८ वैशाख २०८१ शनिबार
समाज

धारो छैन, पानीको बिल आधा करोड

काठमाडौं- आगो निभाउने सेवा दिने जुद्ध वारुणयन्त्रको कार्यालयमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को धारा जडान गरिएको छैन। ०६७ सालमा काठमाडौं महानगरपालिकाले सञ्चालन जिम्मा लिएदेखि नै जुद्ध वारुणयन्त्र धारोविहीन छ। कार्यालयले भूमिगत ट्यांकी बनाएर पानीको जोहो गर्दै आएको छ।

आगलागी हुँदा दमकल सेवा दिने कार्यालयसँग धारो नहुनु हास्यास्पद भयो नै, अझ आश्चर्य त धारो नै नभएको कार्यालयलाई लिमिटेडले आधा करोडको बक्यौता महसुलको भुक्तानी बिल पठाएको छ।

'गृह मन्त्रालयबाट सञ्चालित वारुणयन्त्र पछि स्थानीय विकास मन्त्रालयबाट सञ्चालन गर्ने निर्णय भएको हो। त्यसपछि महानगरपालिकाले जिम्मा लियो। त्यति बेलादेखि नै धारो थिएन,' वारुणयन्त्र कार्यालय प्रमुख किशोर भट्टराई भन्छन्, 'हामीले जिम्मा लिँदा धारो यहाँ थियो भनेर चिह्न मात्रै थियो। अहिले त्यो पनि पुरिएको छ। गत भूकम्पमा टहरो बनाउँदा पुरिएको हो।'

वारुणयन्त्रले पहिलादेखि नै भूमिगत ट्यांकी बनाएर पानीको जोहो गर्दै आएको छ। कार्यालयसँग पहिले १० हजार लिटरको भूमिगत ट्यांकी थियो। महानगरपालिकाले जिम्मा लिएपछि १८ हजार लिटरको ट्यांकी थपेर २८ हजार लिटर पानी भण्डारण क्षमता वारुणयन्त्रसँग छ। ट्यांकीमा महानगरपालिकाको ट्यांकरले पानी ल्याएर सञ्चित गर्ने र आवश्यकता अनुसार प्रयोग गर्ने गरिन्छ।

'हामीलाई आवश्यक पानी आफ्नै स्रोतबाट व्यवस्था गर्दै आएका छौं,' कार्यालय प्रमुख भट्टाराईले भने, 'पानीको धारै नभएको कार्यालयलाई ५१ लाख ६१ हजार १६ रुपैयाँको बक्यौता रकम भुक्तानी गर्न पत्र पठाएपछि चकित छौं।' उनका अनुसार एक हप्तामा बक्यौता रकम नबुझाए कालोसूचीमा राख्ने समेत पत्रमा उल्लेख छ। पत्रमा ग्राहक नम्बर २३ को दुई इन्चको धारा ०७३ असारसम्मको बक्यौता भनेर उल्लेख छ।

धारो नै नभएको वारुण यन्त्रलाई आधा करोडको बक्यौता रकम असुलको पत्र पठाउने खानेपानी लिमिटेड त्रिपुरेश्वर शाखा हो। शाखा प्रमुख सत्तिश कुमार दत्त भने धारो नभएको वारुणयन्त्रमा पत्र जानु नौलो नभएको बताउँछन्। 'प्रक्रियागत उठेकै बिल अनुसारको बक्यौता रकम बुझाउन पत्र पठाएका हौं,' प्रमुख दत्तले भने, 'धारो जडान गरेपछि न्यूनतम महसुल लाग्छ। यदि वारुणयन्त्रसँग धारो छैन भने त्यही न्यूनतम रकम बराबरको बक्यौता हुनुपर्छ।' उनका अनुसार धारामा पानी गए प्रयोगको आधारमा र पानी नगए पनि न्यूनतम कायम भएको दरको आधारमा भुक्तानी गर्नुपर्छ।

'धारो जोडेपछि बिल उठ्न सुरु गर्छ,' दत्तले भने, 'पानी नगए सम्बन्धित शाखालाई खबर गरेपछि मर्मत गरिन्छ। तर, पानी गएन र ग्राहकले खबर गरेन भने बिल उठिरहन्छ।' धारोमा पानी नै नगई बिल उठेको वारुणयन्त्र मात्रै पहिलो नभएको र यस्ता उदाहरण रहेको उनले बताए।

कार्यालयले प्रत्येक महिना उठेको बिल सम्बन्धित ग्राहकमा पठाउँछ। बिल पाएपछि ग्राहकले सम्बन्धित कार्यालयमा गई भुक्तानी गर्नुपर्छ। धारोमा पानी नआए पनि पनि जडान गरिएको पाइपको लाइन नकाटेसम्म न्यूनतम बिल उठिरहन्छ। न्यूनतम बिल धारोको साइजअनुसार तय हुन्छ। आधा इन्च धाराको प्रतिमहिना ढलसहित १ सय ५० रुपैयाँ, एक इन्चको प्रतिमहिना ५९ सय ४० रुपैयाँ, डेढ इन्चका १६ हजार ४ सय २५ निर्धारण गरेको छ।

त्यसैगरी, २ इन्चको धारो जडान छ भने ३३ हजार ९ सय र ३ इन्चको धारो भएमा ९३ हजार ३ सय ६० रुपैयाँ ढलसहित मासिक बिल उठ्ने गर्दछ। यसरी उठेको बिल भने ग्राहकले बुझाउनुपर्छ। कार्यालयको नियमअनुसार केही छुटको व्यवस्था भए पनि पानी गएको छैन वा धारो नै छैन भनेर पूर्ण छुट नहुने व्यवस्था रहेको खानेपानी लिमिटेडले बतायो। धारामा पानी नआएले बिल तिर्नुपर्दैन भनेर ढुक्क नबस्न भन्दै पानी नआएमा मर्मतको लागि खबरदारी वा धारोमा जडित मूल लाइनको पाइप छुटाउन सम्बन्धित शाखालाई जानकारी गराउन खानेपानी लिमिटेडले अनुरोध गर्यो।

प्रकाशित: ७ आश्विन २०७३ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App