर र ताप्लेजुङलाई ठूलो असर पर्छ,’ उनले भने, ‘नागरिकलाई स्थानीय तहसम्मै पुगेर सेवा दिनुपर्ने बेला हिजोसम्म सेवा दिइरहेका कार्यालयसमेत अन्यत्र सार्ने हो भने जनता चुप लागेर कहाँ बस्छन् र!’

असोज १९ को संघीय मन्त्रिपरिषद् बैठकले इलामका डिभिजन कार्यालय झापाको दमकमा सार्ने निर्णय गरेको थियो। मंगलबार सदरमुकामस्थित सघन सहरी तथा भवन निर्माण आयोजना (साविक सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय) झापा सार्न लागिएपछि स्थानीयले प्रतिकार गरेका थिए। कार्यालयका सामान बोक्न आएको गाडीलाई स्थानीयले फर्काइदिएका थिए।  कार्यालय सर्ने थाहा पाएपछि स्थानीयको ठूलो समूह त्यहाँ पुगेर झापा लैजान गाडीमा लोड गरिएका सामानसमेत गाडीबाट निकालेर कार्यालयभित्रै राखिदिएको थियो।

इलाम सदरमुकाममा सहरी विकास, सडक, खानेपानी, सिँचाइ र सहकारी कार्यालय डिभिजनका रूपमा थिए। डिभिजन सहकारी कार्यालय अहिले स्थानीय तहमा गइसकेको छ। सहरी विकासलाई चाहिँ अर्काे जिल्ला लैजान लागिएपछि स्थानीय नागरिक स्वतस्फूर्त विरोधमा उत्रिएका छन्। ‘देशमा संघीयता ल्याउन रगत बगाउने चाहिँ हामी। अनि, हामीलाई थाहै नदिई यहाँका कार्यालय अर्काे जिल्ला सार्दा जनताले भोलि सास्ती पाउने भएकाले आन्दोलन सुरु गर्दैछौं,’ इलाम उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष ईश्वर चिपालुले भने, ‘हस्ताक्षर संकलन गरेर बुझाउँदासमेत भएन भने आज–भोलिबाटै आन्दोलन सुरु गर्छाैं।’

स्थानीय सरोकारवाला सबैले जिल्ला समन्वय समितिलाई सदरमुकामका डिभिजन कार्यालय र निर्देशनालयहरू स्थानान्तरण हुनबाट जोगाउने पहलको नेतृत्व जिम्मा दिएका छन्। ‘जिससले आफूले सक्दो पहल हिजो पनि गरिरहेकै थियो, अब अझ अघि बढेर प्रयास गर्नेछ,’ जिसस प्रमुख गणेशप्रसाद बरालले भने। 

प्रकाशित: ९ कार्तिक २०७५ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App