coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान

खोटाङ – खोटाङमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान भएका छन्। जग्गा सम्बन्धी बिवादमा २०४६ सालमा छिमेकीको हत्या गरेको अभियोगमा कैद सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका ६० वर्षीय चन्द्रबहादुर कार्की बिहीबार जेल चलान भएका हुन्।

कर्तव्य ज्यान मुद्दामा २०५७ साल जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैद सजाय सुनाइएका कार्कीलाई अदालतको आदेशमा जिल्ला कारागार शाखा दिक्तेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। भारतको मिजोरममा बस्दैआएका कार्कीलाई खोटाङबाट खटिएका प्रहरीले असोज ३० गते सुनसरी जिल्लाको रामधुनी नगरपालिका–७ पञ्चायनस्थित घरबाट पक्राउ गरेको थियो। घट्नापछि भारतमा बस्दैआएका चन्द्रबहादुरलाई दसैं मनाउनका लागि २ दिन अघि मात्र घर आएको मौका पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ। द्यसैंका कारण बन्द अड्डाअदालत खुले लगत्तै फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्नेगरी जिल्ला प्रहरी कार्यालयमा राखिएका कार्कीलाई अदालतमा पेश गरिएकै दिन जेल पठाइएको हो।

बेला–बेलामा लुकीछिपी घर आउने गरेका कार्की भारतको नागाल्याण्ड, सिलोङ हुँदै मिजोरममा गाई फार्म चलाएर बस्दैआएका थिए। दोषी ठहर भए पनि लामो समयसम्म फरार अभियुक्तको सूचीमा रहेका कार्कीको भारतमा हाल बसिरहेको ठेगाना पत्ता लागिसके पनि दसैंमा घर आउने सूचना पाएपछि घर आएकै मौकामा टोली पठाएर पक्राउ गरिएको डिएसपी केसीले बताए।

जग्गा सम्बन्धी बिवादकाक्रममा चन्द्रबहादुर लगायत सोही ठाउँका केशब कार्की, नरबहादुर भुजेल लगायत चार जनामाथि स्थानीय ढकबहादुर कार्कीको हत्या गरेको अभियोग छ। घट्नामा संलग्न नरबहादुर र केशबले अदालतको फैसला अनुशार कैद भुक्तान गरिसकेका छन्। चन्द्रबहादुर र अर्का एक जना भने हालसम्म फरार थिए। नरबहादुर घट्ना लगत्तै पक्राउ परेपनि केशब पनि फरार रहेकै अवस्थामा लामो समयपछि पक्राउ परेका थिए। फरार एक अभियुक्त अझै पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०७५ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App