४ वैशाख २०८१ मंगलबार
खेल

पोखरा प्रिमियर लिगः घरेलु टोलीको विजयी सुरुवात, विराटनगर ५८ रनले पराजित

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) को उद्घाटन खेलमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको हो।

पोखराले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रनमा समेटियो। विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले सर्वाधिक ३०–३० रनको योगदान दिए। रिजालले २७ बलमा २ चौंका र २ छक्का प्रहार गर्दा थापाले २६ बलमा ३ चौंका र १ छक्का हिर्काए। त्यस्तै एन्ड्रियु सुविक्षणले र सन्दीप लामिछानेले १४–१४, सुनिल धमलाले ११ तथा प्रदिप ऐरी र जितेन्द्रसिंह ठकुरीले १०–१० रनको योगदान दिए।

पोखरा पल्टनका ललितनारायण राजवंशीले ३ तथा मेहेबुब आलम, कृष्ण कार्की, सरद भेषावकर, विक्रम भुषाल र रसिद खानले समान एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ३ विकेट गुमाउँदै रन बनाएको थियो। पोखराका लागि ओपनिङ ब्याट्म्यान आशिफ शेख र कुसल भुर्तेलले पहिलो विकेटका लागि ५३ रनको उत्कृष्ट साझेदारी गरेका थिए। आशिफले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ५४ बलमा ५ चौंका र १ छक्का प्रहार गरे।

त्यस्तै रभि सिंहले ४४, कुशल भुर्तेलले ३८ र विनोद भण्डारीले नटआउट ४१ रनको आक्रमक पारी खेले। विनोदले ११ बलमा २ चौंका र ५ छक्का प्रहार गरे। खेलको म्यान अफ दि म्याच विनोद नै भए। सरद भेषावकर ७ रनमा अविजित रहे। विराटनगरका लागि सन्दीप लामिछानेले २ र सहाब आलमले एक विकेट लिए।

नेपाली क्रिकेटकै ठूलो धनराशीको पहिलो संस्करणको प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दै छन्। पिपिएलमा विराटनगर टाइटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन्। प्रतियोगिताको विजेताले २७ र उपविजेता टोलीले १० लाख प्राप्त गर्ने छन्। 

प्रकाशित: ९ कार्तिक २०७५ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App